‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ सार्वजनिक
कवि देवव्रतको कविता संग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ शनिबार सार्वजनिक भएको छ।
काठमाडौंको सर्वनाम थिएटरमा कवि श्रवण मुकारुङ, निबन्धकार दीपक सापकोटा र लेखक वन्दना ढकालले कविताकृति विमोचन गरे। कार्यक्रममा बोल्दै कवि मुकारुङले देवव्रतको कवितामा लयविधान भएको बताए।
पछिल्लो पुस्तामा नयाँ शैली लेख्ने कविहरू आएको र त्यसमा देवव्रत पनि रहेको उनले बताए। “यो संग्रहमा मैले असाध्यै ‘इन्जोय’ गरेका कविता छन्। कतिपय कविता पढ्दा इर्श्या पनि लाग्यो,” उनले भने।
निबन्धकार सापकोटाले देवव्रतका कविता आज र भोलि जस्तै बिलाइजाने पानीको थोपा जस्ता नभएको बताए। “देवव्रतका कवितामा उसको उपस्थिति टाढाबाट देखिने गुलमोहर जस्तो छ,” सापकोटाले भने।
लेखक ढकालले देवव्रतका कविताले अहिलेको चरम उपभोक्तावादी समय बोलेको बताइन्। “कविताले मृत्यु बोलेका छन्। आत्महत्या बोलेका छन्। चरम उपभोक्तावादी समय पनि बोलेको छ। कर्णालीमा भएको अभाव बोलेको छ,” ढकालले भनिन्, “देवव्रतको कविताले भविष्यमा हस्तक्षेपकारी भूमिका खेल्नेछन्।”
कविता संग्रहलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो। पुस्तकको मूल्य २९९ रुपैयाँ रहेको छ।