आयो एआई (तस्वीरहरू)
चकितै बनाउने यी तस्वीर मेरै ल्यापटपमा अत्यन्त परिष्कृत जेनेरेटिभ आर्टिफिसियल इन्टिलिजेन्स (एआई) एप्लिकेशनले बनाएको हो।
कल्पना गरौं, विश्वप्रख्यात चित्रकार लियोनार्दो दा भिन्ची जीवित नै छन्। र, उनी मेरा लागि एउटा चित्र कोर्न तयार छन्। समुराईको फ्यान भएकाले म उनलाई दुई नारी समुराईको तस्वीर बनाउन अनुरोध गर्छु।
यस्तो तस्वीर जसमा मसिनोसँग सबै पक्ष उतारिएको होस्। हेर्दा दुरुस्तै लागोस्। मुहार दृढ होस्। प्रकाशको संयोजन पनि चट्ट मिलेको होस्। भव्य होस्। मेरो बोली भूइँमा नखस्दै दा भिन्चीले मैले कल्पना गरेभन्दा पनि गजब तस्वीर मेरो अगाडि राखिदिन्छन्।
मेरो यो कल्पना सत्य सावित भएको छ। फरक यत्ति हो, चित्र कोर्ने चित्रकार चाहिं दा भिन्ची होइनन्। यो तस्वीर त लियोनार्दाे एआईले बनाएको हो। चकितै बनाउने ती तस्वीर मेरै ल्यापटपमा अन्त्यन्त परिष्कृत जेनेरेटिभ आर्टिफिसियल इन्टिलिजेन्स (एआई) एप्लिकेशनले बनाएको हो।
जेनेरेटिभ एआईले कुनै सैद्धान्तिक मोडेलबाट आफ्ना नतिजाहरू स्वचालित रूपमा उत्पन्न गर्छ। यसले नयाँ डेटा सिर्जना गर्न र पूर्वानुमान गर्न सक्छ, जुन नभएको डेटाका आधारमा होइन। यो साधारणतया कला, कम्प्युर विज्ञान, भाषा र डिजाइन समेत रहेका विभिन्न क्षेत्रमा प्रयोग गरिन्छ।
मैले यो एप्सलाई कस्तो तस्वीर चाहिरहेको छु भनेर शब्दमा आदेश दिएको थिएँ। त्यस्तो आदेशलाई अंग्रेजीमा ‘प्रम्प्ट्स’ भनिन्छ।
लियोनार्दो एआईले शब्दलाई विभिन्न खालका तस्वीरमा परिवर्तन गर्छ। जस्तै: पेन्टिङ, पेन्सिल चित्र, कार्टून, तस्वीर वा कलाका कुनै पनि रूप। पछिल्ला केही महीनामा आएकामध्ये तस्वीर बनाउने परिष्कृत एआईमध्ये एक हो यो। गत फेब्रुअरीमा रिलिज भएयता लियोनार्दोको उपयोग गर्नेहरूको संख्या १५ लाखबाट बढेर एक करोड ११ लाख पुगेको छ।
यो एप्स १ मेदेखि सबैका लागि रिलिज भएको छ। मैले शुरूमै यसको उपयोग गर्न पाएँ। त्यसयता यो एप्सबाट झन्डै पाँच हजार तस्वीरहरू बनाइसकेको छु।
यसैगरी तस्वीर बनाउने अरू पनि थुप्रै एप्स छन्। जस्तै: मिडजर्नी, डेल-ई २, स्टेबल डिफ्युजन, लेक्सिका आर्ट र ब्लुविलो। यही अप्रिलमा अर्को एउटा पनि थपिएको छ, माइक्रोसफ्टकै बिङ इमेज क्रिएटर।
यीमध्येका केही प्रोग्रामले त ती चित्रकलाको कपिराइट समेत उपलब्ध गराउने गर्छन्, जसले गर्दा त्यो चित्र बनाउन आदेश दिने प्रयोगकर्ताले ती कला अनलाइनमा आफ्नै सिर्जनाका रूपमा बेच्न सक्छन्। इट्से, ओपन सी, रेरिबल, मिन्टेबल आदि ठूला अनलाइन स्टोरहरूले यस्ता एआईकृत अनलाइन बेच्ने सुविधा उपलब्ध गराएका छन्।
त्यसो त शब्दबाट आकृति सिर्जना नवीन होइन। तर, पछिल्लो पटक सहजै प्रयोग गर्न सकिने, सस्ता वा निःशुल्क एआई लोकप्रिय बनेका छन्।
गेम चेन्जर
गुगलले ११ मेमा १८० देशमा नयाँ च्याटबोट ‘बार्ड’ रिलिज गर्यो। साथै उसले ‘वेटलिस्ट’ हटायो अर्थात् मानिसले त्यसको प्रयोग गर्न दर्ता गरिरहन पनि पर्दैन, प्रयोगकर्ताले इमेलद्वारा आफ्नो नाम दर्ता गरेपछि प्रवेश प्राप्त गर्न धेरै समयको लागि पर्खनुपर्दैन। पहिले, प्रयोगकर्ताले साता वा महीनासम्म प्रतीक्षा गर्नुपर्ने थियो।
बार्डको महत्त्वपूर्ण फिचर चाहिं ‘एडोब फायरफ्लाई’ हो, जुन यसको वेब एपसँग गाँसिएको छ। यो अरू एप्सभन्दा उत्तम हुने अनुमान गरिएको छ। अहिलेसम्म उपलब्ध प्रतिलिपि अधिकारमुक्त तस्वीरहरू र प्रयोगकर्ताले बनाएका सामग्रीसँग अभ्यस्त बनाएकाले यो एप अरूभन्दा फरक छ।
