कोशी नाम उचित छ, विरोधको औचित्य छैन: एमाले
नेकपा (एमाले) ले प्रदेशको नाम कोशी राखेको भन्दै तत्कालीन १ नम्बर प्रदेश सभालाई बधाई दिएको छ।
कोशी नामकरणको विरोध भइरहेका वेला एमालेले यसबारे आफ्नो धारणा सार्वजनिक गरेको हो। ललितपुरमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट पारित विशेष प्रस्तावमा भनिएको छ, “यस प्रदेशलाई बहुपहिचान झल्किने गरी कोशी प्रदेश नामकरण गरिनु उचित र स्वाभाविक हो भन्ने पार्टीको मान्यता रहेको छ।”
वैधानिक सभाले वैधानिक र लोकतान्त्रिक विधिबाट गरेको नामकरणको विरोधका क्रममा जातीय सद्भाव खल्बल्याउने, साम्प्रदायिक विद्वेष फैलाउने, समाजमा अराजकता फैलाउने काम भएको एमालेको दाबी छ। “प्रदेश सभाको ९० प्रतिशतभन्दा बढी सदस्यहरूको सहभागिता र लामो छलफलपश्चात् भएको यस नामकरणको विरोधको कुनै औचित्य देखिँदैन,” एमालेको प्रस्तावमा भनिएको छ।
धमिलो पानीमा माछा मार्न खोज्नेहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि झापा, इलाम, पाँचथर र तेह्रथुममा साङ्घातिक आक्रमणको प्रयास गरेको एमालेको ठहर छ।
एमालेले भनेको छ, “मुलुकमा मुठभेड निम्त्याउने, राजनीतिक दलहरूबीच द्वन्द्व सिर्जना गर्ने, सामाजिक सद्भाव बिथोल्ने, एमाले पङ्क्तिको मनोबल कमजोर बनाउने र अस्थिरता सिर्जना गरी धमिलो पानीमा माछा मार्ने प्रयासस्वरुप हाम्रा अध्यक्षमाथि भएको यस प्रकारको आपत्तिजनक, अराजनीतिक र आपराधिक दुष्प्रयासको यो बैठक घोर निन्दा तथा भत्सर्ना गर्दछ।”