नेक्सन इभी म्याक्सको नेपालमा बिक्री शुरु
टाटा मोटर्सले नेक्सन इभी म्याक्सको नेपाली बजारमा विक्री शुरु गरेको छ।
नेक्सन इभीको विस्तारित स्वरूप यो नयाँ गाडीको मूल्य ४६ लाख ४९ हजार तोकिएको छ। ४०.५ किलोवाट प्रतिघण्टा क्षमता भएको लिथिएम ब्याट्री प्याक जडित नेक्सन इभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरु भन्दा ३३ प्रतिशतले बढी भएको कम्पनीले दाबी गरेको छ। यस कारणले यो गाडीले एक पटक पूर्ण चार्ज गर्दा ४५३ किलोमिटर यात्रा गर्ने जनाइएको छ।
यसले एक सय किलोवाट बराबरको शक्तिको अतिरिक्त पेडल थिच्ने बितिक्कै २५० एनएम बराबरको टर्क पैदा गर्ने जारी विज्ञप्तिमा उल्लेख छ। यो गाडीमा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिने र यसले ६ घन्टा ३० मिनेटमा चार्जिङ पूरा गर्नेछ। नेक्सन इभी म्याक्सको ब्याट्री ५० किलोवाटको डिसी फास्ट चार्जरको माध्यमबाट ५६ मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने दाबी गरिएको छ।
टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रले अत्याधुनिक जिप ट्रन प्रविधियुक्त नेक्सन इभी म्याक्समा जस्तोसुकै मौसम र सडक अवस्थामा पनि यात्रा गर्न सकिने बताए। उनले रेञ्ज, आराम र बनावट जस्ता दृष्टिकोणले यो गाडी उत्कृष्ट रहेको दाबी गरे।
सिप्रदी ग्रुप अफ कम्पनीजका अध्यक्ष सिद्धार्थ राणाले नेक्सन इभी म्याक्स मुलुकमा विद्युतीय सवारीको प्रवर्द्धनका लागि कोशेढुंगा भएको बताए।
एक्टिभ मोड डिस्प्ले, मकराना बिज इन्टेरिएर र अगाडि बस्ने यात्रुको लागि भेन्टिलेशनसहितको लेदरेट सिट, एअर प्युरिफाएर, वायरलेस स्मार्ट फोन चार्जिङ जस्ता सुविधा यो गाडीमा छन्। नेक्सन इभी म्याक्स इको, सिटि र स्पोर्ट गरी तीनवटा मोडलमा उपलब्ध छ। आठ वर्ष वा एक लाख ६० हजार किलोमिटरको वारेन्टी भएको ब्याट्री यसमा जडान गरिएको छ।