चैतमा बढेको घरजग्गा किनबेच वैशाखमा फेरि ओरालोतिर
अर्थतन्त्रमा देखिएको शिथिलताको छाया घरजग्गा क्षेत्रमा कायमै रहने सङ्केत देखिएको छ। चैतमा आशालाग्दो गरी बढेको घरजग्गा किनबेच वैशाखमा फेरि खस्किएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार वैशाखमा देशभरि ४२ हजार ४६१ वटा घरजग्गाको लिखत पास (किनबेच) भएको छ। गत चैतमा घरजग्गाको किनबेच ४९ हजार १५० पुगेपछि बजारले गति लिन लागेको अनुमान गरिएको थियो। तर, वैशाखमा कारोबार फेरि करीब १४ प्रतिशतले शिथिल हुन पुगेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले घरजग्गाको मन्दीको असर समग्र अर्थतन्त्रमा नै परेकाले यसलाई चलायमान बनाउने बताएका थिए। सरकारले वैशाखको पहिलो साता नै भू-उपयोग नियमावलीमा लचकता सहितको संशोधन गर्दै कित्ताकाट खुलाउने निर्णय गरेको थियो। यसले घरजग्गा लगानीकर्ताको मनोबल बढाउने अनुमान गरिए पनि बजारमा निराशा कायम रहेको देखिएको छ।
गत आर्थिक वर्षका तुलनामा यो वर्ष घरजग्गाको किनबेच झन्डै आधाले खस्किएको छ। विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७८/७९ को पहिलो १० महीना (साउन-वैशाख)मा देशभरि ६ लाख ४३ हजार ५८१ वटा घरजग्गा किनबेच भएका थिए। तर, यो वर्ष यही अवधिमा घरजग्गाको किनबेच तीन लाख ६३ हजार ७६८ वटा मात्रै छ। यसले घरजग्गाको कारोबार ४४ प्रतिशतले घटेको देखाउँछ।
घरजग्गाको बजारमा यो वर्ष गहिरो निराशा छाउनु पछाडि वित्तीय बजारमा देखिएको अप्ठ्यारो तथा नियामकको कडाइलाई कारण मानिएको छ। गत आर्थिक वर्षदेखि नै ब्यांक तथा वित्तीय संस्थाहरू लगानीयोग्य रकम अभावसँग जुध्दै आएका छन्। पछिल्ला महीनामा ब्यांकमा लगानीयोग्य रकम बढे पनि घरजग्गा क्षेत्रमा ऋणका रूपमा विस्तार हुन सकेको छैन।
अर्कातिर, नेपाल राष्ट्र ब्यांकले वित्तीय क्षेत्रको कर्जा प्रवाहलाई गहिरोसँग नियमन शुरू गरेको छ। खासगरी, चालू पूँजी कर्जाका नाममा ब्यांक तथा वित्तीय संस्थाबाट ऋण लिएर घरजग्गा जस्ता क्षेत्रमा जाने रकमलाई रोक्न केन्द्रीय ब्यांकले बाध्यकारी नीति बनाएपछि यो क्षेत्रमा प्रवाह हुने रकमको स्रोत सुक्न पुगेको छ।
व्यवसायीले चालू पूँजी कर्जाका रूपमा ऋण लिएर ठूलो रकम घरजग्गा क्षेत्रमा लगानी गरेको सार्वजनिक रूपमा स्वीकारेका छन्। यो क्षेत्रमा कारोबार शिथिल हुँदा त्यस्तो लगानी गरिएको घरजग्गा बिक्री भएर बजार चलायमान हुने प्रक्रिया रोकिएको छ। जसका कारण घरजग्गाको मूल्य नै ओरालो लाग्न पुगेको हो।
अहिले ब्यांक तथा वित्तीय संस्थामा ऋणको सावाँ-ब्याज तिर्नुपर्ने चापमा परेका व्यवसायीले मूल्य घटाएर घरजग्गा बिक्रीमा चढाएका छन्। तैपनि, माग नै खस्किएका कारण घरजग्गाको बिक्री नभइरहेको तथ्याङ्कले देखाएको छ।
घरजग्गाको कारोबारको केन्द्र काठमाडौंमा नै किनबेच शिथिल छ। वैशाखमा काठमाडौंका नौ वटा मालपोत कार्यालयबाट जम्मा तीन हजार ६८३ वटा घरजग्गा कारोबार भएको छ। चैतमा यी कार्यालयबाट चार हजार ६१८ वटा घरजग्गा कारोबार भएको थियो।
यसले एक महीनाकै अवधिमा कारोबार करीब २१ प्रतिशतले घटेको देखाउँछ। गत वर्षको वैशाखमा काठमाडौं उपत्यकामा ६ हजार १०९ वटा घरजग्गा किनबेच भएका थिए। यसले उपत्यकामा घरजग्गा कारोबार करीब ४० प्रतिशत घटेको देखाउँछ।