घरको भित्तैभरि मौरीको घार
हलेसी तुवाचुङ नगरपालिकाका अमृतसिं राईको घरको भित्तैभरि लहरै मौरीका घार राखिएका छन्। उनले २२ वटा परम्परागत घरमा मौरी पाल्दै आएका छन्।
घर बाहिरको चारै भित्तामा लहरै मौरीको घार राखिएका छन्। घारका मौरी हेरचाहमा खटिरहेका हुन्छन् खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडा मोलिबासका अमृतसिं राई। उनले परम्परागत घारमा स्थानीय एपिस सेराना जातको मौरी पालेका छन्।
मौरी पाल्ने शोखले उनले सानैमा धोद्रो परेको रूखो ठुटालाई मौरीको घार बनाएका थिए। कालान्तरमा त्यही रहरले उनलाई मौरीपालक किसानको परिचय दिएको छ। २४ वर्षदेखि मौरी पालन गर्दै आएका अमृतको आम्दानीको स्रोत मह भएको छ।
उनको घर र आसपासमा २२ वटा घारमा मौरी छन्। ४५ वटा घार अझै खाली छ। पछिल्लो समय बारीमा कंक्रिट पिलर ठड्याएर मौरीको मुढे घार राख्न थालेका छन्। एउटा घारमा वार्षिक सरदर पाँचदेखि सात किलो मह उत्पादन हुने अमृत बताउँछन्। “मौरी मान्छेलाई टेवा पुर्याउने खालको कीरा रहेछ,” अमृत भन्छन्, “समय र घामपानीले साथ दिए एउटै घारबाट पाँच-सात किलो मह निस्कन्छ। एक सिजनमा कम्तीमा ५०–६० हजार रुपैयाँ हात पर्छ।”
घरैबाट प्रतिकिलो एक हजार २०० र प्रतिबोतल एक हजार ५०० रुपैयाँमा मह बिक्री गर्दै आएका छन्। मह बिक्रीबाट वार्षिक एक लाख २० हजार रुपैयाँ आम्दानी हुने गरेको उनको भनाइ छ। जङ्गलमा चिउरी, ढुर्सी, रुबिला जस्ता रूखबिरुवा फुलेको याममा मह धेरै लाग्ने गरेको छ।
उनी जङ्गलमा २०-२५ वटा रित्तो घार राख्छन्। ठूलठूला रूखको फेदमा, पानी र डढेलोले नभेट्ने ओडारमा राखिएको रित्तो घारमा मौरी बसेपछि घर ल्याउने गरेको अमृत बताउँछन्। घारमा मौरी आएर बसे/नबसेको हेर्न प्रत्येक साता त्यहाँ जाने गरेका छन्। घरमा रहेको घारमा प्रत्येक साँझ मौरीको घार चहारेर माउसुली र माकुरा धपाउँछन्। दिनमा रातो अरिङ्गाल र बछ्युँले पनि मौरीलाई आक्रमण गर्ने गरेको अमृत बताउँछन्।
घारका लागि टुनी, सेतो खिर्रो, चिउरी, बोटधयाँरो, गिदेरी लगायत रूख उपयुक्त मानिन्छन्। विशेषगरी दूध निस्कने र फूल फुल्ने प्रजातिको रूखको घार मौरीले बस्न रुचाउने गरेको अमृत बताउँछन्। घारमा राखिएको मौरी १०-१५ वर्षसम्म बस्ने गरेको छ। कतिपय मौरी दुई-तीन वर्ष मात्र बस्ने गरेको उनको अनुभव छ।
मौरीका आधुनिक घार भए पनि उनले परम्परागत घार त्याग्न सकेका छैनन्। आधुनिक घारका मौरीलाई चास्नी दिनुपर्ने र चास्नी खाएको मौरीको मह शुद्ध नहुने भएकाले परम्परागत शैलीमा नै मौरीपालन गरेको अमृत बताउँछन्। आधुनिक घारको फ्रेममा माउसुली, माकुरा जस्ता शिकारी कीरा बस्ने उनी बताउँछन्।