बालकृष्ण खाणलाई किन गरियो एकाएक पक्राउ?
निवासमै बसिरहँदा पनि मोबाइल लोकेशन अन्यत्रै देखाउने गरी चलखेल गर्न थालेपछि प्रहरीले पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ‘जरुरी पक्राउ पुर्जी’ का आधारमा एकाएक पक्राउ गरेको हो।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणको अनुसन्धानको दायरामा आएपछि निवर्तमान गृहमन्त्री बालकृष्ण खाणले आफ्नो संलग्नता नभएको भन्दै वैशाख २३ गते सार्वजनिक सूचना निकाले। पक्राउ परेका व्यक्तिबाट पोलिएका खाणको संलग्नता खुल्ने दसी प्रहरीले जुटाइसकेको थियो।
सत्ता साझेदारी दल नेपाली कांग्रेसका नेता खाणले आफू यो गिरोहमा सामेल नरहेको सार्वजनिक रुपैमा बताए पनि वैशाख २६ गतेदेखि नै आफ्नो मोबाइल अफ गरेका थिए। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार खाणले आफ्नो मोबाइलको ‘लोकेशन’ समेत बदलेर निवासमै बसेका थिए। “कहिले नयाँ बानेश्वर त कहिले तीनकुनेतिर उनको ‘लोकेशन’ देखिन्थ्यो,” ती अनुसन्धान अधिकृत भन्छन्, “मोबाइल अर्कै ठाउँमा राखेर आफू चाबहिल निवासमा थिए।” निवासबाट अरुको मोबाइल चलाउने गरेको समेत ती अधिकृतले बताए।
पक्राउको दुई दिनअघि खाणले सञ्चारमाध्यमसँग समेत आफू बुटवलमा रहेको बताएका थिए। तर, उनी त्यतिखेर समेत काठमाडौंमै रहेको प्रहरी स्रोतको दाबी छ।
खाणलाई जरुरी पक्राउ पुर्जीका आधारमा प्रहरीले बुधबार बिहान नियन्त्रणमा लिएको हो। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ९ को उपदफा ६ मा प्रहरीलाई यस्तो अधिकार छ। तत्काल भाग्ने, उम्कने, दसी नष्ट गर्ने वा लुकाउने भएमा प्रहरीले जरुरी पक्राउ पुर्जीका आधारमा आरोपितलाई समात्न सक्छ। पक्राउ पछि भने अदालतबाट स्वीकृत गराउनुपर्छ।
यसअघि पूर्व मन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्न लिएको पुर्जी सार्वजनिक भएपछि उनी प्रहरीसँग सम्पर्क गर्दागर्दै फरार भएका थिए। अनुसन्धानको न्यूनतम मर्म विपरीत पक्राउ पुर्जीको सूचना चुहाएको भन्दै प्रहरीको आलोचना समेत भएको थियो। “त्यसबाट हामीले पाठ सिक्यौं,” ती अधिकृत भन्छन्।
खाणलाई जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) समेत गएका थिए।
पक्राउ गर्न गएको प्रहरी टोलीसँग खाणको केहीबेर घम्साघम्सी समेत भएको पक्राउस्थल पुगेका एक प्रहरीले बताए। “गृहमन्त्री बनिसकेको व्यक्तिलाई समात्न जाँदा यस्तो हुनु स्वभाविक हो,” ती प्रहरी अधिकृतले ठट्यौली शैलीमा भने, “हिजो प्रहरीको सलाम खाँदै हिँडेको व्यक्ति आज प्रहरीले पक्राउ गर्दा आवेगमा आउनु स्वाभाविक हो। प्रहरी आएको चाल पाएपछि ढोका थुनेर बस्नुभयो।” प्रहरीले सम्झाई बुझाई गरेपछि आफ्नै गाडीमा प्रहरी परिसर आउन खाण राजी भएका थिए।
खाण २०७८ साउन २९ मा गृहमन्त्री बनेका थिए। उनी गृहमन्त्री बनेपछि गृहका पूर्व सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनेको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको थियो।
त्यसपछि २०७९ जेठमा मन्त्रिस्तरीय निर्णय गर्दै पन्थी कार्यदलको प्रतिवेदन अध्ययन गरी छुट शरणार्थीको सम्बन्धमा दीर्घकालीन रुपमा समस्या समाधान र व्यवस्थापनका लागि ठोस राय दिन पत्राचार भएको थियो। यसका लागि आवश्यक परेमा उपसमिति बनाउने समेत पत्रमा भनिएको थियो। तर, झापा प्रशासनले यो पत्र अस्पष्ट भन्दै काम गरेन। यो निर्णय हुँदा खाण गृहमन्त्री थिए।
२०७६ भुटानी शरणार्थी सम्बन्धी समस्याको दीर्घकालीन हल खोज्न भन्दै पन्थी कार्यदल बनेको थियो। पक्राउ परेका अन्य व्यक्तिको बयानलाई यो प्रमाणले पुष्टि गरेपछि प्रहरीले खाणलाई पक्राउ गरेको हो।
नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा अहिलेसम्म १२ जना पक्राउ परेका छन्। अनुसन्धान अझै नसकिएको अरु राजनीतिक पात्र समेत पक्राउ पर्न सक्ने आकलन छ।
खाणकी पत्नी मञ्जु खाण र नेपाली कांग्रेस नेत्री आरजु राणा देउवालाई समेत यो कामका लागि साढे आठ करोड रुपैयाँ बुझाएको अडिओ क्लिप प्रहरी समक्ष पुगेको छ। आरजु र मञ्जु दुवै सांसद छन्। दुवैले अडिओको दाबी गलत भएको भन्दै खण्डन गरेका छन्।