उपनिर्वाचन परिणाम गम्भीर चिन्ताको विषय: एमाले
नेकपा (एमाले) ले वैशाख १० मा सम्पन्न उपनिर्वाचन परिणामलाई गम्भीर रूपमा लिएको जनाएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा काठमाडौंमा शुरू पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा चितवन-२ र तनहुँ-१ मा धेरै मत घट्नु गम्भीर चिन्ताको विषय भएको उल्लेख गरेका छन्।
“एमालेले उपनिर्वाचनमा संख्यात्मक क्षति बेहोर्नुनपरेको भए पनि चितवन-२ र तनहुँ-१ मा पार्टीको मतमा उल्लेखनीय कमी आउनु चिन्ताको विषयमा हो” ओलीले प्रतिवेदनमा भनेका छन्।
चितवन-२ मा एमाले उम्मेदवार १० हजार ९३६ मत सहित तेस्रो स्थानमा आएका थिए। जबकि मंसीर ४ मा भएको निर्वाचनमा एमालेका उम्मेदवारले १४ हजार ६५२ भोट पाएका थिए।
उपनिर्वाचनमा तनहुँ-१ मा एमालेका उम्मेदवारले आठ हजार ४८८ मत पाए। मंसीरको चुनावमा एमालेका उम्मेदवारले १९ हजार ९८१ मत प्राप्त गरेका थिए।
मंसीरमा सम्पन्न निर्वाचनको तुलनामा प्राप्त मत घट्नु र सत्ता गठबन्धनको विकल्प एमाले हो भन्ने कुरामा समेत आशंका जन्मिने अवस्था आउनु गम्भीर भएको ओलीको निष्कर्ष छ।