हिमाल खबरपत्रिकाकाे विश्राम
अर्थ-राजनीति प्रधान हिमाल खबरपत्रिका आगामी असारदेखि प्रकाशन नहुने भएको छ।
‘कोही किन धनी-गरीब?’ शीर्षकको आवरण रहेको जेठ अङ्कसँगै खबरपत्रिका प्रकाशन नहुने हिमालमिडिया प्रालिले जनाएको छ। हिमालका प्रकाशक कनकमणि दीक्षितले प्रकाशकीय नोटमा भनेका छन्, “पाठकलाई दुःखद सूचना दिनुपर्ने भएको छ, यसै २०८० जेठ अङ्कबाट हिमाल खबरपत्रिकाले विश्राम लिनेछ।”
प्रकाशन विश्रामको निर्णयले पाठक, ग्राहक, विज्ञापनदाता तथा शुभेच्छुकमा पर्ने असुविधाप्रति क्षमा माग्दै प्रकाशकले हिमाल प्रकाशनमा जोडिएका सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। प्रकाशक दीक्षितले भनेका छन्, “मासिक हिमालको नेतृत्व गरेका रविन गिरी सहित खबरपत्रिका टीम तथा हाम्रो पानालाई आफ्नो ठानिदिनुभएका सबै लेखक, विचार निर्माणकर्तालाई मनैदेखि धन्यवाद।”
हिमालखबर डटकम भने यथावत् रहने प्रकाशकीयमा उल्लेख छ।
आजदेखि बजारमा आएको जेठ अङ्कको प्रकाशकीय:
हिमालको विश्राम
हिमाल खबरपत्रिकाले गत २५ वर्षमा धेरै अवतार बदलेको छ। पाक्षिक, साप्ताहिक हुँदै पछिल्लो समय यो मासिक स्वरूपमा अवतरित भयो। यस अवधिमा सम्पादक, संवाददाता तथा स्तम्भकारले बदलिंदो राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक विषयमा निरन्तर निगरानी र टिप्पणी गर्दै आएका हुन्।
छापा साप्ताहिक प्रकाशन भइरहँदा कोभिडकालमा खबरपत्रिका स्थगन हुन पुगेको थियो भने २०७८ भदौमा उत्साहका साथ मासिक स्वरूपमा पुनर्मुद्रण थालेका थियौं। यसबीच पूरै उलटपुलट भएको ‘मिडिया अर्थतन्त्र’ माझ हिमालको पुरानै समाज-समर्पणका साथ रविन गिरीले आजसम्म २२ अङ्कको प्रभावशाली सम्पादकीय नेतृत्व गर्नुभयो।
नचाहेरै पनि पाठकलाई दुःखद सूचना दिनुपर्ने भएको छ, यसै २०८० जेठ अङ्कबाट हिमाल खबरपत्रिकाले विश्राम लिनेछ, र मिडिया बजार तथा पाठकका चासो र रुचिको समीक्षा गरी फेरि कुनै न कुनै रूपमा कुनै वेला पाठकको हातमा आउने नै छ। हिमालखबर डटकमको काम सम्पादक सन्त गाहा मगरको नेतृत्वमा यथावत् रहनेछ।
मासिक हिमाललाई यहाँसम्म ल्याउनुहुने रविन गिरी सहित खबरपत्रिका टीम तथा हाम्रो पानालाई आफ्नो ठानिदिनुभएका सबै लेखक, विचार निर्माणकर्तालाई मनैदेखि धन्यवाद!
प्रकाशन विश्रामको यस निर्णयले पाठक, ग्राहक, विज्ञापनदाता तथा शुभेच्छुकमा पर्ने असुविधाप्रति क्षमा माग्दछौं। नियमित ग्राहक महानुभाव वा अन्य पाठकको जिज्ञासा भए [email protected] मा इमेल वा फोन नं. ०१-५००५६०१/५९०९५१८ मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु।
कनकमणि दीक्षित
प्रकाशक