एनसेलमा एकीकृत ‘प्याक’ बनाउन मिल्ने
एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार सेवाको प्लान आफैं बनाई सुलभ दरमा सेवा प्रयोग गर्न सक्ने भएका छन्।
एनसेल आजियाटा लिमिटेडले आकर्षक एनसेल माई प्लान सञ्चालनमा ल्याएको हो। यो प्लान अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता अनुसार आफ्नो बन्डल प्याक आफैं बनाएर सेवा लिन सक्नेछन्।
माई प्लानमा माई प्लान ५०० र माई प्लान फ्लेक्सी गरी दुई वटा विकल्प सञ्चालनमा ल्याइएका छन्। जसमा ग्राहकले अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा भोलुम आफैंले तय गरेर आफ्नो प्याक बनाउन सक्नेछन्। कर्पोरेट तथा पोस्टपेड ग्राहकले प्लानलाई ३० दिनको समय चक्रमा सुचारु गर्न सक्नेछन्।
माई प्लान ५०० को मूल्य कर सहित ५०० रुपैयाँ तोकिएको छ। यसमा ग्राहकले ५०० रुपैयाँ बराबरको अन नेट, अफ नेट भ्वाइस, एसएमएस सेवा र डेटा भोलुमको बन्डल प्याक आफैं बनाउन सक्छन्।
त्यस्तै, फ्लेक्सी प्लान अन्तर्गत ग्राहकले ५०० रुपैयाँभन्दा बढी मूल्यको अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा सेवाको भोलुम निर्धारण गरी ३० दिनका लागि आफ्नो प्लान बनाउन सक्छन्। माई प्लान लिने ग्राहकले दुई हजार ५०० मिनेट अन नेट टक टाइम र एक हजार वटा अन नेट एसएमएस सेवा निःशुल्क प्राप्त गर्नेछन्।
माई फ्लेक्सी प्लानमा ग्राहकले अधिकतम २०० जीबी डेटा, दुई हजार ५०० मिनेट अन नेट, अफ टक टाइम र दुई सय ५०० एसएमएसको बन्डल प्याक बनाउन सक्छन्।
ग्राहक आफैंले आफ्नो प्याक बनाउने सक्ने यो नेपालमा सञ्चालनमा आएको पहिलो सुविधा भएको एनसेलले जनाएको छ। इन्टरप्राइज ग्राहकका लागि लक्षित एनसेल फर बिजनेश सेवा अन्तर्गतको यो प्लान ग्राहकले एनसेल एपबाट बनाउन सक्नेछन्।
एनसेल एपमा ग्राहकलाई स्क्रीनको माथि दायाँ मेनु बारमा प्रोफाइलमा थिचेर माई प्लानमा अन्तर्गत आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता अनुरूप आफ्नो प्याक बनाउने सुविधा दिइएको छ। उदाहरणका लागि ग्राहकले ३०० रुपैयाँ बराबरको डेटा, १५० रुपैयाँ बराबरको अफ नेट र अन नेट कल र ५० रुपैयाँ बराबरको एसएमएस सेवा सहितको आफ्नो माई प्लान ५०० बनाउन सक्छन्।