हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले अध्यक्ष मियाँलाई बिहीबार पक्राउ गरेको हो। उनलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले हिमालखबरलाई बताए।
“नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरेका छौं,” एसएसपी कार्कीले भने।
उनलाई बिहीबार सिंहदरबार परिसरबाटै पक्राउ गरिएको हो। उनी गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिमा २०७७ सालदेखि अध्यक्षका रूपमा कार्यरत छन्।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको पाइएपछि उनलाई पक्राउ गरिएको जनाएको छ।
यो प्रकरणमा अहिलेसम्म पूर्व मन्त्रीद्वय बालकृष्ण खाण र टोपबहादुर रायमाझी, उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे र इन्द्रजित राई सहित १५ जना पक्राउ परिसकेका छन्। त्यस्तै, दुई जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। पक्राउ पुर्जी जारी गरिएको पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र इन्द्रजितका छोरा निरज राई फरार छन्।
गृह मन्त्रालयले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउने भन्दै कार्यदल बनाएको थियो। कार्यदलले भुटानी शरणार्थीको अभिलेख राख्न सूची पनि बटुलेको थियो।
यही प्रतिवेदनमा गिरोहले ‘दर्ता छूट’ सूची भन्दै अनधिकृत नाम थपेर मानव तस्करी गरेर अमेरिका पुर्याउन खोजेको हो। जसमा नक्कली भुटानी शरणार्थी बनाएर ८७५ जनालाई अमेरिका उडाउने गरी सरकारी कागजातमा नाम थपेको पाइएको छ।
यसका लागि प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रुपैयाँसम्म असुलिएको उजुरी प्रहरीमा परेको छ। गृह मन्त्रालयले बनाएको कार्यदलको उद्देश्य नै नक्कली भुटानी शरणार्थी खडा गरेर विदेश लैजाने देखिएको भन्दै प्रहरीले कार्यदलका सदस्यमाथि पनि अनुसन्धान गरिरहेको छ।