गण्डकी सरकारले पायो पूर्णता, कसलाई कुन मन्त्रालय?
गण्डकी प्रदेश सरकारमा चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीले शपथ लिएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथ खुवाएका छन्।
यससँगै गण्डकीमा सात सदस्यीय मन्त्रिपरिषद् बनेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसअघि दुई मन्त्री नियुक्त गरेका थिए।
शुक्रबार कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जीसी, बागलुङका दिपेन्द्रबहादुर थापा र तनहुँका जीतप्रकाश आले मगर तथा नेकपा (माओवादी केन्द्र) बाट रेशमबहादुर जुग्जाली मन्त्री बनेका हुन्। जीसीलाई कृषि तथा भूमि व्यवस्था, थापालाई उद्योग, पर्यटन, वन तथा वातावरण, आले मगरलाई आर्थिक मामिला र जुग्जालीलाई भौतिक पूर्वाधार विकास तथा यातायात्र व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यसअघि वैशाख १५ मा नियुक्त भएका दुई मन्त्रीले पनि जिम्मेवारी पाएका छन्। सुशिला सिम्खडालाई सामाजिक विकास तथा स्वास्थ्य र सरस्वती अर्याललाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
गठबन्धन सरकारमा नेकपा (एकीकृत समाजवादी) बाट सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने चर्चा थियो। गठबन्धनका नेताहरूले केन्द्रबाट दबाब दिए पनि मुख्यमन्त्री पाण्डेले मनाङेलाई मन्त्री बनाउन चाहेनन्। अन्तिम समयमा आएर मनाङेको नाम हटाएर तनहुँका आले मगरलाई मन्त्री बनाए।
वैशाख ९ गते नेकपा (एमाले) का खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट वैशाख १४ मा पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए। कांग्रेसमा मन्त्रीको आकांक्षी धेरै भएपछि मन्त्रालय भागबण्डामा सहमति जुट्न सकेको थिएन।