दृष्टिबन्धकमा राखेको जग्गा फिर्ता लिन २५ वर्षदेखि संघर्ष
दृष्टिबन्धक राखेको जग्गा फिर्ता नपाएपछि साहुकै घरअगाडि बसिरहेका मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१३, पदमपोखरीका जगतबहादुर सुनारले १७० दिनपछि धर्ना स्थगित गरेका छन्। उनी जग्गा फिर्ताका लागि २५ वर्षदेखि लडिरहेका छन्।
जिल्ला अदालत, मकवानपुरले छलफलका लागि बोलाएपछि उनले बिहीबार धर्ना स्थगित गरेका हुन्। उनी १७० दिनदेखि हेटौंडाको बुद्धचोकका व्यवसायी नियमराज शाक्यको घरअगाडि धर्नामा बसिरहेका थिए।
बिहीबार धर्ना स्थगित गर्दै उनले भने, “अदालतबाट न्याय पाउने विश्वासले धर्ना स्थगित गरेको छु।” अदालतले आउँदो जेठ ७ गते दुवै पक्षलाई बोलाएको उनले बताए।
जग्गा दृष्टिबन्धकबाट पीडित सुनारले आफ्नो जग्गा फिर्ताका लागि विभिन्न प्रयास गरेका थिए। लामो समयदेखि प्रयास गर्दा पनि जग्गा फिर्ता नपाएपछि साहुकै घर अगाडि धर्नामा दिइरहेका थिए।
न्यायका लागि सुनारलाई सघाउँदै आएका सामाजिक अभियन्ता विशालराज महतले यो लडाइँ बीचमै नछोडिने बताए। “जगतको स्वास्थ्यमा समस्या देखिएको छ, अदालतले पनि मेलमिलापका लागि बोलाएको छ,” महतले भने, “अदालतबाट मेलमिलाप हुने विश्वास छ।”
यसअघि पनि दुवै पक्षलाई मेलमिलापका लागि पहल गरेको उनले बताए। तर, समस्या समाधान हुन नसकेको उनको भनाइ छ। अब अदालतबाट मेलमिलाप नभए फेरि नयाँ ढंगबाट आन्दोलन गर्ने महतले बताए।
यसरी गुम्यो जग्गा
हेटौंडाको पदमपोखरीका बाबुछोरा पदमलाल सुनार र जगतबहादुर सुनार सुन पसल चलाएर बसिरहेका थिए। हेटौंडाको पिपलबोट नजिकै उनीहरूको सुन पसल थियो।
उनीहरूले स्थानीय नियमराज शाक्यको घरमा सुन पसल सञ्चालन गरिरहेका थिए। व्यवसायलाई अगाडि बढाउन पैसा आवश्यक पर्यो। २०५४ वैशाख १९ मा उनीहरूले घरधनी शाक्यबाट ५० हजार ऋण लिए। जहाँ उनीहरू पाँच वर्षदेखि सुन पसल सञ्चालन गरिरहेका थिए।
ऋण दिँदा शाक्यले सुनारको जग्गा दृष्टिबन्धकी मागे। चिनजानकै भएकाले उनीहरूले पनि ११ कठ्ठा १६ धुर जग्गा दृष्टिबन्धकी राखेर ऋण लिए। तर, शाक्यले भने वैशाख १९ गतेदेखि नै भोगचलन गर्नेगरी जग्गा नामसारी गराए।
त्यसको पाँच वर्षपछि २०५९ साउन १० मा आए मात्रै सुनारले जग्गा नामसारी भएको थाहा पाए। जग्गा नामसारी गरिसकेको जानकारी पाएपछि उनी ५० हजार ऋण तिर्न सुनार बाबुछोरा शाक्यको घरमा पुगे। तर, ऋण ५० हजारबाट व्याजसहित बढेर दुई लाख पुगेको शाक्यले सुनाए। केही रकम अपुग भएपछि शाक्यले जग्गा फिर्ता गर्न मानेनन्।
त्यसपछि सुनार बाबुछोराले पटकपटक जग्गा फिर्ताका लागि प्रयास गरे। तर, शाक्यले फिर्ता गर्न मानेनन्।
२०६३ सालमा पदमको मृत्यु भयो। “बुवाको मृत्युपछि फेरि शाक्यलाई भेट्न गएको थिए, तर, जग्गा फिर्ता गर्न मानेनन्,” सुनार भन्छन्।
बाबुको मृत्यु र जग्गाको तनावले व्यवसायनै बिग्रिएको उनी बताउँछन्। त्यसपछि केहि समय काम नैै रोकेर बसे। हेटौंडा छोडेर वीरगञ्ज गए। त्यहाँ अर्काको पसलमा काम गरे। यता फिर्ताका लागि पनि शाक्यसँग कोसिस गरिराखे।
सात वर्षअघि वीरगञ्ज छोडेर हेटौंडा फर्किए। त्यही पुनः सुन चाँदी व्यवसाय थाले। जग्गा फिर्ताका लागि पनि पहल गरिराखे।
जग्गा नामसारी गर्न अनुरोध गर्दा उल्टै धम्क्याउने गरेको जगत बताउँछन्। “धितो स्वरुप राखेको जग्गा फिर्ता गर्न र हिसाब गरेर रकम चुक्ता गर्छु भन्दा पनि मानेनन्, उल्टै धम्की दिए। धम्क्याएर परिवालाई पनि पीडा दिए,” जगत भन्छन्।
साँवाब्याज सबै तिर्न तयार हुँदा पनि झुलाउने गरेको उनी बताउँछन्। “पटक पटक घरमै गएर साँवा ब्याज हिसाब गर्न तयार छु भनेर आग्रह गर्दा पनि वास्ता गर्नुभएन,” उनले भने, “कहिले काठमाडौंबाट आएर दिन्छु, कहिले बिरामी छु, कहिले फुर्सद छैन भनेर आलटाल गर्नुभयो।”
केही समययता भने शाक्यले दुर्व्यवहार गर्दै आएको जगत बताउँछन्। “खरीद गरेको जग्गा हो, फिर्ता माग्न आएप्छि राम्रो हुँदैन भन्दै ज्यान मार्नेसम्मको धम्की दिइरहनु भएको छ,” जगत भन्छन्।
त्यसपछि अदालत गएको उनले बताए। जिल्ला अदालतले आउँदाे जेठ ७ गते दुवै पक्षलाई बोलाएको छ।
यस विषयमा सोध्दा शाक्यले भने कुनै प्रतिक्रिया दिन मानेनन्। उनले भने, “अदालतको फैसलाको सम्मान गर्नेछु, तर अहिले केही बोल्दिनँ।”