गुराँसमा गडबडी
कमजोर अध्ययन नतीजालाई आधार बनाइँदा गुराँसका प्रजातिहरूबारे नेपालका पुस्तकमा भ्रामक विवरण लेखिन पुगेको छ।
गुराँसको प्रजाति रोडोडेन्ड्रन वालिची सेतो रङमा वैशाख-जेठमा निकै सुन्दर फुल्छ। यो प्रजाति बेलायतका विख्यात वनस्पतिविद् एवम् अन्वेषक सर जोसेफ डाल्टन हूकरले भारतको सिक्किमबाट सन् १८४९ मा पत्ता लगाएका थिए। हूकरले तत्कालीन रोयल बोटानिक गार्डेन कलकत्ताका सुपरिटेन्डेन्ट नाथानियल वालिचको सम्मानमा यसको नामकरण गरे।
सन् २०१४ मा यो प्रजातिको पहिचान र नामकरणमा भ्रम हुने जानकारी भारतबाट प्रकाशन भयो। त्यसलाई सत्य मानेर रोयल बोटानिक गार्डेन क्यू लन्डनले आफ्नो वेबसाइटमा राखेको छ। यसको प्रभाव नेपालमा पनि परेको छ।
नेपालको वनस्पतिको अनुुसूची सम्बन्धी सन् २०२०, २०२१ र २०२२ मा प्रकाशित तीन पुस्तकमा यो प्रजातिबारे भिन्न भिन्न जानकारी समावेश छ। यस लेखमा ती पुस्तकमा समाविष्ट रोडोडेन्ड्रन वालिची सहित गुराँसका चार प्रजाति सम्बन्धी भ्रमपूर्ण जानकारीबारे चर्चा गरिएको छ।
फितलो अध्ययन
बोटानिकल सर्भे अफ इन्डिया (बीएसआई) ले सन् २०१४ मा प्रकाशन गरेको तथा एम. सन्जप्पा र ए.आर.के. शास्त्रीद्वारा सम्पादित फेसिकल्स अफ फ्लोरा अफ इन्डिया पुस्तकमा रोडोडेन्ड्रन वालिचीलाई रोडोडेन्ड्रन कम्पानुलाटमको पर्यायवाची भनिएको छ। यसको अर्थ रोडोडेन्ड्रन कम्पानुलाटमलाई हूकरले भुलवश रोडोडेन्ड्रन वालिची नामकरण गरेका थिए र यो अब वनस्पति जगत्को अनुसूचीमा रोडोडेन्ड्रन कम्पानुलाटममा गाभिएको छ।
सन् १७५९ मा स्थापित रोयल बोटानिक गार्डेन्स क्यू, लन्डन विश्वप्रसिद्ध वनस्पति उद्यान मानिन्छ। त्यहाँ संसारभरबाट सङ्कलित वनस्पतिका करीब ७० लाख नमूना संगृहीत छन्। हूकरले सङ्कलन गरेको रोडोडेन्ड्रन वालिचीको नमूना पनि त्यहाँ संगृहीत छ। बेलायतका डेभिड डनले नेपालबाट सङ्कलन गरिएको नमूनाबाट रोडोडेन्ड्रन कम्पानुलाटम सन् १८२१ मा पत्ता लगाएका हुन्। ल्याटिन भाषामा ‘कम्पाना’ को अर्थ घण्टी हुन्छ। डनले गुराँसको फूल घण्टी आकृति जस्तो जनाउन ल्याटिन शब्द ‘कम्पाना’ बाट कम्पानुलाटा बनाएका हुन्।
यो गुराँस प्रजातिको फूल फेदतिर साँघुरिएको हुन्छ। यस्ता प्रकृतिका फूल अन्य धेरै प्रजातिमा हुन्छ। नामकरण गर्दा प्रयोग गरिएको नेपालबाट सङ्कलित रोडोडेन्ड्रन कम्पानुलाटमको नमूना रोयल बोटानिक गार्डेन्स क्यूमा संगृहीत छ। गार्डेन्सले सन्जप्पा र शास्त्री सम्पादित पुस्तकको विवरणलाई आधार मानेर आफ्नो वेबसाइटमा रोडोडेन्ड्रन वालिचीलाई रोडोडेन्ड्रन कम्पानुलाटमको पर्यायवाची भनिदियो। उक्त विवरण सही हो या होइन भनेर खुट्याउने प्रयास गरेन।
