पूर्व गृहमन्त्रीका छोरा र पूर्व सांसद विरुद्ध पक्राउ पुर्जी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्रीका छोरा र पूर्व सांसद विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले पूर्व सांसद आङ्टावा शेर्पा र प्रतीक थापालाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिएको छ। प्रतीक पूर्व गृहमन्त्री एवं नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापाका छोरा हुन्।
प्रहरीले यसअघि थापा गृहमन्त्री हुँदा सल्लाहकार रहेका इन्द्रजित राई पक्राउ गरेको थियो। राईले अनुसन्धानका क्रममा प्रतीकको पनि नाम लिएका थिए। त्यति वेला प्रतीकले विज्ञप्ति जारी गरेर आफ्नो संलग्नता नरहेको जिकिर गरेका थिए।
अहिले अनुसन्धानका क्रममा प्रतीकको पनि संलग्नता देखिएपछि पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।
त्यस्तै, प्रहरीले पूर्व सांसद शेर्पाको पनि संलग्नता देखिएको जनाएको छ। उनी नेपाली कांग्रेसका नेता हुन्।
शेर्पाले अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुलेको पाइएको प्रहरीको भनाइ छ। उनले थुनामा रहेका सानु भण्डारीलाई केही दिनअघि भेटेका थिए। जसले गर्दा प्रहरीले उनीमाथि पनि अनुसन्धान थालेको थियो।
अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई लगायत १२ जना पक्राउ परिसकेका छन्।
त्यस्तै, यो प्रकरणमा मुछिएका पूर्व मन्त्री एवं नेकपा (एमाले) सचिव टोपबहादुर रायमाझी र इन्द्रजितका छोरा निरज राई फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
गृह मन्त्रालयले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउने भन्दै कार्यदल बनाएको थियो। कार्यदलले भुटानी शरणार्थीको अभिलेख राख्न सूची पनि बटुलेको थियो।
यही प्रतिवेदनमा गिरोहले ‘दर्ता छूट’ सूची भन्दै अनधिकृत नाम थपेर मानव तस्करी गरेर अमेरिका पुर्याउन खोजेको हो। जसमा नक्कली भुटानी शरणार्थी बनाएर ८७५ जनालाई अमेरिका उडाउने गरी सरकारी कागजातमा नाम थपेको पाइएको छ।
यसका लागि प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रुपैयाँसम्म असुलिएको उजुरी प्रहरीमा छ। गृह मन्त्रालयले बनाएको कार्यदलको उद्देश्य नै नक्कली भुटानी शरणार्थी खडा गरेर विदेश लैजाने देखिएको भन्दै प्रहरीले कार्यदलका सदस्यमाथि पनि अनुसन्धान गरिरहेको छ। (रासस)