प्रहरीमा अडिओ क्लिप बुझाउँदै आरजु राणाले भनिन्- मेरो कुनै सरोकार र जानकारी छैन
नेपाली कांग्रेस नेत्री आरजु राणा देउवाले नक्कली भुटानी प्रकरणसँग जोडिएको अडिओ क्लिप प्रहरीलाई बुझाउँदै आफ्नो कुनै सरोकार र जानकारी नभएको दाबी गरेकी छन्।
नक्कली भुटानी प्रकरणमा राणालाई पनि पैसा बुझाएको भन्ने अडिओ क्लिप सार्वजनिक भएको थियो। त्यो अडिओ क्लिप सहित राणाले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्।
सांसद एवं कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी राणाले साइबर ब्युरोमा दिएको उजुरीमा अडिओ क्लिपको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छन्।
उनले निवेदनमा भनेकी छन्, ‘विभिन्न संचार माध्यमहरूमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडिओ रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन्, उक्त अडिओका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य बेहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानूनअनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेश गरेको छु।’
उनले आफ्नो निवेदनमा यथाशिघ्र कारबाहीका लागि पनि माग गरेकी छन्। निवेदनसँगै सार्वजनिक भएको अडिओ क्लिप पनि साइबर ब्युरोलाई बुझाएकी छन्।