किताब पसलका आयाम
ग्राहकको भौतिक उपस्थितिमा हुने किताबको व्यवसाय कुनै हालतमा निमिट्यान्न हुनेछैन। इटालीका लेखक तथा दार्शनिक उम्बर्टो इकोले दशकौंअघि नै घोषणा गरेका थिए- भौतिक किताबको अन्त्य कहिल्यै हुनेछैन।
स्कूले जीवनको उत्तरार्द्धतिर साहित्यिक पत्रिका मधुपर्क पढ्ने बानी बसिसकेको थियो। पत्रिकाको नयाँ अङ्क आए-नआएको बुझ्न साथीभाइसँग नारायणगढ बजारको नारायणी पुस्तक सदन पुगिन्थ्यो। किताबहरूको घेरामा बसेर पसलेले केही पढिरहेको देख्दा हाम्रो पनि पुस्तक पसल भएको भए रोजीछानी पढ्न पाउँथ्यौं भन्ने कल्पनामा मग्न भइन्थ्यो।
पछि साहित्यिक पुस्तक पढ्ने लत लाग्यो। काठमाडौंका साना-ठूला किताब पसल चहार्ने, नयाँ किताबबारे बुझेर किन्ने क्रम शुरू भयो। त्यस क्रममा किताब पसलका विविध आयाम देख्न र अनुभव गर्न थालियो। आफूले रुचाएर पढेका लेखकहरूसँग पसलमा आक्कलझुक्कल भेटिँदा पठन अनुभव साटासाट गर्न पाएर पुलकित भइन्थ्यो।
आफू जस्तै किताब अम्मलीहरूका रुचि र रोजाइ हेर्नकै लागि पनि किताब पसलमा अलि समय अलमलिने गरिन्थ्यो। त्यस क्रममा कतिपय पढन्तेहरूसँग चिनजान, भलाकुसारी र सहकार्य पनि हुन थाल्यो।
अमेरिकाको सिकागोस्थित प्रख्यात किताब पसल सेमिनारी को-अपका सञ्चालक जेफ डोइचले गैरआख्यान कृति इन प्रेज अफ गुड बूकस्टोर्समा किताब पसलका यस्तै अनेक आयामबारे लेखेका छन्। यसमा उनले आफ्नो व्यावसायिक अनुभवका साथै किताब पसलको महत्त्व तथा यसको भविष्यबारे लेखेका छन्। उनले भनेका छन्, ‘किताब पसलहरू वास्तवमै विद्रोही चेतका मानिसहरूको सङ्गमस्थल हो।’
सन् १९९० देखि किताब व्यवसायमा संलग्न डोइचले यस किताबमा आफ्नै अनुभव समेटेका छन्। उनी कट्टर यहुदी समुदायमा हुर्किए। उनका हजुरबुबाको पुस्तकालयमा धेरैजसो धार्मिक किताब हुन्थे। हरेक दिन वरपरका मानिसहरू जम्मा भएर बौद्धिक मन्थन गर्थे। जसले उनलाई किताबको संसारतिर आकर्षित गर्न थाल्यो, र अन्ततः उनी किताब व्यवसायमा तानिए।
डोइचले किताब विक्रेताका गुण र विशेषता पनि केलाएका छन्। उनी लेख्छन्, ‘किताब विक्रेता उत्साहित खालका हुन्छन्। राम्रा किताब विक्रेताले पाठकको विश्वास सजिलै जित्छन्। उनीहरू पाठकका कुरा ध्यान दिएर सुन्छन्। पाठकले के खोजिरहेछ, तुरुन्तै थाहा पाउँछन्।’
कोरोनाकालमा अन्य व्यापार-व्यवसाय जस्तै किताब पसल पनि बन्द रहे। डोइचले पनि किताबको व्यापार ठप्प हुँदा लामो निराशा भोगे। उनलाई लाग्छ, ग्राहकको भौतिक उपस्थितिमा हुने किताबको व्यवसाय कुनै हालतमा निमिट्यान्न हुनेछैन। इटालीका लेखक तथा दार्शनिक उम्बर्टो इकोले दशकौंअघि नै घोषणा गरेका थिए- ‘भौतिक किताबको अन्त्य कहिल्यै हुनेछैन।’
