‘प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन’
‘कथा अगाडि बढ्दै जाँदा पात्रलाई कसरी टुङ्ग्याउने भन्ने अन्योल वेलावेला भइरहन्थ्यो। पात्रसँगै गहिराइमा डुब्दै जाँदा आफ्नै मानसिक अवस्था धेरै पटक बिथोलिएको छ।’
समाजका फरक विषयवस्तु र पात्रलाई आख्यानमा समेट्ने लेखक मनिषा गौचन लामो समयको अन्तरालपछि प्रतिवहन कथाकृति लिएर आएकी छन्। वल्लीको डायरी र ह्वाइट केन लेखेर नेपाली साहित्यमा मौलिक पदचिह्न छाडेकी गौचनको यो तेस्रो कृति हो।
नयाँ पुस्तक प्रतिवहनसँगै लेखन संघर्षमा केन्द्रित रहेर हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा लेखक गौचनसँग सागर बुढाथोकीले गरेको कुराकानी:
लामो अन्तरालपछि प्रतिवहन लिएर आउनुभयो। विमोचन गर्नुभएन, किन?
सामान्यतया सबैलाई सुसूचित गर्ने हिसाबले विमोचन गर्नुपर्ने हुन्छ। अहिलेको राजनीतिक र सामाजिक परिवेश हेर्दा उत्सव मनाउने जाँगर चलेन। किनकि, मलाई अहिलेको समय अँध्यारो लाग्छ। किताब बजारमा गएर पाठक प्रतिक्रिया आइसकेपछि बोल्ने आत्मबल हुन्छ। त्यो समयको पर्खाइले पनि विमोचन नगरेको हो।
प्रायः सर्जकलाई आफनो सिर्जना धेरैभन्दा धेरै मानिसकहाँ पुगोस् भन्ने हुन्छ, कतिपयले त एउटै किताबलाई पटक पटक विमोचन गर्नुहुन्छ। तपाईंलाई त्यस्तो लोभ लागेन?
लागेन र लाग्दैन पनि होला। आफ्नो किताबबारे आफैं बोल्दै, कार्यक्रम गर्दै हिंड्नुपर्छ भन्ने सोच्दा पनि अप्ठ्यारो लाग्छ। तैपनि कुनै वेला अर्थपूर्ण कार्यक्रम गर्छु भन्ने सोचिराखेकी छु।
किताबको नाम प्रतिवहन छ। किताबभित्र यो शीर्षकको कथा भेटिएन। यस्तो किन गर्नुभयो?
खासमा म आफूलाई विभेद विरोधी भन्न रुचाउँछु। विभेदको विरुद्ध लड्ने/बोल्ने बानी छ। कुनै एक कथाको शीर्षक लिएर पूरै किताबको नाम राख्दा किताबको अरू कथालाई विभेद गरे जस्तो भएन र! त्यसैले किताबको नाम प्रतिवहन राखिएको हो।
प्रतिवहनका अधिकांश पात्रको भोगाइ पीडादायी छ। हरेक कथाको अन्त्य किन दुःखद बनाउनुभयो?
मलाई अरूको दुःखले बढी दुख्छ। धेरै मानिसले भयानक अवस्था भोगिरहेका छन्। कहिलेकाहीं हामी आफू पनि दुःखमा हुन्छौं, तर बाहिर हाम्रो भन्दा भयानक दुःख बोक्ने मान्छेहरू छन्। मान्छे मात्र होइन, जनावरको पनि बिजोग छ। यी दृश्य देख्दा मन दुख्छ। त्यसैले कथा लेख्दा पनि मैले त्यस्तै पात्रहरू रोजें हुँला। विक्षिप्त हुँदाहुँदै अँध्यारोमा उज्यालो खोज्दै गरेका पात्रलाई पनि समेटेकी छु।
कथाको पात्रमा तपाईंको जीवन भोगाइ या अनुभूति कत्तिको जोडिन्छ?
