रेमिटेन्स सुध्रियो, विदेशी मुद्राको सञ्चिति बढ्यो
देशभित्रको अर्थतन्त्र मन्दीउन्मुख रहेको अनुमानबीच अर्थतन्त्रका कतिपय सूचकमा भने निरन्तर सुधार देखिएको छ।
नेपाल राष्ट्र ब्यांकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले चैतसम्म मुलुकको वैदेशिक कारोबार, रेमिटेन्स लगायतका सूचकमा सुधार भइरहेको देखाएको हो। केन्द्रीय ब्यांकका अनुसार, देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तर शोधनान्तर स्थिति चैत मसान्तसम्म एक खर्ब ८० अर्ब रुपैयाँ वचतमा छ। यो गत वर्षको यही अवधिमा दुई खर्ब ६८ अर्ब रुपैयाँले घाटामा थियो।
शोधनान्तर स्थिति घाटा हुनुले मुलुकबाट बाहिरिने रकम धेरै भएको बुझाउँछ। मुलुकबाट रकम धेरै बाहिरिँदा देशको विदेशी मुद्रा सञ्चिति घटन पुग्छ। गत वर्ष देशको विदेशी मुद्राको सञ्चिति तीव्र गतिमा ओरालो लागेपछि सरकारले रकम बाहिरिन रोक्न आयात रोक्नेसहितका विभिन्न निर्णय गरेको थियो।
यो वर्ष भने विदेशी मुद्राको सञ्चितिमा लगातार सुधार आइरहेको छ। चैतसम्म विदेशी मुद्राको सञ्चिति १० अर्ब ९४ करोड डलर पुगेको छ। यो गत असारमा नौ अर्ब ५४ करोड डलर मात्रै थियो।
मुलुकमा पर्याप्त विदेशी मुद्राको सञ्चिति हुँदा विकास निर्माणका लागि आवश्यक उपकरण तथा सामग्री भित्र्याएर विकासको गति तीव्र बनाउने अवसर उपलब्ध हुन्छ। अहिलेको सञ्चितिले नौ महीना १२ दिनको वस्तु र सेवाको आयात थेग्न सक्छ।
विदेशी मुद्राको भण्डार बलियो बनाइराख्न यसअघिजस्तै रेमिटेन्सले प्रमुख भूमिका खेलेको छ। यो आर्थिक वर्षको चैतसम्म नौ खर्ब तीन अर्ब रेमिटेन्स भित्रिएको छ। यो गत वर्षको यही अवधिका तुलनामा २४ प्रतिशत बढी हो। अमेरिकी डलरमा हेर्दासमेत रेमिटेन्स करीब १४ प्रतिशतले वृद्धि भएको छ।
गत वर्ष उच्च आयातका कारण कोलाहल सिर्जना भएकोमा यो वर्षको चैतसम्म विदेशबाट वस्तु आयात १८ प्रतिशतले घटेको छ। यो अवधिमा १२ खर्ब एक अर्बको मात्रै आयात भएको छ। केन्द्रीय ब्यांकले आयात कम गर्न विभिन्न नीतिगत निरुत्साहनका पहल कायमै राख्दै आएको छ।
गत वर्षको तुलनामा सवारी साधन, औषधि, दूरसञ्चारका उपकरण, बिलेट (फलाम) आदिको आयात घटेको छ। चैतसम्म निर्यात २६ प्रतिशतले घटेको छ। यो अवधिमा एक खर्ब १८ अर्बको मात्रै निर्यात भएको छ।
अर्थतन्त्रको बाह्य क्षेत्रमा सूचकहरू सकारात्मक देखिए पनि मुलुकभित्रको अर्थतन्त्र मन्दीतर्फ उन्मुख रहेको व्यवसायीले बताउँदै आएका छन्। राष्ट्रिय तथ्यांक कार्यालयले गत साता सार्वजनिक गरेको तथ्यांकले यो वर्ष आर्थिक वृद्धिदर २ प्रतिशतभन्दा कम रहने अनुमान गरेको छ। आर्थिक क्रियाकलाप सुस्त भएको र माग घटेका कारण सयौं साना व्यवसाय बन्द भइसकेका छन्।