पक्कै पनि यस्ता एप्स गेम चेन्जर बन्न सक्छन्। कला सिर्जनाको दुनियाँलाई नै यिनले प्रभाव पार्न सक्छन्। तथापि कलाकारले यिनको नैतिकतामाथि प्रश्न उठाउन थालेका छन्। च्याटबोटहरू जस्तै कला सिर्जना गर्ने यस्ता एआई अरू पनि पहिले नै उपलब्ध थुप्रै तस्वीर र शब्दहरू उपयोग गर्न सक्षम बनाइएका हुन्छन्।
जेनेरेटिभ एआईले बनाएका तस्वीरमा आफ्ना शैली र ट्रेडमार्क बनिसकेका पात्रहरू उपयोग भएको पाएपछि ससानो युद्ध नै शुरू भइसकेको छ। नेपाली कलाकारका लागि भने यो अझै चिन्ताको विषय भइसकेको छैन। जेनेरेटिभ एआईले आफूलाई विस्थापन गर्ला कि भनेर उनीहरू चिन्तित छैनन्। “विभिन्न खालका प्राविधिक विकासलाई कलाकारले झेलिसकेका छन्। माध्यम परिवर्तन भए पनि कलाकारको लगाव, कल्पना र सिर्जनशीलता सधैं उस्तै छ,” आर्ट स्टुडिओका संस्थापक एवं समकालीन भिजुअल आर्टिस्ट कैलाश श्रेष्ठ भन्छन्।
अमेरिकामा भने केही कलाकारले एआई कम्पनी विरुद्ध प्रतिलिपि अधिकारको मुद्दा दायर गर्न थालेका छन्। बौद्धिक सम्पत्ति चोरी गरेको भन्दै जनवरीमा क्यालिफोर्नियाको नारी चित्रकारको एक समूहले स्टेबिलिटी एआई, मिडजर्नी र डिभिएन्ट आर्ट्स विरुद्ध मुद्दा दायर गरेका छन्। फेब्रुअरीमा संसारभर प्रसिद्ध अनलाइन तस्वीर संग्रहकर्ता गेट्टी इमेजेज ले एक करोड २० लाखभन्दा बढी तस्वीरहरू अनुमति विना प्रयोग गरेको भनेर स्टेबिलिटी जेनेरेटिभ एआई विरुद्ध मुद्दा दायर गरेको छ।
जेनेरेटिभ एआईले बनाएका तस्वीरहरू दुरुस्त नभएको र तिनले कुनै पनि तस्वीरको दुरुपयोग नगरेको तर्क गर्दै कम्पनीहरूले अदालत समक्ष मुद्दा खारेज गर्न याचना गरेका छन्। प्रयोगकर्ताले पनि जेनेरेटिभ एआई विरुद्ध आएका आलोचनाको निन्दा गरेका छन्।
ट्वीटरमा कलाकार र जेनेरेटिभ एआई एप्सका प्रयोगकर्ताबीच झगडा भइरहेको छ। तर, थोरै मात्र कलाकारले आवाज उठाइरहेका छन्। तीन सय वटा यस्ता चित्र बनाउने जेनेरेटिभ एआई प्रोग्राम र एप्स सित्तैमा निःशुल्क वा परीक्षण आधारमा उपलब्ध छन्। कलाकारले संवेदनशील हुन र बौद्धिक सम्पत्तिको चोरी विरुद्धको लडाइँमा साथ दिन अनुरोध गरे पनि उनीहरूको पक्षमा कमै मात्र उभिएका छन्।
जेनेरेटिभ एआई सिर्जित कला प्रयोग गर्नेहरूको संख्या महीनामा लाखौंको दरले बढ्दै छ। बढीजसो प्रयोगकर्ता अमेरिका, चीन, भारत र ब्राजिलका छन्। नेपालमा अधिकांश जेनेरेटिभ एआई प्रयोगकर्ताले ‘मिडजर्नी’ उपयोग गरिरहेछन्।
आफैंलाई एआई ‘आर्टिस्ट्स’ भन्नेहरूले अनलाइन फोरमहरू र सामाजिक सञ्जाल खासगरी इन्स्टाग्राममा आफ्नै सञ्जाल बनाएका छन्। ती एआई स्टार बनेका छन्। एआई कला एवं प्रोम्प्ट्स सीप बढाउने नयाँ नयाँ जुक्ति र सल्लाह बाँड्ने प्रभावकारी माध्यम भने यूट्यूब भएको छ। त्यसो त टेक्स्ट प्रोम्प्ट्सबारेका किताबहरू र्याक नै भरिने गरी प्रकाशित भइसकेका छन्।
धेरैजसो प्रयोगकर्ताले आफूले सिर्जना गरेका कलाकृति बेचिरहेका छन्। तर, आफ्नो कलाको व्यवसायीकरण गर्ने उद्देश्यले भन्दा पनि रमाइलोका लागि त्यसो गरेका हुन्।
यसलाई ८३ प्रतिशतभन्दा बढीले भने आर्ट थेरापीका रूपमा प्रयोग गरिरहेका छन्। तिनले बढीजसो आफ्नै साथीसँगीमाझ रहनेगरी इन्स्टाग्राममा शेयर गर्छन्।
यो सामग्री अंग्रेजीमा पढ्न नेपाली टाइम्समा क्लिक गर्नुहोस्।