‘बालकृष्ण खाणलाई निलम्बन गर्ने वा नगर्ने निष्कर्षमा पुगेका छैनौं’
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा नेपाली कांग्रेस निष्कर्षमा पुग्न सकेको छैन।
कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकमा पूर्व गृहमन्त्री खाणका विषयमा छलफल भएको छ। तर, केन्द्रीय सदस्यबाट निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा टुंगो लाग्न बाँकी रहेको सहमहामन्त्री जीवन परियारले बताए।
कांग्रेस बैठकबारे जानकारी दिँदै सहमहामन्त्री परियाले भने, “नक्कली भुटानी शरणार्थी प्रकरणमा सामान्य छलफल भएको छ। पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई निलम्बन गर्ने वा नगर्ने भन्नेमा निष्कर्षमा पुगेका छैनौं।”
यस प्रकरणमा सरकारलाई कांग्रेसको पूर्ण सहयोग रहने उनले बताए। “सरकारले निष्पक्ष छानबिन गर्नुपर्छ, दोषीलाई कुनै पनि हालतमा छाड्नु हुदैन, निर्दोष पर्नु हुँदैन। यसमा कांग्रेसले सहयोग गरिरहेको छ,” परियारले भने।
अहिले अभियुक्त मात्रै भएकाले दोषी जस्तै व्यवहार गर्नुनहुने उनको भनाइ थियो। “कुनै पनि मुद्दामा पक्राउ पर्ने वितिक्कै दोषी हो भन्न मिल्दैन। अहिले अभियुक्त मात्रै हो,” उनले भने, “कांग्रेस पार्टी दोषीलाई उम्काउने पक्षमा छैन। अनुसन्धानलाई प्रभावित गर्नुहुँदैन। अदालतले जे ठहर गर्छ, त्यसलाई मान्न तयार छ।”