परीक्षा हलबाट निकालिएकी छात्राले आत्महत्या गरेपछि मेडिकल कलेजका विद्यार्थी आन्दोलित
चितवन मेडिकल कलेजमा अध्ययनरत छात्राले आत्महत्या गरेपछि विद्यार्थी आन्दोलित भएका छन्।
चितवन मेडिकल कलेजमा बीडीएस चौथो वर्षको पहिलो फेजमा अध्ययनर सिम्रन थापाले बुधबार आत्महत्या गरेकी थिइन्। शिक्षकले परीक्षा हलबाट निकालेपछि कोठामा पुगेकी थापाले आत्महत्या गरेको विद्यार्थीले जनाएका छन्।
शिक्षकले मानसिक तनाव दिएर परीक्षा हलबाट निकालेकै कारण उनले आत्महत्या गरेको भन्दै विद्यार्थी आन्दोलित छन्। चितवन मेडिकल कलेज विद्यार्थी संघर्ष समितिले विरोध प्रदर्शन गरेको छ।
विद्यार्थीको आन्दोलनका कारण मेडिकल कलेजको ओपीडी सेवा अनिश्चितकालका लागि अवरुद्ध भएको छ। विद्यार्थीले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।
मेडिकल कलेजका विद्यार्थीको आन्दोलनप्रति फेडेरेशन अफ नप्लिज मेडिकल स्टुडेन्ट (एफएनएमएस) केन्द्रीय समितिले पनि एक्यबद्धता जनाएको छ। एफएनएमएसका सभापति डा. नरेश भट्टले प्रेस विज्ञप्ति जारी गरी घटनाको निश्पक्ष छानबिन गर्न माग गरेका छन्। दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ।
वैशाख २७ गते परीक्षामा सहभागी थापालाई चिट चोरेको भन्दै शिक्षकले निकालेको विद्यार्थीले बताएका छन्। शिक्षकले परीक्षा हलबाट निकालेपछि उनी कोठामा फर्किएकी थिइन्। उनले कोठामै आत्महत्या गरेको विद्यार्थीले जनाएका छन्।