बागमतीमा भागबन्डा मिल्यो, कांग्रेसलाई थप तीन मन्त्रालय
बागमती प्रदेशमा मन्त्रालयको भागबन्डा मिलेको छ भने नेपाली कांग्रेसबाट सरकारमा सहभागी बहादुरसिंह लामालाई थप तीन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सत्तारूढ दलबीच मन्त्रालयको भागबन्डा नमिल्दा डेढ महीनासम्म प्रदेश सरकार विस्तार हुन सकेको छैन। नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी भएका थिए।
एमालेले सात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको थियो। सात मन्त्रालयमध्ये कांग्रेसले ६ र एकीकृत समाजवादीले दुई मन्त्रालय दाबी गरिरहेका थिए।
अहिले कांग्रेस र एकीकृत समाजवादीबीचमा सहमति जुटेको हो। प्रदेश सरकारमा कांग्रेसले पाँच र एकीकृत समाजवादीले दुई मन्त्रालय पाएका छन्।
कांग्रेस र एकीकृत समाजवादीबीच सहमति भएको र यस विषयमा बुधबार बिहान बस्ने सत्तारूढ दलको बैठकले निर्णय गर्ने एक सांसदले बताए। यससँगै मन्त्रिपरिषद् विस्तारबारे पनि निर्णय हुने भएको छ।
गत चैत २६ गते कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले अर्थ र तीर्थबहादुर लामाले खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका थिए। सहमति जुटेसँगै लामालाई थप तीन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सिफारिशमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई स्वास्थ्य मन्त्रालय, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन्। हाल उनी आर्थिक मामिला तथा योजना सम्हालिरहेका थिए।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले बजेट निर्माणको चटारोका कारण कांग्रेसलाई तीन मन्त्रालयको जिम्मेवारी दिइएको बताए। बागमतीमा ११ वटा मन्त्रालयमध्ये सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री सहित चार मन्त्रालय सम्हालिरहेको छ।
एकीकृत समाजवादीका सांसद कृष्णप्रसाद शर्मा खनालले दुई मन्त्रालय नपाएसम्म सरकारमा नजाने बताए। अहिलेसम्म भागबन्डा नमिल्दा एकीकृत समाजवादी सरकारमा सहभागी भएको छैन।
अहिले श्रम, रोजगार तथा यातायात मन्त्रालय र कृषि विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जम्कट्टेलले नै लिइरहेका छन्। दुवै मन्त्रालय एकीकृत समाजवादीलाई दिने सम्भावना रहेको जनाइएको छ।