जहाजमा मुसा देखिएपछि उडान स्थगित
जनकपुरबाट काठमाडौं उडान गर्ने तयारीमा रहेको बुद्ध एअरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ।
काठमाडौं उड्नै लाग्दा यात्रुले मुसा देखेपछि जनकपुरमै उडान रोकेर इन्जिनीयरले जाँच गरिरहेका छन्। बिहान ९ः१५ बजे जनकपुरबाट काठमाडौं उडान तालिका रहेको जहाजमा यात्रुले मुसा देखेको जनाइएको छ।
उडान रोकेर जहाजको प्राविधिक जाँच भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए। “जहाजमा मुसा देखिएको खबर पाएपछि काठमाडौंबाट इन्जिनीयरको टोलीले जनकपुर गएर जहाजको परीक्षण गरिरहेको छ,” प्रवक्ता निरौलाले भने, “परीक्षणपछि मात्रै उडान गरिनेछ।”
जहाज काठमाडौंबाट बिहान साढे ८ बजे जनकपुर पुगेको थियो। जनकपुरबाट काठमाडौं आउन लाग्दा जहाजमा ४९ यात्रु रहेका थिए।
बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार अहिले इन्जिनीयरले जहाजको जाँच गरिरहेका छन्। प्राविधिक परीक्षणपछि जहाज सञ्चालनमा आउने उनले बताए। जहाजका यात्रुलाई अर्को जहाज मार्फत काठमाडौं ल्याइसकिएको कर्णले बताए। (रासस)