रोडोडेन्ड्रन वालिची पूर्वी नेपालमा पाइन्छ। सन्जप्पा र शास्त्रीले यसलाई अर्को जुन प्रजाति (रोडोडेन्ड्रन कम्पानुलाटलम) भने, त्यो दक्षिणपूर्वी चीनदेखि नेपाल हुँदै पाकिस्तानसम्म पाइन्छ। यसका दुई उपप्रजाति (रोडोडेन्ड्रन कम्पानुलाटम उपप्रजाति कम्पानुलाटम र रोडोडेन्ड्रन कम्पानुलाटम उपप्रजाति एरुगिनोसम) मध्य तथा पश्चिम नेपालबाट सङ्कलन भएका छन्। सन्जप्पा र शास्त्रीले भारतको गुराँस समीक्षा अध्ययन क्रममा रोडोडेन्ड्रन कम्पानुलाटम उपप्रजाति एरुगिनोसमलाई गुराँसको छुट्टै प्रजाति रोडोडेन्ड्रन एरुगिनोसम हो भनेका छन्।
सन् २०१४ अघिसम्म नेपालमा रोडोडेन्ड्रन एरुगिनोसम पाइएको अभिलेख थिएन। सन्जप्पा र शास्त्रीले गरेको भारतको गुराँस समीक्षा अध्ययन अनुसार नेपालमा सङ्कलन भएको रोडोडेन्ड्रन कम्पानुलाटम उपप्रजाति एरुगिनोसमलाई अ ह्यान्डबूक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल भाग ३ मा छुट्टै प्रजाति रोडोडेन्ड्रन एरुगिनोसम भनेर समावेश गरियो।
अहिलेसम्म नेपालमा यसको नमूना गोसाइँकुण्डबाट एक पटक मात्र सङ्कलन भएको अभिलेख रहेकाले नेपालमा रोडोडेन्ड्रन कम्पानुलाटम उपप्रजाति एरुगिनोसम नै सही रूपमा पहिचान गरिएको थियो कि थिएन भन्ने शङ्का उब्जिन्छ। एकै पटक मात्र सङ्कलन हुनु भनेको या त अति दुर्लभ वनस्पति भएर वा पहिचान गलत भएर हुन सक्छ। यो छुट्टै प्रजाति रोडोडेन्ड्रन एरुगिनोसम हुँदो हो त पूर्वी नेपालमा पक्कै पाइन्थ्यो, सिक्किमबाट एकै चोटि गोसाइँकुण्ड पुगेको भन्ने हुँदैन।
नेपालमा हतारो
नेपालमा रोडोडेन्ड्रन वालिची नेपाली सेनाका मेजर लालध्वज सुनुवारले सबैभन्दा पहिले सङ्कलन गरेका थिए। वन तथा वातावरण मन्त्रालय मातहतको वनस्पति विभागले सन् २००५ मा प्रकाशन गरेको रोडोडेन्ड्रन्स अफ नेपाल पुस्तिका अनुसार सुनुवारले उक्त प्रजाति सन् १९३० मा सङ्कलन गरेका थिए। त्यसपछि विदेशी सङ्कलकबाट सन् १९५४, १९५६, १९६४ र १९६६ मा पूर्वी नेपालबाट सङ्कलन गरिएका नमूना बेलायतस्थित रोयल बोटानिक गार्डेन इडिनबरा र न्याचुरल हिस्ट्री म्यूजियम लन्डनमा संगृहीत छन्।
रोडोडेन्ड्रन वालिचीको नमूना वनस्पतिविद् पी.आर. शाक्यले सन् १९७७ मा ताप्लेजुङको तोप्केगोलाबाट सङ्कलन गरेका थिए। उक्त नमूना ललितपुर गोदावरीस्थित राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालामा छ। फ्रान्सेली नागरिक रेने डी मिल्लेविल्लेले नेपाल आएर हिमाली र पहाडी भेगमा ७४० दिन यात्रा गरी प्रकाशन गरेको द रोडोडेन्ड्रन्स अफ नेपाल पुस्तक (सन् २००२) मा रोडोडेन्ड्रन वालिची समाविष्ट छ। यसरी यो प्रजाति नेपालमा सन् १९३० मा सङ्कलन भए पनि नेपालमा पाइन्छ भनेर नेपाल सम्बन्धी पुस्तकमा लेखिन ७२ वर्ष लाग्यो। त्यसपछि सम्भवतः तेस्रो पटक यो प्रजाति मुख्य गरी सन् २०१२ मा वनस्पति विभागबाट प्रकाशित क्याटलग अफ नेप्लिज फ्लावरिङ प्लान्ट्स भाग ३ मा समेटिएको छ।
तीन-चार मिटरसम्म अग्लो हुने रोडोडेन्ड्रन वालिची समुद्री सतहबाट ३२ सयदेखि ४५ सय मिटरसम्म उचाइमा पाइन्छ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित तोप्केगोलामा यो प्रजातिका गुराँसले जङ्गलै ढाकेको गत भदौमा देखेको थिएँ। यस्तै यो प्रजाति संखुवासभाको मिल्केडाँडा उत्तरतर्फ रहेको गोरुजुरे, गिद्धे, खामबले, सभापोखरी, जलजला, अरुण तथा वरुण उपत्यका, सगरमाथा राष्ट्रिय निकुञ्ज अन्तर्गत नाम्चे, थामे, खुम्जुङ, ट्याङबोचे, पाङ्बोचे, फोट्से लगायत ठाउँमा मनग्गे छ।
यो पंक्तिकार सन् २००४ मा सहभागी भएको ‘फस्र्ट डार्विन नेपाल फिल्डवर्क ट्रेनिङ एक्सपिडिशन’ अन्तर्गत सगरमाथा राष्ट्रिय निकुञ्जबाट सङ्कलन गरिएको यो प्रजातिको नमूना राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीमा संगृहीत छ। यो पंक्तिकारले सन् १९९७-२००५ मा विराटनगरस्थित स्नातकोत्तर क्याम्पस अन्तर्गत वनस्पति विभागमा अध्यापन गराउँदा त्यहाँ रोडोडेन्ड्रन वालिचीको नमूना संग्रह गरिएको थियो।
कोशी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सन् २०२० मा प्रकाशन गरेको फ्लावरिङ प्लान्ट्स अफ प्रोभिन्स नं. १ पुस्तकमा गुराँसका ३० प्रजाति समाविष्ट छन्, तर रोडोडेन्ड्रन वालिचीबारे उल्लेख नै छैन। यस्तै राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीले सन् २०२१ मा प्रकाशन गरेको अ ह्यान्डबूक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल भाग ३ मा रोडोडेन्ड्रन वालिचीलाई रोडोडेन्ड्रन कम्पानुलाटमको पर्यायवाची भनिएको छ। हेरिटेज पब्लिसर्स काठमाडौंबाट सन् २०२२ मा प्रकाशित प्लान्ट्स अफ नेपालमा भने रोडोडेन्ड्रन वालिचीलाई छुट्टै प्रजातिका रूपमा राखिएको छ। यसरी लगालग तीन वर्ष प्रकाशन भएका पुस्तकहरूले रोडोडेन्ड्रन वालिचीबारे धेरै सन्देह उत्पन्न गराएका छन्।
भारतमा सच्याइयो
सन् २०१५ मा प्रकाशित ‘अ नोट अन रोडोडेन्ड्रन मेकोन्गेनस- अ न्यू स्पेसिस् रेकर्ड फ्रम सिक्किम हिमालय, इन्डिया’ लेखमा रोडोडेन्ड्रन वालिची समावेश छ। यस्तै, बोटानिकल सर्भे अफ इन्डियाले प्रकाशन गरेको फ्लोरा अफ सिक्किमः अ पिक्टोरियल गाइड (२०२१) र रोडोडेन्ड्रन्स अफ सिक्किम एन्ड दार्जीलिङ हिमालय (२०२२) मा रोडोडेन्ड्रन वालिची र रोडोडेन्ड्रन कम्पानुलाटम दुवैलाई समेटिएको छ। बीएसआईले दुवै प्रजाति समेट्नुको अर्थ हो- यी दुई फरक प्रजाति हुन् र यिनको स्वतन्त्र अस्तित्व छ।
यस सम्बन्धमा पंक्तिकारले बीएसआईका वनस्पतिविद् तथा उपर्युक्त दुई पुस्तकका प्रमुख लेखक डा. राजीव गोगोईसँग जिज्ञासा राख्दा उनले रोडोडेन्ड्रन वालिची र रोडोडेन्ड्रन कम्पानुलाटम बेग्लाबेग्लै प्रजाति भएको बताए। विगतमा सन्जप्पा र शास्त्रीले यीबारे बृहत् अध्ययन नगरी लेखिदिँदा वनस्पति अध्येताहरूमा भ्रम सिर्जना भएको पनि उनको भनाइ थियो।
रोडोडेन्ड्रन वालिची र रोडोडेन्ड्रन कम्पानुलाटम धेरै हदसम्म उस्तै देखिन्छन्। यसैले यी दुईलाई गुराँस उपजाति हाइमेनान्थेज अन्तर्गत सेक्सन पोन्टिका तथा सबसेक्सन कम्पानुलाटामा राखिएको छ। यसको अर्थ यी दुवै प्रजातिको फूल घण्टी आकारको हुन्छ। फूलबाट फरक थाहा पाउन हत्तपत्त सकिन्न। फूलबाट भन्दा पातबाट पहिचान गर्न सकिन्छ। पातमुनि हुने इन्डुमेन्टम (भुवा जस्तो वस्तु) हेरेर यिनको पहिचान गर्न सकिन्छ। कम्पानुलाटमको इन्डुमेन्टम हल्का सुन्तले रङको छपक्कै हुन्छ भने वालिचीको इन्डुमेन्टम खरानी रङको र अलि पातलो हुन्छ।
पछिल्लो समय डीएनए अध्ययनबाट पुराना वनस्पति प्रजाति पहिचान द्रुत गतिमा भइरहेको छ। पहिले एउटा प्रजाति मानिएको तर त्यसको डीएनए अर्को प्रजातिसँग मिल्न गएमा त्यसलाई डीएनए मिल्न गएकै प्रजातिको नाम दिने गरिएको छ। त्यसरी बदलिएको नामकरणलाई नकार्न पनि सकिन्न। तर, गुराँसका उस्तै देखिने प्रजातिहरूका डीएनएको अनुक्रम (सिक्वेन्सिङ) लगभग उस्तै हुन्छन्। किनभने गुराँस अन्य वनस्पतिभन्दा पछि उद्विकास भएका हुन्।
यसकारण उस्तै देखिने प्रजातिको पूरै जीन अध्ययन गर्दा मात्र केकति फरक छ भन्ने पत्ता लाग्छ। एउटा वनस्पतिको सम्पूर्ण जीन अध्ययन गर्न खर्चिलो हुन्छ। यसर्थ गुराँसको पहिचान हालसम्म प्रायः बाहिरी संरचनाबाटै हँुदै आएको छ। भोलिका दिनमा जीनबाट पनि पहिचान गरिएला।
