संगीतकार विक्रम गुरुङ ‘पलेँटी' मा
सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’मा सहभागी हुन प्रसिद्ध संगीतकार विक्रम गुरुङ हङकङबाट काठमाडौं आइपुगेका छन् ।
अंग्रेजी महीनाको अन्तिम शुक्रबार मात्र हुने गरेको पलेँटी कार्यक्रम आजभाेलि अग्रेजी महीनाको अन्तिम शुक्रबार, शनिबार र आइतबार गरी तीन दिन सञ्चालन हुँदै आएको छ ।
साउन १० गते शुरु हुने विक्रम गुरुङसँगको पलेँटी ३ दिनसम्म चल्ने नेपालयले जनाएको छ ।
फेवातालको पश्चिम पहाडमा रहेको तामाङ गाउँमा जन्मिएका संगीतकार गुरुङका पिता भारतीय सेनामा भएका कारण उनको बाल्यकाल भारतको देहरादुनमा बित्यो ।
विक्रम किशोरावस्थामै बिना बाजागाजा गुनगुनाएर धून बुन्ने प्रयास गर्थे । आफ्ना शुरुका दिन सम्झदै भन्छन्, “मैले ट्युन गर्न पहिलो कोसिस गरेको त ‘फेरि उसैका लागि’ मा रहेका राजा महेन्द्रका शब्दहरूबाट हो, बिना गाजागाजा । त्यो संगीतप्रतिको मेरो रहरको जिज्ञासु चरण थियो ।”
वि.सं. २०३३\३४ सालपछि भने उनको सांगीतिक रुचिले नयाँ मोड लियो । त्यो नयाँ मोडमा पुर्याउने पात्र भने गायक अरुण थापा थिए । अरुणको स्वर त्यतिबेला मौलिक रचनामा प्रवेश भएकै थिएन ।
“अरूणकै निम्ति भनेर केही गीत तयार पनि गरेँ र काठमाडौंमै रेकर्ड गर्ने तयारी पनि भयो । म्युजिक ट्रयाक पनि बने तर अरूण हराइरहेको बेला थियो त्यो । अरूणको स्वास्थ्य खस्किसकेको बेला थियो । उनको मनले गाउन खोज्थ्यो तर शरीरले साथ दिन सकेन । ती ट्रयाकहरू त्यत्तिकै थन्किए”, विक्रमले अरूणका पछिल्ला क्षण सम्झिए ।
उनी रेडियो र फिल्ममा चलेका हिन्दी, नेपाली गीत गाउँथे । उनको गायकीको चर्चासँगै पोखरामा रहेका संगीत र साहित्य प्रेमीहरूको चहलपहल बढ्यो । त्यही चहलपहलबाटै पोखरेली युवा सांस्कृतिक परिवारको जन्म भयो ।
संगीतकार विक्रम त्यही विगतलाई सम्झँदै भन्छन्, “अरूणसँगको भेटपछि भने पोयुसाको जन्म भयो । विभिन्न कार्यक्रमहरू आयोजना हुन थाले । त्यसका निम्ति नेपाली गीत बनाउनु पर्छ भन्ने सोच आयो र मैले पनि अरुण सँगसँगै बसेर संगीत सृजना गर्ने जाँगर चलाएँ ।”
संगीतकार विक्रमले सृजना गरेका तीनवटा गीत मात्र अरुणले गाएका छन् । ती तीनवटै गीतले लोकप्रियता र बौद्धिक जमातको प्रशंसा दुवै बटुले ।
‘भुलूँ भलूँ लाग्यो मलाई’ ले त लोकप्रियताको उचाइ नै चुम्यो साथै ‘आँखाको निद खोसी लाने’ र ‘कतै टाढा तिमीबाट भुलेँ भनें’ ले पनि राम्रो प्रशंसा पाए ।
अरूण र विक्रमको सांगीतिक सहकार्यमा निकै ठूलो सम्भावना रहेको थियो तर त्यो सम्भावनालाई समयले साथ दिएन । उच्च शिक्षा हासिल गर्न विक्रम काठमाडौंतिर लागे ।
अरुण भने पोखरामै रहे । केही अन्तरालमा अरूण पनि काठमाडौं उपत्यका त आए तर पोखराको जस्तो सांगीतिक जमघट भने हुन सकेन । अध्यापन पेशामा प्रवेश गरेका विक्रमलाई त्यही पेशाले हङकङ पुर्यायो । संगीतबाट टाढा नभए पनि त्यसमै तल्लिन रहन पेशा र समयले साथ दिएन ।
“अरूणकै निम्ति भनेर केही गीत तयार पनि गरेँ र काठमाडौंमै रेकर्ड गर्ने तयारी पनि भयो । म्युजिक ट्रयाक पनि बने तर अरूण हराइरहेको बेला थियो त्यो । अरूणको स्वास्थ्य खस्किसकेको बेला थियो । उनको मनले गाउन खोज्थ्यो तर शरीरले साथ दिन सकेन । ती ट्रयाकहरू त्यत्तिकै थन्किए”, विक्रमले अरूणका पछिल्ला क्षण सम्झिए ।
“पलेँटीले शब्द लेख्ने र धून भर्नेहरूलाई प्रस्तुत गर्ने क्रममै मलाई पनि निम्त्याएको हो भन्ठान्छु । यो मञ्चले नेपाली आधुनिक संगीतको प्रतिष्ठा उठाउन गरेको अभियानमा जोडिन पाउनु खुशीको कुरा हो”, उनले भने । उनलाई महिला गायनतर्फ भने गायिका मीना निरौलाले साथ दिने छिन् ।
“पलेँटी मार्फत विक्रम दाइसँगको संगतलाई अझ परिमार्जित गर्न पाउनु एउटा छुट्टै सांगीतिक रचनाको अध्ययन गर्नु जस्तै हो । उहाँले संख्यामा थोरै गीत बनाए पनि तिनको मिठास र गुणले म सधैँ आकर्षित भएको छु ।” पलेँटी संयोजक आभासले भने ।
कार्यक्रमलाई पलेँटीको शुरुवातदेखि नै सञ्चालन गर्दै आएका संगीतकर्मी आभासले संगीतकार विक्रम गुरुङको सांगीतिक जीवनको सेरोफेरोमा रहेर अन्तर संवाद पनि गर्नेछन् ।
कालिकास्थानस्थित ‘आर’शालामा आयोजना हुने पलेँटीमा संगीतकार गुरुङलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गितारमा सुरज प्रधान, प्रकसनमा पारस, बाँसुरीमा बलराम समाल र बेस गितारमा अम्बर गुरुङ ‘पोखरेली’ले साथ दिनेछन् ।
जुलाई २६, २७ र २८ तारिखमा हुने पलेँटी कालिकास्थान स्थित नेपालयको साबिककै कार्यक्रमस्थल ‘आर’शालामा प्रस्तुत हुने जानकारी गराइएको छ ।