कर्नाटकमा कांग्रेसले कसरी जित्यो?
जातीय सशक्तीकरणको लामो इतिहास छ कर्नाटकसँग। लोहियाको समाजवाद आत्मसात् गरिएको र देवराज उर्सको विरासतसँग जोडिएको यो राज्यले कंग्रेसलाई सामाजिक-न्यायिक राजनीतिको अग्रणीका रूपमा स्थापित गरेको छ।
एक दशकपछि कर्नाटकका जनताले भारतीय राष्ट्रिय कंग्रेसलाई विजयी बनाएका छन्। सन् २०१३ को राज्यसभा निर्वाचनमा ३६ प्रतिशत भोट ल्याएर कंग्रेसले १२२ सीट जितेको थियो।
यस पटकको निर्वाचनमा कंग्रेसले १३५ सीट जित्यो भने कंग्रेससँगै गठबन्धन गरेको ‘सर्वोदय कर्नाटक पक्ष’ ले उम्मेदवारी दिएको एक सीट जितेको छ। कंग्रेसको यो विजय भारतीय जनता पार्टी (भाजपा)ले जितेको ६६ सीटको दोब्बरभन्दा बढी हो। सिङ्गो भोटमध्ये ४३ प्रतिशत कंग्रेसकै पक्षमा छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा प्रचार गरिएको भए पनि भाजपाले औसत उपस्थिति देखाउन सकेन। प्रधानमन्त्री मोदीले यस निर्वाचनलाई ‘डबल-इन्जिन सरकार’ का लागि भनेर व्यक्तिगत प्रभाव दर्शाउन खोजेका थिए। साथै, पछिल्लो चरणमा बजरंग बलीलाई उक्साएर ध्रुवीकरण पनि सिर्जना गर्न खोजे। तर, उनको चाल असफल भयो।
मतदाताले कंग्रेसको लोककल्याणको प्रतिबद्धता र धर्मनिरपेक्षतालाई नै चुने। कंग्रेसको घोषणापत्रमा कवि कुवेम्पुको प्रसिद्ध पंक्तिलाई आफ्नो मूलनाराका रूपमा उद्धृत गरिएको थियो- ‘यो सबै जातजाति शान्तिपूर्वक बस्ने बगैंचा हो।’
त्यसैले निर्वाचन परिणामपछि राहुल गान्धीको टिप्पणीप्रति सहमत हुन करै लाग्छ। राहुलले भनेका थिए, “कर्नाटकमा घृणाको बजार बन्द भएको छ र प्रेमको पसल खुलेको छ।”
साथै, यो कंग्रेसको जितमा राहुलको नेतृत्वमा कर्नाटक हुँदै कश्मीर पुगेको ‘भारत जोडो यात्रा’ को पनि उल्लेखनीय प्रभाव छ।
कर्नाटकमा भाजपाको उदय
यो निर्वाचन परिणामले भाजपालाई एक-दुई वटा पाठ पढाएको छ। उसले कर्नाटकलाई दक्षिण भारतको द्वार ठानेको हुन सक्छ। तर, यो राज्य भाजपाको किल्ला बन्न सकेन।
सन् १९९० को दशकमा यस राज्यमा भाजपाको उदय विशिष्ट परिस्थितिमा भएको थियो। त्यति वेला बनेको कंग्रेसविरोधी गठबन्धनको प्रमुख शक्ति जनता पार्टी अन्तर्द्वन्द्वका कारण नष्ट भएपछि बनेको रिक्त स्थानमा भाजपा उदाएको थियो।
अरू दक्षिणी राज्यमा त्यस्तो भएको थिएन। ती राज्यमा कंग्रेसविरोधी राजनीतिलाई कम्युनिस्ट, क्षेत्रीय पार्टी र कंग्रेसबाटै विभाजित समूह (तमिलनाडुमा द्रविडियन पार्टी, आन्ध्र प्रदेश-तेलंगानामा तेलेगु देसाम) लगायतले ओगटेका थिए।
लिंगायत समुदायको आडले पनि कर्नाटकमा भाजपाको उदयलाई सघायो। हिन्दू धर्मावलम्बीको शिवपूजक यो समुदाय दक्षिणी राज्यहरूमा बलियो छ। एक समय कंग्रेसलाई आड दिएको यो समुदायबाट मुख्यमन्त्रीहरू पनि भएका थिए।
सन् १९८० को दशकको शुरूआतमा यो समूह कंग्रेसबाट अलग्गियो। लिंगायत समुदायका नेता बी.एस. यदियुरप्पाले भाजपासँग सम्बन्ध स्थापित गरे र आफ्नो समुदायलाई भाजपाको ‘कोर भोटर’ का रूपमा प्रस्तुत गरे। उनकै नेतृत्वमा भाजपाले लिंगायत समुदायको साम्प्रदायिक भावनालाई सम्बोधन गर्यो। मठहरूलाई राज्यले संरक्षण दियो र ठूलो आकारमा लोककल्याणकारी सञ्जाल निर्माण गरियो।
