हिमालयन उद्धार संघलाई अस्ट्रेलियाको सहयोग
नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाली सहायक विदेशमन्त्री टीम वाट्सले हिमालयन उद्धार संघ नेपाललाई उद्धार सामग्री उपलब्ध गराएका छन्।
सहायक विदेशमन्त्री टीम वाट्सले बुधबार आयोजित कार्यक्रममा अस्ट्रेलियामा निर्मित ‘पोर्टेबल अल्टिच्यूड च्याम्बर (पीएसी)’ संघलाई उपलब्ध गराएका हुन्। यी सामग्री संघको फेरिचेमा अवस्थित स्वास्थ्य केन्द्र र सगरमाथा आधारशिविरमा रहेको सगरमाथा आकस्मिक क्लिनिकमा प्रयोग हुनेछ।
सहयोग हस्तान्तरण गर्दै वाट्सले भनेका छन्, “हिमालयन उद्धार संघ र नेपाल सरकारका अधिकारीहरूले पदयात्रा तथा हिमाल आरोहणमा आउने अस्ट्रेलियालीलाई गरेको सहयोगका लागि अस्ट्रेलिया हार्दिक धन्यवाद ज्ञापन गर्दछ।”
नेपाल साहसिक पर्यटनको छनोटमा परेका गन्तव्यमध्ये एक भएको बताउँदै उनले प्रतिवर्ष करीब २७ हजार अस्ट्रेलियाली नागरिक नेपाल आउने स्मरण गराएको राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। “तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलरीले सगरमाथाको पहिलो सफल आरोहण गरेको ७०औं वार्षिकोत्सव मनाइरहँदा सगरमाथा शिखरमा पुग्ने प्रयासमा ज्यान गुमाउने ३०० भन्दा बढी पर्वतारोहीको स्मरण गर्दछौं,” सहायक विदेशमन्त्री वाट्सले भनेका छन्।
गत महीना खुम्बु आइसफलमा भएको घटनामा ज्यान गुमाउने शेर्पा पथप्रदर्शक र आरोहीप्रति समवेदना प्रकट गरेका छन्। यस्ता दुःखद घटनाले अस्ट्रेलिया र हिमालयन उद्धार संघसँगको सहकार्यको महत्त्वलाई अझै घनीभूत बनाउने उनको भनाइ छ।
अस्ट्रेलियाको बारलेट म्यानुफ्याक्चरिङको उत्पादन गरेको पीएसीमा हलचल गर्नै नसक्ने गरी लेक लागेका वेला तत्काल सुरक्षित रूपमा कम उचाइमा ओर्लन सहयोग पुर्याउँछ। पर्वतारोही तथा उच्च हिमाली क्षेत्रमा पदयात्रामा जानेहरूका लागि सहज स्वास्थ्य सेवा प्रदान गर्न संघलाई यसअघि पनि अस्ट्रेलिया सरकारले स्याटेलाइट फोन र अन्य उपकरण उपलब्ध गराएको थियो।
मुनाफारहित गैरसरकारी संस्थाका रूपमा ५० वर्षअघि सन् १९७३ मा संघको स्थापना भएको हो। हिमाल आरोहण र उच्च क्षेत्रमा पदयात्रामा जाने पदयात्रीलाई लेक लागेको तथा विपत् परेका वेला संघले उद्धार गर्दै आएको छ।