गण्डकी सरकार विस्तार
मुख्यमन्त्री नियुक्त भएको दुई सातापछि गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ।
सुरेन्द्रराज पाण्डेको नेतृत्वमा रहेको प्रदेश सरकारमा शुक्रबार नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट मन्त्री नियुक्त भएका छन्। कांग्रेसबाट दुई र माओवादीबाट एक मन्त्री थपिएका छन्। नेकपा (एकीकृत समाजवादी)बाट पनि एक मन्त्री थप्ने तयारी छ।
कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जीसी र बागलुङका दिपेन्द्रबहादुर थापा मन्त्री बनेका छन्। त्यस्तै, माओवादीबाट रेशमबहादुर जुग्जाली मन्त्री नियुक्त भएका छन्। उनीहरूलाई आजै अपराह्न ४ बजे शपथ गराउने तयारी छ।
नवलपुरका जीसी यसअघि संविधान सभा सदस्य थिए भने भने बागलुङका थापा पूर्व जिल्ला सभापति हुन्। त्यस्तै, जुग्जाली यसअघि खगराज अधिकारी नेतृत्वको सरकारमा पर्यटनमन्त्री थिए।
यसैगरी एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाउने तयारी गरिएको छ। यसअघि उनी स्वतन्त्र सांसदका रुपमा मन्त्री बनेका थिए भने अहिले एकीकृत समाजवादीमा छन्।
वैशाख ९ गते खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि वैशाख १४ मा पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसको भोलिपल्ट शपथ लिएसँगै मुख्यमन्त्री पाण्डले कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई मन्त्री नियुक्त गरेका थिए।
यसअघि गण्डकी प्रदेश सरकारमा १२ मन्त्रालय थिए। अधिकारीले सातमा झारेका थिए। मुख्यमन्त्री पाण्डले पनि त्यसैलाई निरन्तरता दिन खोजेका छन्।