गणतन्त्र दिवसमा खुल्दै रत्नमन्दिर
पोखराको रत्नमन्दिर अर्थात् राजदरबार अब नागरिकका लागि खुला हुने भएको छ।
राजा महेन्द्रले पोखराको फेवाताल किनारमा आराम गर्न रत्नमन्दिर बनाएका थिए। २०१५ सालमा कान्छी रानी रत्नको नामबाट राजा महेन्द्रले फेवा किनारमा बनाएको कटेज शैलीको त्यो दरबारको नाम रत्नमन्दिर राखिएको थियो।
त्यसपश्चात् आराम गर्न र फेवा किनारमा टहल्न राजपरिवारका सदस्य वेलाबखत रत्नमन्दिर आइरहन्थे। तर, सर्वसाधारणले भने रत्नमन्दिर प्रवेश पाउने गरेका थिएनन्।
फेवाताल किनारको ११४ रोपनी क्षेत्रफलमा फैलिएको अग्ला पर्खालले ढाकिएको रत्नमन्दिर कस्तो छ भन्ने नागरिकका लागि भने सधैं रहस्मय नै बन्यो। गणतन्त्र दिवसका अवसरमा जेठ १५ गतेदेखि पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुला गर्न लागिएको हो।
गणतन्त्र आएपछि पटक पटक रत्नमन्दिर खुला गर्ने तयारी गरिएको थियो। पर्यटनमन्त्रीदेखि प्रधानमन्त्रीसम्मले रत्नमन्दिर खुलाउने वाचा गरेका थिए, तर पूरा हुन सकेको थिएन।
अब भने रत्नमन्दिर सधैंका लागि जनताले हेर्न र घुम्न पाउने नेपाल ट्रस्टकी बोर्ड सदस्य योङजोम शेर्पाले बताइन्। “गणतन्त्र दिवसका अवसरमा रत्नमन्दिर मात्र खुला गर्ने निर्णय भएर तयारी चलिरहेको छ,” शेर्पाले हिमालखबरसँग भनिन्।
रत्नमन्दिर जनताका लागि खुला गर्न पर्यटनमन्त्री सुदन किराती पोखरा आउने पोखराका मेयर धनराज आचार्यले बताए। त्यसका लागि तयारी भइरहेको आचार्यले बताए।
रत्नमन्दिर खुल्ने भएपछि पोखराका पर्यटन व्यवसायी पनि उत्साही छन्। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ रत्नमन्दिर खुलिसकेपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्ने बताउँछन्।
टिकट काटेर सबैले रत्नमन्दिर अवलोकन गर्न पाउनेछन्। यसका लागि १०० रुपैयाँ टिकट तय गरिएको नेपाल ट्रस्टले जनाएको छ।