यो कथा संग्रहमा दुई-तीन वटा कथामा मैले भोगेको अनुभूति र अनुभव छ। केही कल्पना थपेकी छु।
साह्रै पीडामा रहेका पात्र टिप्नुभएको छ। पात्रको मनोविज्ञान कसरी निर्माण गर्नुहुन्छ?
समाजमा हिंड्दा, डुल्दा र काम गर्दा विभिन्न पात्र भेटिन्छन्। तिनीहरूलाई भेट्दा केही कुराले छोयो भने कथा बुन्छु। कथा लेख्न थालिसकेपछि पात्र र त्यसको मनोविज्ञान आउनुपर्छ। त्यसका लागि त्यो पात्रमा डुब्नुपर्छ। उसको भनाइ, सोच र व्यवहार मिलेको छ कि छैन भनेर बुझ्न पात्र अनुसारको अनुभव र अनुभूति महसूस गर्न सक्नुपर्छ।
कतिपय लेखक पात्रको भोगाइ र मनोविज्ञान उतार्दा उतार्दै आफू बिथोलिएको कुरा गर्नुहुन्छ। तपाईंको किताबका पात्रहरूले पनि भयानक जिन्दगी बाँचेका छन्। तिनीहरूलाई उतार्दा तपाईंलाई कत्तिको सकस भयो?
यो कथा संग्रहमा धेरै पात्र विक्षिप्त छन्। तिनीहरूको कथा लेख्दै गर्दा म आफैं पनि विक्षिप्त भएँ। कहिलेकाहीं रातमा बिउँझिने र झस्किने भयो। कथा अगाडि बढ्दै जाँदा त्यो पात्रलाई कसरी टुङ्ग्याउने भन्ने अन्योल वेलावेला भइरह्यो। पात्रको गहिराइमा डुब्दै जाँदा आफ्नै मानसिक अवस्था धेरै पटक बिथोलिएको छ।
तपाईंको कथामा देखाए जस्तै हाम्रो समाज र सम्बन्धहरू यति धेरै भयानक भइसकेका छन्?
भयानक छ। मैले लेखेका पात्र सामान्य हुन्, हामीले बाँचेको समाजमा त्योभन्दा विक्षिप्त पात्र छन्। अभावद्वारा सिर्जित पात्र र अवस्था एकदम डरलाग्दो छ। खानाको अभावले जन्मिएको अवस्था, यौन सन्तुष्टिको अभावले जन्मिएको अवस्था, अझ भनौं नाम कमाउने अभावले जन्मिएको अवस्था डरलाग्दो छ। डरलाग्दो मनोदशा बोकेर बाँचिरहेका पात्रहरू हाम्रै वरिपरि नै छन्।
हरेक कथामा कतै न कतै प्रेम र यौन जोडिएको हुन्छ। कथामा प्रेम र यौन जोड्नै पर्ने हुन्छ र?
वास्तवमा जे विषयमा खुलेर कुराकानी गर्नुपर्ने हुन्छ, त्यही कुरा गर्न हिचकिचाइरहेको हुन्छौं। चाहिने कुरा गरेनौं भने झन् विस्फोट हुन्छ। अर्को, प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन। तर, त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने महत्त्वपूर्ण हो।
एउटा पुरानो कुरा गरौं। करीब १५ वर्षअघि वल्लीको डायरी विमोचनमा ‘यो किताब पढेपछि मेरा पात्रहरू रिसाउलान्, गुनासो गर्लान्’ भन्नुभएको थियो। ती पात्रहरू साँच्चिकै रिसाए?
वल्ली एउटा प्रतिनिधि पात्र हो। मेरो नजिकैको एक जना दिदीका श्रीमान् विदेशमा हुनुहुन्थ्यो। घर नफर्केको धेरै भएको थियो, सम्पर्क पनि धेरै हुँदैनथ्यो। उहाँलाई श्रीमान् के गर्नुहुन्छ भन्ने थाहा थिएन। एक दिन मैले दिदीको कुरा सुनें। उहाँको कुरा सुनेपछि वल्ली पात्र जन्मियो। तर, यो कथा आइसकेपछि मेरा पात्रहरूले गुनासो गरेनन्।
त्यो वेला कसरी यस्तो ‘बोल्ड’ विषय लेख्ने सोच्नुभयो? त्यो लेख्दाको मनोविज्ञान कस्तो थियो?
