लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न राजनीतिक दललाई निर्देशन
निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न राजनीतिक दललाई निर्देशन दिएको छ।
राजनीतिक दलले आर्थिक वर्ष सकिएको ६ महीनाभित्र लेखा परीक्षण प्रतिवेदन आयोगमा बुझाउनुपर्ने कानूनी व्यवस्था छ। तर, अहिलेसम्म ८२ दलले लेखा परीक्षण प्रतिवेदन नबुझाएको आयोगले जनाएको छ।
आयोगले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न राजनीतिक दललाई सात दिनको समय दिएको छ। दलको कार्यालय, वेबसाइट, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत प्रतिवेदन सार्वजनिक गर्न सकिनेछ। यसरी प्रतिवेदन सार्वजनिक गरेको जानकारी पनि आयोगलाई दिन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
त्यस्तै, दुई आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नुबझाउने मुस्कान सेना नेपाल पार्टी, शिव सेना नेपाल, आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिकसँग स्पष्टीकरण मागेको छ। सात दिनभित्र स्पष्टीकरण नदिएमा कारबाही गरिने आयोगले जनाएको छ।