त्यसपछि सन् १९९० को दशकमा धेरै सामुदायिक प्रदर्शन भए, तर ती सबै रामजन्मभूमि आन्दोलन (अयोध्यामा बाबरी मस्जिद भत्काउने प्रदर्शन)को दाँजोमा आउँदैनथे। छोटोमा भन्दा, यदियुरप्पाले आफैंलाई साम्प्रदायिक हिन्दूका रूपमा प्रस्तुत गरे र यो कंग्रेसको विकल्प भएको दाबी गरे। केही हदसम्म उनको यो प्रयास सफल पनि भयो।
हिन्दूत्वको फेरो
पछिल्ला वर्षमा भने भाजपाले आफूलाई एउटा समुदायको पार्टीबाट कट्टरपन्थी हिन्दूत्व संगठनमा बदल्ने प्रयास गरिरहेको छ। मुस्लिमविरोधी अजेन्डा र उग्रराष्ट्रवादको सहारामा राज्य तहको भाजपा संगठनलाई राष्ट्रिय तहसँग जोड्ने केन्द्रीय तहका नेताहरूको प्रयासले कन्नडिगा (कर्नाटकवासी)लाई खासै उत्साह दिलाएको भने देखिंदैन। सन् २०१४ यता भाजपाको अजेन्डा बनेको हिन्दू-हिन्दी-हिन्दूत्वको नाममा ध्रुवीकरणलाई रोक्ने काम सिद्दरमैयाको नेतृत्वमा नवजीवन पाएको कन्नड उप-राष्ट्रवादले पनि गर्यो।
तथ्य के हो भने भारतका दक्षिणी राज्यहरू आफैंमा उपराष्ट्रियताहरू हुन्, जहाँ उपराष्ट्रिय पहिचान छ। तमिल, कन्नडिगा, मलयाली, तेलेगु जस्ता यी उपराष्ट्रिय पहिचान भारतीय पहिचानसँग सहजतापूर्वक सामेल भएका छन्। क्षेत्रीय (जुन प्रायः भाषाका आधारमा छन्), जातीय, जात, धार्मिक जस्ता बहुपहिचान विना अन्तरविरोध धेरथोर सहअस्तित्वमा रहेका हुन्छन्। क्षेत्रीय वा जातको पहिचानलाई ओझेल पार्ने गरी राष्ट्रिय वा धार्मिक पहिचानलाई बढावा दिने मागले द्वन्द्व सिर्जना गर्न सक्छ र राजनीतिक नोक्सानी निम्त्याउन सक्छ।
भाजपाको नेतृत्व वर्गले उग्रराष्ट्रवादको आडमा हिन्दूत्व धारले क्षेत्रीय र जात पहिचानलाई ओझेल पारिदिन्छ भन्ने विश्वास गरेको देखिन्छ। नयाँ बन्ने राज्य सरकारको नेतृत्वबारे लिंगायतहरूको चासोलाई भाजपाको केन्द्रीय नेतृत्वले बेवास्ता गर्ने प्रयास गर्यो।
लिंगायतका अधिकांश नेता ब्राह्मण हुन् जो सन् १९७० दशकदेखि कर्नाटकमा चलिरहेको सामाजिक इन्जिनीयरिङको विरुद्धमा छन्। त्यो सामाजिक इन्जिनीयरिङ तल्ला भनिएका जातको सशक्तीकरणको पक्षमा छ। यी सबैका बावजूद भाजपाले ३६ प्रतिशत भोट प्राप्त गर्यो, जुन सन् २०१८ मा प्राप्त मत जति नै हो।
सामाजिक न्यायको राजनीति
सन् १९१८ मा मैसुर राज्य हुँदादेखि नै जातीय आधारमा आरक्षण दिन थालेको कर्नाटकमा जातीय सशक्तीकरणको इतिहास लामो छ। छिमेकी मद्रास राज्यमा जस्तै स्वतन्त्रतापछि जातीय कोटाहरूको दायरा फराकिलो बनाइयो। मद्रास राज्यमा पेरियार (तमिल भाषामा सम्मानित व्यक्ति) सम्बोधनले चिनिने इरोड बेंकट नायकर रामासामीको ‘आत्मसम्मानको राजनीति’ ले सामाजिक न्यायको राजनीतिका लागि सैद्धान्तिक आधार प्रदान गरेको थियो भने कर्नाटकमा राममनोहर लोहियाको समाजवादी राजनीतिले।
