भण्डारीले ल्याए ‘नेपाली युद्धसाहित्य’
साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति नेपाली युद्धसाहित्य सार्वजनिक भएको छ।
मार्क्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य, निनु चापागाईं, समालोचकद्वय डा. अमर गिरी र डा. बिन्दु शर्माले पुस्तक विमोचन गरेका छन्। कार्यक्रममा बोल्दै मार्क्सवादी सौन्दर्यचिन्तक वैद्यले शान्ति र बुद्धको देश भन्दै आएकोमा अहिलेसम्म युद्धमाथि लेखिएको साहित्यलाई एकै ठाउँ राखेर अध्ययन गर्दा नेपाल युद्धमय रहेको देखिने तर्क गरे। भण्डारीको नेपाली युद्धसाहित्य पुस्तकमा युद्ध र द्वन्द्वसाहित्यलाई नयाँ तरीकाले प्रस्तुत गरिएकाले पठनीय रहेको बताए।
त्यस्तै, चापागाईंले अहिलेसम्म नेपाली युद्धसाहित्यमाथि कमै लेखिएको उल्लेख गर्दै यस कृतिले त्यसको पूर्ति गर्ने बताए। डा. गिरीले यो कृतिले नेपाली युद्धसाहित्यको मोटामोटी चित्र प्रस्तुत गरेको टिप्पणी गरे।
डा. बिन्दुले नेपाली समालोचकहरूले युद्धसाहित्य र द्वन्द्वसाहित्यलाई एउटै भन्दै आएकोमा यो कृतिले युद्धसाहित्य र द्वन्द्वसाहित्यलाई अलग गरेर विवेचना गरेको बताइन्।
भण्डारीले यस कृतिमा नेपालमा १४५० सालदेखि हालसम्म भएका युद्धमाथि लेखिएको साहित्यको ऐतिहासिक विवेचना गरेका छन्। नेपाली युद्धसाहित्यमाथि अध्ययन नभएको देखेर यसमाथि काम गर्ने हुटहुटी जोगेको बताए। जसले गर्दा यो कृति तयार भएको उनको भनाइ थियो।
भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको पुस्तकको मूल्य ७०० रुपैयाँ रहेको छ।