अपी आधारशिविरको यात्रा
अपी आधारशिविरको पदयात्रालाई मात्रै पनि निरन्तरता दिन सकियो भने दार्चुलासँगै सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा टेवा पुग्नेछ।
दार्चुला सदरमुकामबाट झन्डै २८ कोस उत्तरमा रहेको अपी हिमाल गाउँपालिकाले वैशाख दोस्रो साता ‘अपी भ्रमण सप्ताह’ मनायो। सुदूरपश्चिम प्रदेशको सबभन्दा अग्लो अर्थात् सात हजार १३२ मिटरको अपीको आधारशिविरसम्म पदयात्रा गर्न भ्रमण सप्ताह आयोजना गरिएको थियो।
यसको मुख्य उद्देश्य अपी हिमाल आरोहणका लागि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन प्रचारप्रसार गर्नु नै थियो। वैैशाख १४, १६ र १८ मा गरी तीन वटा टोली अपी आधारशिविर पुगे। पहिलो टोलीमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा जिल्लाका सुरक्षा निकाय प्रमुख तथा गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे, दोस्रो टोलीमा अपी हिमाल गाउँपालिका शिक्षा शाखा संयोजक मदनराज जोशीको संयोजकत्वमा बैतडी, डडेल्धुराका आन्तरिक पर्यटक र तेस्रो टोलीमा गाउँपालिका विपद् व्यवस्थापन संयोजक विसन बुढाथोकीको संयोजकत्वमा दार्चुला बैतडीका सञ्चारकर्मी लगायत आधारशिविर पुगेका थिए। तीनै टोलीमा गरी अढाई सय जनाले आधारशिविरको भ्रमण गरे।
म तेस्रो टोलीमा थिएँ, जसमा ५२ जना थियौं। तर, यही वेला मौसम प्रतिकूल बन्यो। मौसमलाई चुनौती दिंदै वैशाख १७ मा सदरमुकाम खलंगाबाट हिंड्यौं।
बिहान ७ बजे खलंगाबाट गाडीमा हुइँकिएका हामी दिउँसो ३ बजे अपी हिमाल गाउँपालिकाको मकरीगाड पुग्यौं। गाडीको यात्रा मकरीगाडसम्म मात्रै गर्न पाइन्छ। त्यहाँ नाम दर्ता गरेपछि पैदल यात्रा शुरू भयो, अपी आधारशिविरका लागि।
मकरीगाडबाट नौपाटा होमस्टे पुग्ने गरी अगाडि बढ्यौं। मकरीकोटका झन्डै आठ हजार सिंढी उक्लिएर राति साढे ८ बजे अपी हिमाल गाउँपालिका-४ स्थित नौपाटा होमस्टेमा पुग्यौं।
नौपाटामा रहेको खडक ठेकरेको होमस्टेमा पहिलो दिनको बसाइ भयो। दिनभरको थकाइ र पानी परेकाले चिसो बढेपछि न्यायो ओछ्यान पाउने बित्तिक्कै निद्रा त लागिहाल्यो। बिहान ओेछ्यानमै स्थानीय जडीबुटी (गानन) राखेको चियाले ‘फ्रेस’ गरायो। बिहान ८ बजे नौपाटा सामुदायिक भवनमा पुग्दा होमस्टे सञ्चालक रुक्मा ठेकरेले मार्सीको रोटी तयार पारिसक्नुभएको थियो।
राजेन्द्र धामी र मोहन साहुसँगै खाजा खाएर अगाडिको यात्राको तयारीमा जुट्यौं। हाम्रो टोलीका दुई जना नरेन्द्रसिंह कार्की र लोकेन्द्रप्रसाद जोशी मकरीगाडमै वास बसेका थिए। बिहान पनि आकाश खुल्ने सम्भावना थिएन। घरी पानी पर्ने र घरी आकाश खुल्ने क्रम चलिरहेको थियो।
वैशाख १९ मा टीम व्यवस्थापक विसनसिंह बुढाथोकीका नेतृत्वमा नौपाटाबाट ओरालो झर्यौं। धनबोहरा पुगेपछि चौलानी नदी तर्नुपर्छ। त्यहाँबाट तीन-चार घन्टा उकालो चढ्नुपर्छ। आधारशिविरबाट फर्किएको पहिलो टोलीसँग घुसा स्वास्थ्य चौकीमा भेट भयो। अपीतिर हिमपात धेरै भएको, पानी परेर बाटो पनि हिलाम्य भएको खबरले निराश बनायो। सिमसिम पानी परिरहेको थिया, तैपनि अगाडि बढ्यौं।
