जहाज किन्न नेपाल एअरलाइन्सले बनायो उपसमिति
नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले दुई वटा जहाज खरीद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ।
प्रादेशिकरुपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले शहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा जहाज खरीद गर्न लागिएको निगमले जनाएको छ। यसका लागि कार्य योजना अघि बढाएको हो।
वैशाख २६ गते बसेको निगमको सञ्चालक समितिको बैठकले समिति सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ। उपसमितिलाई २१ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।
उपसमितिले दिने प्रतिवेदनाका आधारमा जहाज खरीद प्रक्रिया अघि बढ्ने निगमले जनाएको छ।
“शहरी क्षेत्रका विमानस्थलमा चल्ने जहाज नभएकाले निगमले हाल शहरी एवं व्यापारिक हिसाबले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन,” निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “दुई वटा जहाज खरीद गरेपश्चात काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायतका क्षेत्रबाट प्रादेशिक उडान भर्न सक्नेछ।”