नक्कली भुटानी शरणार्थी प्रकरणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन्।
प्रतिनिधि सभाको बुधबार बसेको दोस्रो बैठक शुरू हुने वितिक्क राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीका विषयमा सदनलाई जानकारी गराउन माग गरेका थिए। लिङदेनले भने, “नक्कली भुटानी शरणार्थीबारे अहिले भइरहेको कारबाही सम्बन्धी जानकारीका सम्बन्धमा रुलिङ गर्न लागि आग्रह गर्दछु।”
यो प्रकरणमा कसैलाई पनि छुट दिन नहुने उनको भनाइ थियो। “अहिले नक्कली भुटानी शरणार्थीको नाममा जुन काण्ड भइरहेको छ, त्यो केवल आर्थिक भ्रष्टाचार वा अङ्कसँग मात्रै सम्बन्धित होइन, त्यो ठगी राज्यविरुद्धको सङ्गठित अपराध हो, यो कीर्तेसम्बन्धी एक प्रकारको जघन्य अपराध हो, यसमा संलग्न कुनै पनि मानिसलाई विभिन्न बहानामा उम्नुक्ति दिनु हुँदैन,” लिङदेनले भने।
त्यसपछि सभामुख घिमिरेले यसबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन्। घिमिरेले भने, “अहिले उठेका विषयमा म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँद छु।”
८७५ जनालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गरी सरकारी कागजातमा नाम थपेको अनुसन्धानबाट खुलेको थियो। गृह मन्त्रालयले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी सम्बन्धी स्थायी समाधान पहिल्याउने भन्दै कार्यदल बनाएको थियो।
कार्यदलले भुटानी शरणार्थीको अभिलेख राख्न सूची पनि बटुलेको थियो। यही प्रतिवेदनमा गिरोहले ‘दर्ता छूट’ सूची भन्दै अनधिकृत नाम थपेर मानव तस्करी गरेर अमेरिका पुर्याउन खोजेको हो। यसका लागि प्रतिव्यक्ति १० देखि ५० लाख रुपैयाँसम्म लिएको उजुरीमा उल्लेख छ।
यसमा पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १२ जना पक्राउ परिसकेका छन्। त्यस्तै, पूर्व मन्त्री एवं नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।