मनाङेको सट्टा जीतप्रकाश मन्त्री नियुक्त
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम समयमा आएर नेकपा (एकीकृत समाजवादी) का सांसद राजीव गुरुङ (दीपक मनाङे)को सट्टा नेपाली कांग्रेसका सांसद जीतप्रकाश आले मगरलाई मन्त्री नियुक्त गरेका छन्।
शुक्रबार दिउसो मुख्यमन्त्री पाण्डेले शपथ ग्रहणको तयारीका लागि तीन जना मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाएका थिए। एक जनाको ठाउँ बाँकी थियो। त्यसमा एकीकृत समाजवादीका गुरुङलाई मन्त्री बनाउन गठबन्धनमा रहेका दलका नेताहरूले दबाब दिइरहेका थिए।
उनले त्यसलाई बेवास्ता गर्दै आले मगरलाई मन्त्री नियुक्त गरेका हुन्। “मलाई मन्त्री नियुक्त गरिएको छ। केहीबेरमा शपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा बोलाइएको छ,” आले मगरले हिमालखबरसँग भने।
गत मंसीर ४ मा भएको प्रदेश सभा निर्वाचनमा उनी तनहुँ २ ‘ख’बाट का प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। ६० वर्षीय आले मगर कांग्रेसका जिल्ला सभापति पनि हुन्।
उनीसँगै चार जना मन्त्रीले आजै शपथ लिने तयारी गरिएको छ। कांग्रेसबाटै नवलपुरका महेन्द्रध्वज जिसी र बागलुङका दिपेन्द्रबहादुर थापा तथा नेकपा (माओवादी केन्द्र) बाट रेशमबहादुर जुग्जालीले मन्त्रीको शपथ लिने तयारी गरेका छन्।
नवलपुरका महेन्द्रध्वज संविधान सभा सदस्य भइसकेका हुन् भने बागलुङका थापा पूर्व जिल्ला सभापति हुन्। जुग्जाली यसअघि खगराज अधिकारी नेतृत्वको सरकारमा पर्यटनमन्त्री थिए।
गत वैशाख ९ गते खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि वैशाख १४ मा पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसको भोलिपल्ट मुख्यमन्त्री पाण्डेले कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई मन्त्री नियुक्त गरेका थिए।