टीकापुर घटनामा दुई जनालाई सफाइ, रेशम चौधरीले जेलमै बस्नुपर्ने
सर्वोच्च अदालतले टीकापुर घटनामा दुई जनालाई सफाइ दिएको छ भने रेशम चौधरी सहित अन्यको हकमा जन्मकैदको फैसलालाई सदर गरेको छ।
सवोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले ‘विद्रोह’ भनिने सीताराम चौधरी र गंगाराम चौधरीलाई सफाइ दिने फैसला गरेको हो।
फैसलामा भनिएको छ, “प्रतिवादीमध्येका ‘विद्रोह’ भन्ने सीताराम चौधरी र गंगाराम चौधरीको हकमा हेर्दा शुरू अदालतबाट साविक मुलुकी ऐन, ज्यान सम्बन्धीको महलको १३ (३) नंं बमोजिम जन्मकैद तथा ज्यान मार्ने उद्योग तर्फ ऐ. १५ नं. बमोजिम पाँच वर्ष कैद सजाय गरेको मिति २०७५/११/२२ को फैसला सदर गरेको उच्च अदालत दिपायलको मिति २०७७/०९/०२ को फैसला मिलेको नदेखिंदा उल्टी भई निज प्रतिवादीहरूले आरोपित कसूरबाट सफाइ पाउने ठहर्छ।”
त्यस्तै, सर्वोच्चले लक्ष्मण थारु (चौधरी)को पनि कैद सजाय दुई वर्ष घटाएको छ। जिल्ला अदालत, कैलालीले तीन वर्ष कैद सजाय सुनाएको थियो। त्यसमा पुनरावेदन हुँदा उच्च अदालत दिपायलले पाँच वर्ष बनाएको थियो। सर्वोच्चले उच्च अदालतको फैसला उल्टाउँदै जिल्ला अदालतकै फैसलालाई सदर गरेको हो।
यसमा रेशम चौधरी सहित अन्य निवेदकका हकमा भने जन्मकैदको सफला सदर गरेको छ। उनीहरूले अब जन्मकैद सजाय भोग्नुपर्नेछ।
थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते टीकापुरमा भएको झडपमा एक नाबालक र आठ सुरक्षाकर्मीको ज्यान गएको थियो। यसमा जिल्ला अदालत, कैलालीले २०७५ फागुन २२ गते रेशमलाल चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।
जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले रेशमलाल चौधरी, हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी र गंगाराम चौधरीलाई जन्मकैद हुने फैसला गरेको थियो।
यस विरुद्ध रेशम सहित सबै जनाले उच्च अदालत, दिपायलमा पुनरावेदन दिएका थिए। उनीहरूको निवेदनमाथि सुनुवाइ गर्दै २०७७ पुस २ गते उच्च अदालतले जिल्लाकै फैसला सदर गरेको थियो। त्यसपछि चौधरी सहित नौ जनाले २०७८ पुस २ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।