कांग्रेस नेता बस्नेतको निधन
नेपाली कांग्रेसका नेता एवं संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ।
लामो समयदेखि बिरामी रहेका बस्नेतको ७८ वर्षको उमेरमा काठमाडौंको सिफलस्थित निवासमा शुक्रबार निधन भएको हो। २००२ मंसीर १ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा जन्मिएका बस्नेतले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका संघर्षका क्रममा पटक पटक गरी नौ वर्ष जेल जीवन बिताएका थिए।
२०६२-६३ सालको जनआन्दोलनपछि कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य रहेका बस्नेत हाल बीपी कोइराला स्मृति प्रतिष्ठानका कोषाध्यक्ष थिए। उनी अविवाहित थिए।
उनको पार्थिव शरीर आज दिउँसो श्रद्धाञ्जलिका लागि पशुपति क्षेत्रमा राखिने र त्यसपछि अन्त्येष्टि गरिने प्रतिष्ठानका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिए।