एप्पलका कर्मचारीलाई ‘च्याट-जीपीटी’ प्रयोग गर्न रोक
आफ्नै च्याटबोट निर्माण गरिरहेको एप्पलले आफ्ना कर्मचारीलाई च्याट-जीपीटीको प्रयोग नगर्न निर्देशन दिएको छ।
विश्वप्रसिद्ध टेक कम्पनी एप्पलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात कृत्रिम बुद्धिमत्ता च्याटबोट ‘च्याट-जीपीटी’ लगायत प्रयोग नगर्न आफ्ना कर्मचारीलाई निर्देशन दिएको छ। एप्पलले आफ्नै च्याटबोट निर्माण गरिरहेकाले यस्तो निर्देशन दिइएको समाचार संस्था रोयटर्स ले वालस्ट्रीट जर्नललाई उद्धृत गर्दै उल्लेख गरेको छ।
एप्पलले गिटहबको ‘को-पाइलट’ पनि प्रयोग नगर्न निर्देशन दिएको छ। च्याट-जीपीटी र को-पाइलट दुवै माइक्रोसफ्ट समर्थित हुन्। वालस्ट्रीट जर्नलका अनुसार यस्ता एआईले कर्मचारीबाट गोप्य विवरण लिन सक्ने भनी एप्पलले संशय गरेको छ।
यद्यपि गत महीना भने च्याट-जीपीटी निर्माता कम्पनी ‘ओपन एआई’ ले आफूहरूले ‘इन्कग्निटो मोड’ प्रयोगमा ल्याएको जनाएको थियो। अर्थात् प्रयोगकर्ताको ‘कन्भर्सेशन हिस्ट्री’ संग्रह नगर्ने र तिनलाई एआईको सुधारका लागि पनि प्रयोग नगर्ने कम्पनीले जनाएको थियो।
हाल च्याट-जीपीटी र अन्य च्याटबोटहरूले कसरी लाखौं प्रयोगकर्ताको डेटा व्यवस्थापन गरिरहेका छन् भन्नेबारे छानबिन भइरहेको छ। साधारणतया यस्ता डेटा एआईलाई सुधार्न वा तालीम गराउन प्रयोग गरिन्छ।
जेठ ४ मा मात्रै ओपन एआईले एप्पलको आईओएस प्लेटफर्मका लागि च्याट-जीपीटी एप सञ्चालनमा ल्याएको थियो। रोयटर्सले यसबारे एप्पल, ओपन एआई र माइक्रोसफ्टसँग प्रतिक्रिया लिन खोज्दा कसैले पनि जवाफ दिएनन्।