पाटनढोकादेखि जोरपाटीसम्म बिजुली बस सरर (तस्वीरहरू)
साझा यातायातले पाटनढोकादेखि जोरपाटीसम्म बिजुली बस सञ्चालन गरेको छ।
सोमबार एक कार्यक्रमबीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बस सेवाको उद्घाटन गरेका छन्। पाटनढोकादेखि रत्नपार्क हुँदै गौशालाबाट बौद्ध पुगेर जोरपाटीसम्म साझाका बिजुली बस चल्नेछन्। यो रुटका लागि १५ वटा बिजुली बसको व्यवस्था गरिएको छ।
यो रुटमा बस सेवा बन्द भएको थियो। जसले गर्दा धेरै नगरवासीले सेवा सञ्चालन गर्न आग्रह गरेको मेयर महर्जनले सुनाए। “पाटनढोकाको रूट सार्वजनिक यातायातको ऐतिहासिक रूट पनि हो,” महर्जनले भने, “आज यो रूटमा बस सेवा शुरू गरेकोमा साझालाई धन्यवाद छ।”
उनले साझासँग सहकार्य गरेर महानगरले भित्री शहरका लागि पनि साना–साना बसको सेवा शुरू गर्ने काम अघि बढाएको बताए। “त्यो कामका लागि हामीले साझालाई नौ करोड उपलब्ध गराएका छौं,” महर्जनले भने, “साझाका बिजुली बसलाई चार्जिङ स्टेशन बनाउन केकसो सहकार्य गर्नुपर्ने हो सो गर्न महानगरपालिका तयार छ।”
साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले जनस्वास्थ्य, वातावरण र अर्थतन्त्रमा बिजुली बसको सकारात्मक योगदान हुने भएकाले बिजुली परिवहन अपरिहार्य भएको बताए। बिजुली बसमा लाग्ने ब्याट्री महँगो भएकाले अहिले नै निजी क्षेत्रलाई हात हाल्न गाह्रो भएको सुनाउँदै सरकारको सहयोगमा साझाले सेवा विस्तार गर्दै लग्ने योजना रहेको दीक्षितले बताए। उनले चार्जिङ स्टेशनका लागि डिपो उपलब्ध गराउन सरकारलाई आग्रह गरे।
काठमाडौं उपत्यकामा भक्तपुरको सल्लाघारी, ललितपुरको खुमलटार र पुल्चोकको सहकारी विकास बोर्डको प्राङ्गण, काठमाडौंको गुर्जुधारा, मीनभवनमा रहेको ट्रलीबस डिपो लगायत ठाउँलाई चार्जिङ स्टेशनको सम्भाव्य स्थान तोकिए पनि काम अघि बढ्न सकेको छैन।
अहिले साझासँग चीनबाट ल्याइएका ४० वटा बिजुली बस छन्। तीन वटा बिजुली बसको सफल परीक्षणपछि थप ३७ वटा बस ल्याएका हुन्।