हामीले थाहा नपाएरै ‘बोल्ड’ काम गर्ने रहेछौं जस्तो लाग्छ। वल्लीको डायरी लेख्ने वेलामा म साहित्य दुनियाँसँग परिचित थिइनँ। धेरै किताब पढेको पनि थिइनँ, तर सानैदेखि केही न केही लेखिरहन्थें। आफ्ना अनुभव र घटना लेख्ने बानी थियो।
कक्षा १० मा पढ्दै गर्दा मैले लेखेको नाटकमा गुरुआमाले अभिनय पनि गर्नुभएको थियो। त्यसले गर्दा पनि लेख्ने हौसला मिल्यो। त्यसपछि मैले कविता संग्रह निकालेकी थिएँ।
समाजमा ‘वेश्या’ महिला मात्रै हुन्छन् भन्ने धारणा छ। तर, पुरुषहरू पनि ‘वेश्या’ को काम गर्छन्। त्यस्ता मान्छे नेपालमा पनि छन्। विदेश पनि गएका छन्। पुरुषले त्यो काम गर्दा समाजले औंला नठड्याउने, तर महिलाले त्यस्तो काम नगर्दा पनि शङ्काले हेर्ने हुन्छ। जस्तो कि कुनै महिलाको लवाइखवाइमा परिवर्तन देख्ने बित्तिकै ‘यसले के गरेर कमाइराछे’ भनेर शङ्का हुन्छ। तर, पुरुषलाई शङ्का गरिन्न। समाजमा केटी मान्छेको यौन इच्छा पूरा गरेर बाँचिरहेका पात्रहरू छन्, जसलाई खुलेर स्वीकार गरिएको छैन।
भर्खर किशोरावस्था पार गर्नुभएको थियो। त्यो उमेरमै अहिलेको जस्तो चेत र सोच सहित लेख्नुभएको थियो त?
चेत थियो नि, त्यही भएर त लेखें। त्यस्ता पुरुष पात्रलाई हाम्रै समाजमा भेटेकी पनि थिएँ। ‘पुरुष वेश्याहरू हुन सक्छ’ भन्दा पनि ‘छन् है’ भनेर देखाउन लेखेकी थिएँ।
भनिन्छ, मानिस उमेरसँगै परिपक्व हुन्छन्। आजको समयमा भएको भए वल्लीको डायरीको कथा कस्तो हुन्थ्यो ?
उमेर र अनुभवको कारणले पनि पात्रको चरित्र चित्रण र लेखनशैली फरक हुन सक्थ्यो। कथानक त त्यही नै हुन्थ्यो।
लेखनमा पात्रको भावना र मनोविज्ञान उतार्न लेखकले पात्रसँग निकट हुनुपर्छ भन्ने गरिन्छ। आफ्ना पात्रहरूसँग कत्तिको घुलमिल गर्नुहुन्छ?
ह्वाइट केन दृष्टिविहीनको कथा हो। यो लेख्दै गर्दा म आँखा देख्ने मान्छे, आँखा नदेख्ने भएर लेखें। यो किताब लेख्दै गर्दा मैले एउटा जिन्दगी आँखा नदेख्ने भएर बाचें भन्न पाउँछु।
त्यति वेला म दृष्टिविहीन साथीहरूसँग बढी घुलमिल भएँ। उनीहरूको सहयोग लिएँ। हरेक पात्रबारे लेख्दा अनुसन्धान जरुरी हुन्छ। देख्ने मान्छे भएर नदेख्ने मान्छेको कथा लेख्न दुस्साहस गरेकी हुँ भन्छु।
अरू लेखकले कम ध्यान दिएको विषयवस्तुमा कथा लेखिरहनुभएको छ। तपाईंले दिन खोजेको सन्देश के हो?
