राष्ट्रपति पौडेलको आज संसद्मा पहिलो सम्बोधन
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम छ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने संघीय संसद् सचिवालयले जनाएको छ। उनी संघीय संसद्को बैठकलाई पहिलो पटक सम्बोधन गर्न लागेका हुन्।
संघीय संसद्मा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने तथा त्यसमाथि छलफल गरी पारित गर्ने संघीय संसद्को मुख्य कार्य जिम्मेवारीभित्र पर्छ। बैठक अवलोकनका लागि राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति सहभागी हुनेछन्।
बैठकपछि आजै प्रतिनिधि सभा र राष्ट्रिय सभाका बेग्लाबेग्लै बैठक बस्नेछन्। प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गरेको सम्बोधनप्रति ती बैठकमा टेबल गर्ने कार्यक्रम छ।
त्यस्तै, प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापन सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
सरकारले आज पेश गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभा र राष्ट्रिय सभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ। छलफल समाप्त भएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने संवैधानिक व्यवस्था छ।