कर्नाटकमा कांग्रेस बहुमततिर
भारतको कर्नाटक राज्यमा भारतीय राष्ट्रिय कांग्रेस पार्टी बहुमत प्राप्त गर्ने देखिएको छ।
शनिबार मध्याह्नसम्मको मतगणनामा कांग्रेस अगाडि रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। अनलाईन समाचार पोर्टल दैनिक भाष्करका अनुसार २२४ सदस्यीय कर्नाटकको विधानसभामा कांग्रेस ११९ सीटमा अगाडि छ। सन् २०१८ मा पाएको सीटभन्दा ३९ सीटले अगाडि रहेको छ। बहुमतका लागि ११३ सीट आवश्यक पर्छ।
त्यस्तै, भारतीय जनता पार्टी (भाजपा) ७५ सीटमा अगाडि छ। जबकि, सन् गत निर्वाचनमा १०४ सीट जितेको थियो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अगाडि सारेर चुनावमा होमिएको भाजपाले सत्ता गुमाउने देखिएको छ।
यसैगरी, क्षेत्रीय दल जनता दलले २३ सीटमा मात्रै अग्रता लिइरहेको छ। गत निर्वाचनमा भने ३७ सीट जितेको थियो।
बहुमततिर अग्रसर भएपछि कांग्रेसले आफ्ना सबै विधायकलाई बेंगलोर बोलाएको छ। बेंगलोर कर्नाटक राज्यको राजधानी हो।
कर्नाटकमा पछिल्लो ३८ वर्षमा कुनै पनि पार्टीले लगातार जित हासिल गर्न सकेको छैन। सन् १९८५ मा रामकृष्ण हेगडे नेतृत्वको जनता पार्टीले चुनाव जितेको थियो। त्यसपछि हरेक चुनावमा सत्तामा रहेको पार्टीले बहुमत प्राप्त गर्न सकेको छैन।