नदीलाई निकास देऊ
हरेक बर्खालाई ‘काल’ बन्न रोक्ने हो भने नदीलाई मानव सभ्यताको अविभाज्य अङ्गका रूपमा बुझेर प्राकृतिक स्वरुपमै छाडिदिनुको विकल्प छैन।
२६–२७ असारको दुईदिने वर्षापछिको बाढी, पहिरो र डुबानका कारण २ साउनसम्म देशभर ९० जनाको मृत्यु भइसकेको छ । २९ भन्दा बढी बेपत्ता र ४१ जना घाइते भएका छन् । सरकारी आँकडा अनुसार, प्रकोपबाट मोरङ, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्साका १२ हजार ९३८ परिवार विस्थापित भएका छन् ।
आर्थिक क्षतिको पूर्ण विवरण आउन बाँकी नै छ । तर; घर, सडक, पुलपुलेसा लगायतका संरचनासँगै बालीनाली, पशुपक्षी र जैविक विविधतामा पुगेको क्षतिको प्रारम्भिक आकलन नै अर्बौंको छ ।
त्यसो त औसतमा १०५ दिन रहने मनसुनको पूर्वार्द्धमै भएको यो क्षतिले अन्त्यसम्म पुग्दा कत्रो आकार लिनेछ, अहिल्यै भन्न गाह्रो छ ।
किनभने, बङ्गालको खाडीबाट पूर्वानुमानभन्दा १० दिन ढिलो गरी ५ असारमा मात्र नेपाल प्रवेश गरेको यो वर्षको मनसुनको शुरूको २० दिनको विपत्तिको तस्वीर मात्र हो, यो । दुई वर्षअघि २०७४ सालमा बर्खामै आएको बाढी र पहिरोले १३४ जनाको ज्यान गएको र झण्डै रु.६१ अर्बको आर्थिक क्षतिको तथ्यांक हाम्रोसामु छँदैछ ।
मनसुनी वर्षा नियमित र ठिक्क हुनु नेपाली अर्थतन्त्रको सहकाल हो । पर्याप्त सिंचाइ सुविधा नभएका कारण मुलुकको मुख्य कृषिबाली धानको उत्पादकत्व मनसुनमै भरपर्छ । तर, यही मनसुन पछिल्ला वर्षहरूमा ‘काल’ बनिरहेको छ । धनजनको क्षति बढ्दो छ ।
के यसो हुनुमा मनसुनमा पानीको मात्रा बढ्नु हो ? होइन । किनभने, औसत वर्षा त सामान्य नै देखिन्छ । बरु, मौसमी चक्रमा आएको परिवर्तनले लामो झरी लाग्न छोडेको छ । तर पनि यो विघ्न क्षतिको कारक के त ?
विज्ञ र जानकारहरूको भनाइमा, विपत्तिको कारक प्राकृतिक नभई मानवीय हो । नदी र वन क्षेत्रमाथिको अतिक्रमण र दोहनकै कारण सामान्य वर्षामा पनि अकल्पनीय क्षति बेहोर्नु परिरहेको छ ।
महाभारत र चुरे क्षेत्रमा भएको अत्यधिक वन फडानी र उत्खननले एकातिर भूक्षयको आकार बढाएको छ भने अर्कातिर त्यहाँबाट बग्ने माटो र गेग्रानले नदीको भूसतह अग्लिंदा पानीको सतहले पनि उँचाइ लिएको छ । पानीको सतह माथि, बस्ती र खेतीको सतह तल परेको छ । बाढी आउनेवित्तिकै घर, खेत डुबानमा पर्ने कारण यही हो ।
नदीको बाढीबाट बस्ती र खेतीपाती बचाउन अपनाइएको उपक्रम हो, तटबन्ध निर्माण । झण्डै १७० वर्षको इतिहास बोकेको तटबन्ध करीब करीब असफल प्रमाणित संरचना हो ।