किताब पढ्ने आआफ्नै तरीका छन्। कोही चिनो लगाउँछन्, कोही अनुच्छेदपिच्छे केही लेख्छन्। डोइचको बुझाइमा यस्ता प्रयोग भएका किताबहरू अर्को पाठकको हातमा पर्नु भनेको ज्ञानको हस्तान्तरण हुनु हो। उनी आफ्नै पठन प्रवृत्ति सम्झन्छन्। पहिले वर्षमा ५० वटा जति किताब पढेको उनको अनुभव रहेछ।
यी हरफ पढिरहँदा हामीकहाँ पठन संस्कृतिको विकासमा सक्रिय संस्था बुकाहोलिक्स फेसबूक पेजमा आबद्व युवा पुस्ताको लोभलाग्दो पठन यात्रा सम्झनामा आउँछ। यिनैमध्येका एक मोहित जोशीले सन् २०२२ मा १०० किताब पढेको फेहरिस्त लेखेका थिए।
संसारभर दैनिक थुप्रै किताब निस्कन्छन्। सबै पढ्न सम्भव हुँदैन, प्रयोजन पनि हुँदैन। यस सन्दर्भमा डोइचले लेखक वाल्टर बेन्यामिन र अनातोल फ्रान्सको संवाद उल्लेख गरेका छन्- बेन्यामिनको ठूलो पुस्तकालय नियालेपछि अनातोल सोध्छन्, ‘यहाँका सबै किताब पढ्नुभएको छ?’ बेन्यामिनको उत्तर थियो, ‘एक चौथाइ मात्र पढें हुँला।’
थोरै तर प्रयोजनपरक पठनबारे लेखक आहुतिको तर्क सान्दर्भिक हुन्छ। उनको विचारमा पठनलाई व्यवस्थित अर्थात् छनोट र सीमा निर्धारण गरिनुपर्छ। पठनलाई प्रयोजनसँग जोड्नुपर्छ। किताबको छनोट र पठनको प्रयोजन कति महत्त्वपूर्ण हुन्छ भन्ने सन्दर्भमा डोइच लेख्छन्, ‘युद्ध जित्न विपक्षीको अन्तिम सेनासम्मलाई ढाल्न जरुरी छैन, आफ्नो पक्षका हरेक सेनाको उपस्थिति अपरिहार्य हुन्छ।’
पहुँच र प्रयोजन अनुसार हामी धेरैैको किताब संग्रह गर्ने बानी हुन्छ। तर, र्याकमा सजाइएका सबै किताब पाठकले पढ्न भ्याएको हुँदैन। अलि आक्रामक संग्रहकर्तालाई त पढ्न नपाएको थकथकी हुने नै भयो, व्यावहारिक र व्यावसायिक जीवनको चेपुवामा रिंगिरहँदा निरन्तर पठन ओझेल परिदिन्छ। नपढेका किताबले जिस्काए झैं लाग्न सक्छ। तर, डोइच हाम्रो चित्त बुझाउन कवि ज्योफ्री ओब्रायनलाई उभ्याउँदै भन्छन्, ‘नपढिएका किताब भनेको बाँच्न बाँकी जीवन जस्तै हो। एउटा कौतूहल लिएर बाँचिरहेका हुन्छौं हामी।’
किताब पसल एउटा भौतिक परिधि मात्र होइन रहेछ। यसले अलग मूल्यबोध गरेको हुँदो रहेछ। अलग समुदाय बनाउँदो रहेछ, अलग समयरेखा छिचोल्दो रहेछ। किताब पसल केवल किताबको कारोबारस्थल रहेनछ, विचारको विनिमयस्थल पनि रहेछ। किताबमा वर्णित डोइचका स्मृति र अनुभूतिमा हामी आफूलाई एकाकार पाउँछौं, यो पढिरहँदा हामीले हरेक किताब किन्दाको उत्साह, परिवेश, भेटिएका साथीसँगाती र अन्य थुप्रै पाटो सजीव बनिदिन्छन्।
पुस्तक: इन प्रेज अफ गुड बूकस्टोर्स, लेखक: जेफ डोइच, प्रकाशक: प्रिन्सटन, युनिभर्सिटी प्रेस, पृष्ठ: २००, मूल्य: रु.९०० (पातलो गाता)