सुदूरपश्चिममा मन्त्रीको भागबन्डा मिल्यो, मन्त्रिपरिषद् विस्तार गरिंदै
सुदूरपश्चिम प्रदेशमा सत्तारूढ राजनीतिक दलबीच मन्त्रीको भागबन्डा मिलेको छ भने आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुन सहमत छन्। तर, भागबन्डा नमिल्दा सरकार विस्तार हुन सकेको थिएन।
चारै दलबीच मन्त्री भागबन्डाको विषय मिलेको माओवादी संसदीय दलका नेता खगराज भट्टले बताए। उनका अनुसार माओवादीले दुई, कांग्रेसले थप र नागरिक उन्मुक्तिले एक मन्त्रालय पाउने सहमति जुटेको छ।
यससँगै कांग्रेस, माओवादी र नागरिक उन्मुक्तिले एक–एक राज्यमन्त्री पनि पाउने भएका छन्। एकीकृत समाजवादीले भने यसअघि नै आर्थिक मामिला मन्त्रालय पाइसकेको छ। नरेशबहादुर शाही अर्थमन्त्रीका रूपमा सरकारमा सहभागी छन्।
सहमति जुटिसकेकाले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको मुख्यमन्त्री शाहले बताए। “आजै मन्त्रीहरूको शपथ पनि गर्ने तयारी छ,” मुख्यमन्त्री शाहले भने।
माओवादीले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ। सामाजिक विकास र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा झपट साउद र रमेश धामीको नाम टुङ्गिएको माओवादी संसदीय दलका नेता भट्टले बताए। उनका अनुसार गीता माललाई राज्यमन्त्री बनाउने तयारी भइरहेको छ।
धामी र साउदसँग छलफल गरेर एक जनालाई सामाजिक र अर्कोलाई पर्यटन मन्त्रालयमा पठाइने उनले बताए।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने निर्णय गरेको थियो। तर, भूमि व्यवस्था तथा कृषि मन्त्रलाय मात्र पाउने भएपछि अब कसलाई सरकारमा पठाउने भन्ने विषयमा टुङ्गो लागेको छैन। नागरिक उन्मुक्तिका सांसद लक्ष्मणकिशोर चौधरीका अनुसार आजै दलको बैठक बसेर टुङ्गो लगाइनेछ।