कञ्चनजङ्घाको चुचुरोमा तीन आरोही
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको दुई नेपाली सहित तीन जनाले आरोहण गरेका छन्।
नर्वेकी क्रिस्टिना हरिला सहित संखुवासभाका तेन्जिङ शेर्पा र ओखलढुंगाका जेलु शेर्पाले सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स एन्ड एक्सपिडिशनका निर्देशक मिङ्मा शेर्पाले बताए। उनका अनुसार आरोहणका लागि आफ्नो कम्पनीबाट गएका अन्य ११ जना विदेशी सहितको टोली भने खराब मौसमका कारण आधारशिविर फर्किएको छ।
उनीहरू आठ हजार मिटरको उचाइबाट खराब मौसमका कारण फर्किनुपरेको शेर्पाले बताए। सफल आरोहण गरेका तीन सहित १४ जना आरोहणका लागि गएका थिए।
यता, सातोरी एड्भेन्चरबाट गएका १४ जनाको टोली समेत खराब मौसम लगायत कारण करीब आठ हजार मिटरको उचाइमा पुगेर आधारशिविर फर्किएको छ। उक्त कम्पनीबाट कञ्चनजङ्घा आरोहण गर्ने तयारीमा रहेका २१ मध्ये १४ जना आरोहणका लागि गएका थिए।
उनीहरू गएराति फर्किएका हुन्। अन्य सात जना भने सगरमाथापछि कञ्चनजङ्घाको आरोहणमा जाने कम्पनीका निर्देशक ऋषि भण्डारीले जानकारी दिए।