किनभने नदीको बहाव र परिधि नियन्त्रित गर्ने उपक्रममा बनाइएका तटबन्धहरू नै यतिखेर विध्वंसको कारक बन्न पुगेका छन् । यसै पनि हाम्रा अधिकांश नदी\खोलाको प्राकृतिक बहावलाई सीमापारि भारतमा बनेका सडक, रेल्वे, सिंचाइका लागि बनाइएका बाँधले संकुचित र नियन्त्रित गरेको छ ।
सीमाको भारतीय बजार बैरगनियाको ‘सुरक्षा’ का लागि बनाइएको रिङ–ड्याम, नेपालतर्फका लालबकैया नदीको पश्चिम किनार र वागमती नदीको पूर्वी किनारमा बनाइएको तटबन्धकै कारण साँघुरिएका यी दुवै नदीमा आएको बाढीले सहज निकास नपाउँदा नै रौतहटको गौर डुबानमा पर्यो । यसक्रममा लालबकैयाको तटबन्ध ११ र वागमतीको तटबन्ध ७ ठाउँमा भत्कियो ।
नदीको बहाव र परिधि नियन्त्रित गर्ने उपक्रममा बनाइएका तटबन्धहरू नै यतिखेर विध्वंसको कारक बन्न पुगेका छन् । यसै पनि हाम्रा अधिकांश नदी\खोलाको प्राकृतिक बहावलाई सीमापारि भारतमा बनेका सडक, रेल्वे, सिंचाइका लागि बनाइएका बाँधले संकुचित र नियन्त्रित गरेको छ ।
२ भदौ २०६५ मा कोशीको बाढीमा पनि त्यस्तै भएको थियो । सुनसरी, सप्तरी र सीमावर्ती बिहारका जनताले ‘कोशी कहर’ भोग्नुमा प्रकटतः पश्चिम कुशाहाको तटबन्ध भत्किनुलाई मानिए पनि यसलाई आफ्नो प्राकृतिक बहाव नियन्त्रण विरुद्ध सप्तकोशीको ‘विद्रोह’ कै रूपमा बुझनुपर्छ ।
विज्ञ भन्छन्– तटबन्ध भत्काएर आउने पानी सोझै नदीबाट आउने पानीभन्दा बढी खतरनाक हुन्छ । कोशीको विनाश रोक्नकै लागि सन् १९६५ मा बनाइएको कोशी ब्यारेजको असफलताको कथाले पनि यही सन्देश दिन्छ । कोशीमा आउने बाढीले नेपालमा भन्दा भारतको बिहारमा त्रासदी मच्चाइरहेको छ ।
प्राकृतिक जलचक्र अनुसार चल्ने हाम्रा नदीको आफ्नै बाटो, आफ्नै भूगोल छ । बाँध, तटबन्ध लगायतका अन्य मानवीय संरचनाले तिनको शान्ति बिथोल्छन् । बिथोलिएका नदीले बेलाबेला रौद्र स्वरुप देखाउँछन् र मानिसलाई दण्डित गर्छन् ।
यसपटक काठमाडौं उपत्यकाका बल्खु, हनुमन्ते लगायतका फाँटमा बाढीको आकस्मिकता भोग्नुपरेका कारण पनि नदीको पहिलेको सहज बहाव अवरोध गरिनुको प्रतिफल थियो ।
त्यसैले नदीको प्राकृतिक प्रवाहलाई जस्ताको तस्तै छाडेर बस्ती विकास, संरचना र नीतिनिर्माण गर्नुको विकल्प छैन । वर्तमानको विकासले बुझ्न नसकेको कुरा भनेको नदीसँग जोडिएको मानवीय सभ्यता हो ।
नदीसँग हाम्रो धर्म, संस्कृति जोडिएको छ । नदीलाई भगवानकै रूप मान्ने समुदाय पनि ठूलो छ । पुर्खाले बुझेकाे यो तथ्यलाई मनन् गर्दै नदी–मान्छेबीच सु–सम्बन्ध हुनसके मात्र सही अर्थमा विपत् व्यवस्थापन हुनसक्छ । नत्र हरेक बर्खा ‘काल’ बन्ने नियति भोग्न हामी अभिशप्त हुनेछौं ।