त्यो समाजवादी राजनीति ‘क्यारिस्मेटिक’ नेता शान्तवेरी गोपालगौंडको नेतृत्वमा उदाएको थियो, जसको प्रभाव कर्नाटकको सामाजिक जीवनमा पर्यो। चुनावी परिणाममा सफलता सीमित भए पनि त्यहाँको किसान राजनीति र कन्नड साहित्यमा समाजवादीको उल्लेखनीय प्रभाव छ। गोपालकृष्ण अडिग, यूआर अनन्तमूर्ति, पी लंकेश, श्रीकृष्ण अलनहल्ली, देवनूर महादेव जस्ता कन्नड भाषाका चर्चित लेखकहरू लोहियाको विचार र गोपालगौंडको राजनीतिक परिचालनबाट प्रभावित थिए।
अनन्तमूर्तिको उपन्यास अवस्था गोपालगौंडको जीवनमा आधारित छ। जेएच पटेल जस्ता नेता र नन्जुन दासस्वामी जस्ता किसान नेता पनि समाजवादी राजनीतिबाटै उदाएका हुन्। सन् १९८० को दशकमा शुरू भएको क्रान्तिकारी दलित राजनीति लगायत कन्नडको नागरिक समाजमा यो वैचारिक राजनीतिको सैद्धान्तिक उपस्थिति छ।
कंग्रेस र समाजवादीहरू
सन् १९७० को दशकमा कर्नाटकमा गैरकंग्रेसी राजनीतिमा ठूलै उलटफेर आयो। अहिन्डा (अल्पसंख्यक, दलित, आदिवासी, अरू पिछडिएको जाति) रणनीतिको योजना बनाउँदा कंग्रेस नेता देवराज उर्सले लोहियाको समाजवादी विचारबाट सामाजिक न्यायको अजेन्डा समेटे। सन् १९७२ मा भएको गोपालगौंडको असामयिक निधन समाजवादी आन्दोलनका लागि ठूलो क्षति थियो, जसले पछि आफ्नो बेग्लै पहिचान गुमायो र कंग्रेस-ओसँगै (इन्दिरा गान्धीले विभाजन गरेपछि भारतीय कंग्रेसको पुरानो मूलधारलाई कंग्रेस ओ वा कंग्रेस सिन्डिकेट भनिन्थ्यो) जनता दलमा गाभियो।
पछि उर्स ‘कर्नाटक क्रान्ति रङ्ग’ मा जाँदा थुप्रै समाजवादीहरू उनीसँगै गए। बंगरप्पाको नेतृत्वमा रहेको यो पार्टी सन् १९८३ मा जनता पार्टी नेतृत्वको सरकारकै एक हिस्सा थियो। त्यसपछि जनता पार्टी र कंग्रेसविरोधी राजनीतिमा रामकृष्ण हेगडे, देवेगौडा जस्ता पुरानो कंग्रेस-ओका नेताहरूको प्रभुत्व स्थापित भयो। थुप्रै समाजवादीहरू कंग्रेसकै एक हिस्सा बन्न पुगे। तीमध्ये एक सिद्दरमैया कंग्रेसभित्र लोहियाको समाजवादी विरासतका प्रतिनिधि थिए।
कर्नाटकमा सामाजिक राजनीतिको संवाहकका रूपमा कंग्रेस स्थापित हुन यो समाजवादी वैचारिक धार र उर्सको विरासतको प्रभावले काम गरेको छ। कर्नाटकका विभिन्न चुनावी र्यालीमा राहुल गान्धीले जातिगत आधारमा जनगणनाको माग गरेका थिए। समुदाय राजनीतिलाई अघि बढाउने इच्छालाई कंग्रेसको परम्पराले पनि सघाएको छ। यो ‘स्थानीय’ चरित्रले कन्नड उपराष्ट्रवाद समेट्न र बजरङ्ग दलको पर्दाफास गर्न कंग्रेसलाई सघायो।
चुनावी नतीजाको परिणाम
कर्नाटकको चुनावी परिणामले भाजपाका लागि के अर्थ राख्छ त? पक्कै पनि, यसले भाजपामुक्त दक्षिण भारत बनाइदिएको छ। यो नतीजालाई भाजपाले केन्द्रीय शासक पार्टी विरुद्ध एकताको धारणा र ‘कोर्स-करेक्शन’ का लागि प्रदेशले दिएको दबाबका रूपमा लिन सक्छ।
पक्कै पनि भाजपाले कर्नाटकको पराजयलाई राष्ट्रिय योजनाका लागि अप्रासङ्गिक पनि मान्न सक्छ। यसै पनि उत्तरी र पश्चिमी भारतमा रहेको बहुमतले उसलाई संसद्मा साधारण बहुमत दिलाएको छ। लोकसभामा रहेका भाजपाका ३०३ सांसदमध्ये ३० जना मात्रै दक्षिण भारतबाट आएका हुन्, जहाँबाट तल्लो सभामा १३० सांसद निर्वाचित भएर आउँछन्।
फेरि पनि कर्नाटकको जस्तै परिणाम दक्षिणका अन्य राज्यहरूमा पनि आउन सक्छ।
(द इन्डियन एक्सप्रेसमा प्रकाशित लेखको भावानुवाद।)