दिउँसोको खाना घुसामा खाएर बेलुकी सिती होमस्टेमा पुग्नुपर्ने थियो। स्थानीय बासिन्दाका लागि घुसादेखि सिती अढाई घन्टाको यात्रा हो। तर, हाम्रा लागि त्यो सम्भव थिएन। घुसाबाट नाली हुँदै सिती गाउँ देखिने सेल्फीडाडाँसम्म पुग्यौं। मौसम खुल्दै गयो। त्यही जोशले पनि होला, यात्रालाई बल लियो। जेनतेन बेलुकी ६ बजे सिती होमस्टेमा पुग्यौं।
स्थानीय बासिन्दाले भव्य स्वागत गरे। देउडा गीत गाउँदै, दमाहा बजाउँदै रमाइरहेका थिए।
त्यस दिनको वास सिती होमस्टेमा शान्ति जागरीको घरमा भयो। दिनभरको थकाइले होला, केही बेरमै निद्राले छोपिहाल्यो।
वैशाख २० गते बिहान ७ बजे नै सिती होमस्टेबाट निस्क्यौं। खायकोटमा पनि स्थानीय बासिन्दा स्वागतका लागि तयार थिए। आमा समूहले अबीर र फूलमाला लगाइदियो। केही बेरको गफगाफपछि धौली ओडारका लागि अगाडि बढ्यौं।
खायकोट अन्तिम बस्ती हो। त्यहाँबाट जङ्गल शुरू हुन्छ।
चौलानीको किनारैकिनार निर्माणाधीन अपी आधारशिविरसम्म पुग्ने पदमार्गमा कहिले उकालो, कहिले झाडी र कहिले छहारी हुँदै दिउँसो ५२ जना सिमार पुग्यौं।
सिमारमा रहेको देवसिंह जागरीको होटेलमा खानाको प्रबन्ध थियो। हिमपातका कारण दुई दर्जन भेडा मरेका थिए। त्यसैको मासु थियो। हिंडाइले थाकेका प्रायः सबैले स्वाद मानेर मासु खाए।
त्यसपछि धौली ओडारका लागि हिंड्यौं। दुई-तीन घन्टाको यात्रा हो, तर थकाइ र चिसोले होला दोब्बर समय लाग्यो।
रोखापु र अपीको आधारशिविर जाने दोभानबाट अगाडि लागेपछि फेरि मौसम प्रतिकूल बन्यो। हिमपात शुरू भयो।
जब भभई दह (धौली ओडारको नजिक) पुग्यौं, हिउँले बाटो नै ढाकिएको थियो। तैपनि हिमपातसँगै अघि बढ्यौं।
अबेर साँझ धौली ओडार पुग्यौं। त्यहाँबाट अपी आधारशिविर पुग्न आधा घण्टा हिंड्नुपर्छ। धौली ओडारमा रहेको प्रेम जागरीको होटलमा वास भयो। मौसम खुलोस् भन्ने कामना गर्दै ओछ्यानमा पल्टियौं।
नभन्दै वैशाख २१ बिहानको आकाश सफा थियो। त्यहींबाट अपी हिमाल अवलोकन गर्यौं। नजिकैबाट अपी अवलोकन गरेको पहिलो अवसर थियो।
केही बेरको हिंडाइपछि बिहान १० बजे अपी आधारशिविर पुग्यौं। हिउँ खेल्दै, फोटो खिच्दै रमायौं।
आधारशिविरबाट अपीसँगै देखिने हिमशृङ्खलाको दृश्य मनोरम थियो। बाक्लो हिमपातका कारण चिसो बढेको थियो। अझ वेलावेला हिमपहिरो खसेको आँखै अगाडि देख्दा अर्कै संसारमा पुगेको अनुभूति हुँदो रहेछ।
केही दिनको हिंडाइ, वर्षा र हिमपातसँग पौंठेजोरी खेल्दै आधारशिविर पुगेका थियौं। त्यहाँ पुगेपछि भने थकाइ आफैं हरायो। मन प्रफुल्ल भयो। ज्यानमा ऊर्जा भरिएको महसूस भयो। मन त त्यही बसिराख्ने थियो, तैपनि साँझ फेरि तल धौली ओडारतिर झर्यौं, अपी आधारशिविरसँग बिदा लिंदै।
फर्किंदा भने मनमा केही कुरा खेलिरहे। जस्तो- आधारशिविरसम्म पुग्ने निर्माणाधीन पदमार्गको काम तीव्र गतिमा भइदिए हुन्थ्यो। पदमार्गमा जानकारीमूलक सूचनासँगै शौचालय र खानेपानीको व्यवस्था गर्न सके सजिलो हुन्थ्यो। यससँगै अपी आरोहण सञ्चालन हुन सक्यो भने दार्चुलासँगै सुदूरपश्चिमकै पर्यटन तथा आर्थिक विकासमा टेवा पुग्थ्यो।