रोयल बोटानिक गार्डेन्स क्यूको वेबसाइटमा रोडोडेन्ड्रन चेम्बरलेनी दक्षिणपूर्वी चीन, म्यानमार, नेपाल र तिब्बतमा पाइने लेखिएको छ। माथि चर्चा गरिएका सन् २०२०, २०२१ र २०२२ मा प्रकाशित नेपाल सम्बन्धी तीन पुस्तकमा त अझ यो प्रजाति नेपाल सहित उत्तरपूर्वी भारतमा पनि पाइन्छ भनिएको छ। जबकि भारतीय वनस्पतिविद्ले लेखेका कुनै पनि पुस्तक तथा लेखमा भारतमा रोडोडेन्ड्रन चेम्बरलेनी पाइन्छ भन्ने उल्लेख नै छैन। यो गुराँस नभई गुराँस जस्तै देखिने वनस्पति डिप्लार्चे मल्टिफ्लोरा हो। यस्तै अ ह्यान्डबूक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपालमा रोडोडेन्ड्रन एरुगिनोसम सूचीकृत गरिएको छ। यो पनि सन्जप्पा र शास्त्रीकै फितलो अध्ययन नतीजाको उपज हो।
संखुवासभाको अरुण उपत्यकाबाट सन् १९५६ र १९७४ मा रोडोडेन्ड्रन मेकोन्गेन्सको नमूना सङ्कलन भएको थियो। यसलाई जापानका वनस्पतिविद् हिरोशी हाराले रोडोडेन्ड्रन ट्राइकोक्लाडम भनी पहिचान गरिदिए। यता नेपालमा उनी जीवित रहँदादेखि सन् २०२२ सम्म प्रकाशित पुस्तकहरूमा नेपालमा रोडोडेन्ड्रन ट्राइकोक्लाडम पाइन्छ भन्ने लेखियो। तर, रोडोडेन्ड्रन ट्राइकोक्लाडम अहिलेसम्म दक्षिणपूर्वी चीन, बर्मा र तिब्बतमा मात्र पाइएको छ।
नेपालमा जसलाई रोडोडेन्ड्रन ट्राइकोक्लाडम भनियो, त्यो त रोडोडेन्ड्रन मेकोन्गेन्स हो। रोडोडेन्ड्रन ट्राइकोक्लाडम र रोडोडेन्ड्रन मेकोन्गेन्स नजिकका सहगोत्री हुन्। यिनीहरूबीचको भिन्नता पनि इन्डुमेन्टमबाट मात्रै छुट्टिन्छ। यी दुई प्रजाति गुराँसको एक अर्को उपजाति रोडोडेन्ड्रन, सेक्सन रोडोडेन्ड्रन र सबसेक्सन ट्राइकोक्लाडामा समाविष्ट छन्।
माथिका विवरणबाट के प्रस्ट हुन्छ भने, नेपालमा पाइने गुराँसको अनुसूची गहिरो अध्ययनमा आधारित नभई अन्यत्र के लेखियो वा वेबसाइटमा राखियो भन्ने हेरेर लेखिएको वा परिमार्जन गरिएको छ। यसै अनुसार नेपालमा गुराँस प्रजाति संख्या ३४ देखिन्छ। त्यो कति सत्य भन्ने यसै देखिन्छ। अनुसूची भएका यी पुस्तकका लेखकहरू नेपालका उपल्लो तहका वनस्पतिविद्हरू हुन्।
यति भन्दै गर्दा के पनि बिर्सनु हुँदैन भने कुनै देश, प्रदेश, जिल्ला वा अन्य क्षेत्रविशेषमा पाइने वनस्पति तथा जन्तुको अनुसूची अपुरो त हुन्छन् नै, तिनमा समावेश नामहरू छिटपुट तलमाथि हुनु स्वाभाविक मानिन्छ। तर, पर्यटन र आर्थिक महत्त्वसँग जोडिएका प्रजातिबारे यति धेरै गडबडीलाई बेवास्ता गरिनु हुँदैन, समयमै सच्याइनुपर्छ।
(मादेन वनस्पतिविद् हुन्। हिमालको २०८० जेठ अङ्क।)