मैले लेखेको कथाले समाज निर्माणमा केही सहयोग पुगोस् भन्ने चाहना हो। लामो समयदेखि अपाङ्गता क्षेत्रमा काम गरेकी हुनाले पनि उनीहरूप्रति संवेदनशील छु। यो विषय अत्यन्तै गम्भीर हो, तर हामीले ख्याल गरेका हुँदैनौं। अपाङ्गता जुनसुकै वेला जोसुकैलाई पनि हुन सक्छ भन्ने चेतना जगाउन जरुरी छ। आँखा देख्ने र नदेख्नेबीचको दूरी कम गर्न सक्छु कि भन्ने स्वार्थले ह्वाइट केन लेखेकी थिएँ।
तपाईंका लागि लेखनको विषयवस्तु महत्त्वपूर्ण हो कि शैली?
शुरूआतमा लेखनशैली राम्रो हुनुपर्छ। सामान्य विषयवस्तुमा पनि लेखनशैली राम्रो हुँदा राम्रो राम्रो कृति जन्मन्छ। त्यसपछि विषयवस्तु हो। किनकि, लेखेर समाज परिवर्तन गर्छु भन्नका लागि त विषयवस्तु महत्त्वपूर्ण हुन्छ।
पहिला कविता पनि लेख्नुहुन्थ्यो। अहिले कवितासँगको साइनो छुटेको हो?
कविताभन्दा पहिला नाटक लेखें, कक्षा १० मा पढ्दा होला। अहिले पनि कविता लेखिरहेकी हुन्छु, पढ्छु। कविता पढ्न र सुन्न मन पर्छ। किताबै निकाल्ने गरी काम गरेको छैन।
सानैदेखि लेख्न थालेको भन्नुभयो, त्यो वेला रहरको लेखनी थियो कि गम्भीर भएरै लेख्नुहुन्थ्यो?
गम्भीर भएर नै लेखेकी थिएँ। पहिलो पटक ‘आमाको तृष्णा’ नाटक लेखेकी थिएँ। नभएको आमालाई खोज्नु गम्भीर विषय नै हो। कति धेरै गम्भीर थिएँ भन्ने कुरा अहिले पनि सम्झन सक्छु। लेख्ने धूनमा सबै कुरा बिर्सन्थें, त्यसले आनन्द पनि दिन्थ्यो।
आफैंलाई हेर्दा, १५ वर्षअघिको र अहिलेको लेखन प्रकियामा कस्तो फरक पाउनुहुन्छ?
पहिले केही थाहा थिएन, धेरै नसोचीकन लेखिन्थ्यो। गल्तीहरू हुन्थे। अहिले धेरै कुरा थाहा हुँदै गयो र धेरै सोचेर लेखिन्छ। त्यसले कतिपय अवस्थामा राम्रा र रमाइला कुराहरू छुटे पनि। त्यो वेलाको जस्तो आनन्द, खुशी र रमाइलो अहिले कम हुँदै गएको हो कि जस्तो लाग्छ।
समकालीन लेखकहरूको किताब कत्तिको पढ्नुहुन्छ? विषयवस्तु र शैली कस्तो लाग्छ?
किताब त पढ्छु, पढिरहेकी छु। राम्रो लेखिरहनुभएको छ। पछिल्लो समयमा लेखकहरूको जुन खालको उपस्थिति छ, त्यसले उत्साहित बनाएको छ। म आफैंले पनि थप मेहनत गर्नुपर्छ भन्ने लागेको छ।
किताब किन पढ्नुपर्छ जस्तो लाग्छ?
आफूले बाँच्न, भोग्न र जान्न नपाएको संसारमा पुग्नका लागि किताब पढ्नै पर्ने हुन्छ।
अन्त्यमा, आगामी लेखनको योजना के छ?
एउटा जीवनी लेखिरहेकी छु। त्यस्तै, अर्को उपन्यासको काम शुरू गरिरहेकी छु। अबको उपन्यास काठमाडौंभन्दा बाहिरको छ। मेरो आफ्नै समुदाय मुस्ताङको संस्कृतिमा आधारित भएर लेख्ने योजना बनाएकी छु।
किताबका कुराका थप सामग्री: