झ्याउ अनुसन्धानले दिएको पहिचान
वनस्पतिविद् निर्मला प्रधानले समुद्री सतहदेखि ६२ मिटरमा रहेको स्थानदेखि ६५ सय मिटर उचाइ रहेको स्थानसम्म पुगेर झ्याउको अनुसन्धान गरेकी छन्।
वनस्पतिविद् प्राध्यापक निर्मला प्रधानले वनस्पति दिवसको अवसरमा गत चैत २९ गते ‘राष्ट्रिय वनस्पति पुरस्कार’ यस वर्ष प्राप्त गरिन्। “मैले पुरस्कार पाउँला भन्ने सोचेकी थिइनँ। म अनुसन्धानमै समर्पित थिएँ‚” पुरस्कार पाएपछि उनको प्रतिक्रिया थियो‚ “सायद यसैले मलाई राष्ट्रिय पुरस्कारका लागि योग्य बनायो होला।”
पुरस्कार पाएपछि उनलाई बधाई दिनेहरूको लाम लाग्यो। हितैषी र शुभचिन्तकको बधाई ग्रहण गर्दागर्दै केही दिन बिते। पुरस्कारले खुसीसँगै जिम्मेवारी पनि बढाएको निर्मला बताउँछिन्। “यसले मलाई प्रोत्साहित गरेको छ। पुरस्कार पाउँदो परिवारजन र साथीभाइ पनि उत्तिकै खुसी र गौरवान्वित भएको अनुभव गरेको छु,” उनले भनिन्। जिम्मेवारी बोधले गर्दा नै जागीरबाट अवकाश पाए पनि अनुसन्धानबाट अवकाश लिने योजनामा छैनन् उनी।
२०२८ सालमा काठमाडौंको कान्ति ईश्वरी राज्यलक्ष्मी स्कूलबाट एसएलसी गरेपछि उनी पद्मकन्या क्याम्पसमा आईएस्सीमा भर्ना भइन्। त्यतिखेरको उनको लक्ष्य डाक्टर बन्ने थियो। “मलाई डाक्टर हुने चाहना थियो,” निर्मलाले सुनाइन्, “त्यसैले आईएस्सीमा भर्ना भएकी थिएँ। तर‚ त्यो वेला मेडिकल पढ्न भारत जानुपर्थ्यो। मेडिकलमा भर्ना नमिलेपछि बीएस्सी पढें।”
काठमाडौंकै त्रिचन्द्र क्याम्पसबाट बीएस्सी सकेपछि त्रिभुवन विश्वविद्यालय, केन्द्रीय वनस्पति विभागमा भर्ना भइन्। उनले एमएस्सीमा थेसिसका लागि ब्रायोफाइट (एक प्रकारको झ्याउ) को अनुसन्धान गरिन्। “मास्टर्स पढ्दा मैले ‘काठमाडौं उपत्यकाको ब्रायोफाइटक’ माथि थेसिस गरेकी थिएँ‚” निर्मलाले सुनाइन्‚ “मैले चन्द्रागिरिको माथिल्लो भू–भागबाट ‘साउटेरिया स्पोन्जिओसा’ नामको दुर्लभ र लोपोन्मुख प्रजातिको ब्रायोफाइट अभिलेखीकरण गर्ने सौभाग्य पाएँ। त्यो ब्रायोफाइट अहिले त्यहाँबाट लोप भइसकेको छ।” २०३९ सालदेखि थालेको झ्याउको अनुसन्धानले निर्मलालाई अन्तर्राष्ट्रिय मञ्चहरूसम्म पुर्याएको छ। राष्ट्रिय सम्मान दिलाएको छ।
समयक्रममा उनको अनुसन्धानको क्षेत्र साना अपुष्पक वनस्पति ब्रायोफाइट्स (एक प्रकारको झ्याउ) मा केन्द्रित हुँदै आयो। ब्रायोफाइट्स र लाइकेन्सलाई पनि नेपालीमा झ्याउ भनिन्छ। तर‚ तीबीच केही वैज्ञानिक भिन्नता छ। यी दुवै प्रजाति अपुष्पक वनस्पतिको वर्गमा पर्ने र उस्तै किसिमको वासस्थानमा पाइन्छन्। यिनको बाहिरी बनावट उस्तै भए पनि भित्री वनावट भने फरक हुन्छ। साना आकारका यी लघु अपुष्पक वनस्पतिका उदाहरणमा सिंगे झ्याउ, चेप्टे झ्याउ आदि पर्दछन्।
विश्वमा हालसम्म झण्डै २२ हजारभन्दा बढी झ्याउ प्रजाति पत्ता लागेका छन्। नेपालमा अभिलेख भएका एक हजार ३१८ प्रजातिका ‘ब्रायोफाइट्स’मध्ये ५४१ प्रजातिका चेप्टे झ्याउ र सिंगे झ्याउ तथा ७६६ प्रजातिका मोस (काइ) छन्।
विश्वमान चित्रमा नेपालको भूगोलले सानै स्थान ओगोटे पनि यहाँ पाइने झ्याउको प्रजाति विश्वमा पाइने कुल संख्यामध्ये करीब ६.५ प्रतिशत छ। नेपालमा मात्र पाइने रैथाने वा इन्डेमिक झ्याउ ३० प्रजातिका छन्। यीमध्ये २६ प्रजातिका चेप्टे झ्याउ (लिबवर्ड) छन् भने चार प्रजातिका अरु मोस (काइ) छन्। अन्तर्राष्टिय प्रकृति संरक्षण संघ (आईयुसीएन) को रातो सूचीमा नेपालमा पाइने चार प्रजातिका झ्याउ जोखिममा परेको उल्लेख छ। समुद्री सतहदेखि ६२ मिटर उचाइको नेपालको सबैभन्दा होचो स्थानदेखि लिएर सोलुखुम्बुको ६५ सय मिटरको उचाइमा यी वनस्पति अभिलेख भएको वनस्पतिविद् प्रधान बताउँछिन्।
“नेपालमा भएका हालसम्मका अध्ययन अनुसार‚ ब्रायोफाइट्सहरू विविधताका आधारमा दुई हजारदेखि तीन हजार मिटरको उचाइमा अधिक भएको पाइएको छ। जहाँबाट ४६५ प्रजातिका यी वनस्पति अभिलेख गरिएका छन्,” उनले भनिन्।
ब्रायोफाइट्समा ठूला वनस्पतिको जस्तो जरा हुँदैन। तर‚ यिनीहरू जमीन वा अरु सतहमा टाँस्सिएर रहन धागो जस्ता ससाना राइजोयिसले मद्दत गरेका हुन्छन्। “यिनले भूक्षय रोक्न, आद्रता कायम राख्नका साथै चरा तथा अन्य स्तनधारी जनावर र सूक्ष्म जीवहरूका लागि खाना र आश्रय प्रदान गर्दछ,” वनस्पतिविद् प्रधानले भनिन्, “यी वनस्पति औषधि बनाउन उपयोग हुन्छ। त्यस्तै‚ हेयर कस्मेटिक र औद्योगिक प्रयोजनका लागि पनि उपयोग गरिन्छ। ग्रीन टीमा पनि यसको उपयोग हुन्छ।” एन्टिबायोटिक गुण र चिस्यान कायम राख्ने क्षमता भएकाले केही देशमा ब्रायोफाइट्सलाई विरुवा, फलफूल, शिशाका सामान प्याकेजिङ गर्न पनि प्रयोग गरिन्छ।
नेपाली झ्याउहरूको पहिलो वैज्ञानिक अध्ययन बेलायती वनस्पतिविद् फ्रान्सिस बुचानन ह्यामिल्टनले सन् १८०२ देखि १८०३ सम्म गरेका थिए। त्यसको दुई दशकपछि नेपाल आएका वनस्पतिविद् नाथानियल वालिचले सन् १८२० देखि १८२१ सम्म नेपाली झ्याउहरूको अध्ययन गरेर योगदान दिएको वनस्पतिविद् प्रधान बताउँछिन्। “वालिचले संकलन गरेका झ्याउहरूको नमूना वालिचको संग्रह (बालिचको क्याटालग) का रूपमा बेलायतको किउ गार्डेनमा राखिएको छ‚” उनले भनिन्‚ “उनीपछि पनि केही वनस्पतिविद्हरू नेपाल आएर झ्याउ प्रजातिबारे अध्ययन गरेका पाइन्छ।”
तीमध्ये रोयल बोटानिकल गार्डेन इडनवर्गका डा. जेफ्री डेभिड लङको काम उल्लेखनीय रहेको वनस्पतिविद् प्रधान बताउँछिन्। “नेपालका लागि अहिले दुर्लभ मानिने र आईयुसीएन रेड लिस्टमा समावेश भएका टकाटिया सेराटिफाइला, एन्ड्रुसियान, फेरिजिनस जस्ता झ्याउहरू सन् १९९१ मा मकालु वरुण क्षेत्रबाट लङले अभिलेखीकरण गरेका थिए,” उनी भन्छिन्।
जन्ड बन्दै जलवायु
बढ्दो तापक्रम अहिलेको चुनौती हो। पृथ्वीको तापक्रम एक डिग्री सेल्सियस बढेको छ। सन् २०३० र सन् २०५२ को बीचमा यो तापक्रम १.५ सेलसियस पुग्ने अनुमान छ। तापमान वृद्धिले वनस्पति जगत्लाई पनि असर गर्नेछ। यसको मारमा झ्याउहरू पनि पर्ने छन्।
झ्याउलाई जलवायु परिवर्तनको सूचकको रूपमा लिइन्छ। ओसिलो, सेपिलो वा सिमसार क्षेत्रमा पाइने यस्ता वनस्पति जलवायु परिवर्तनको चपेटामा परिरहेका छन्। वनस्पतिविद् प्रधानले सुनाइन्‚ “बेल्जियमबाट प्रकाशित हुने नेचर कम्युनिकेशनमा प्रकाशित एक अनुसन्धानात्मक लेखमा भूमध्यसागरीय एटलान्टिक र समशितोष्ण क्षेत्रहरूबाट ४० प्रजातिका ब्रायोफाइट्स सन् २०५० सम्म खडेरी र जलवायुको प्रभावले गर्दा बासस्थानमा परिवर्तन हुने भविष्यवाणी गरिएको छ।”
जलवायु परिवर्तनको नेपालमा पाइने ब्रायोफाइट्सहरूलाई के असर परेको छ भन्ने बृहत् अध्ययन भएको छैन। तर‚ आफूल गरेको अध्ययनमा ३०० मिटरको उचाइमा पाइने ब्रोन मोस, भोविस मोस र फ्रुरानिया लगायत प्रजातिका झ्याउहरू दुई हजारदेखि तीन हजार मिटरको उचाइमा पनि भेटिएको वनस्पतिविद् प्रधानले बताइन्। “यो पनि जलवायु परिवर्तनको कारण हुनसक्छ,” उनी भन्छिन्।
सन् १९८० देखि २०१७ को बीचमा सयौं प्रजातिका वनस्पतिको अध्ययन गरेका अनुसन्धानकर्ताहरूले अधिकांश पारिस्थितिक प्रणालीमा पोषकतत्व विशेषगरी नाइट्रोजनको मात्रामा कमी हुँदै गहरहेको पत्ता लगाएको सन्दर्भलाई उनले स्मरण गरिन्। “सन् २०२२ को जनवरीमा अमेरिकाको कोलम्बिया स्कूल अफ क्लाइमेटमा प्रकाशित एक लेखमा बोटविरुवा पर्यावरणलाई सन्तुलित राख्न भूमिका निर्वाह गर्दछन्,” उनी भन्छिन्।
वनस्पतिविद् प्रधान करीब चार दशकदेखि ब्रायोफाइट्सको अध्ययन–अनुसन्धान कार्यमा छिन्। सोही क्रममा उनी देशका दुर्गम स्थानमा पनि पुगिनन्। “तराई क्षेत्रमा मैले गरेको पीएचडी शोधले ३० प्रजातिका झ्याउ नेपालका लागि नयाँ अभिलेख भएका थिए,” उनले भनिन्। उनले पीएचडी शोधमा नेपालको पूर्वदेखि पश्चिम तराईलाई समेटेकी थिइन्। जसमा झापादेखि कञ्चनपुरसम्म समावेश थिए। “मैले लिएको वनस्पतिको नमूना एक हजार मिटरसम्मको उचाइमा सीमित थियो जसमा दुर्लभ प्रजातिसहित २७८ प्रजातिका ब्रायोफाइट अभिलेखीकरण भएका थिए,” वनस्पतिविद् प्रधानले सुनाइन्, “मेरो अध्ययनले नमूना सङ्कलन गरिएका क्षेत्रबाट ३० नयाँ प्रजातिका वनस्पति थपिए।”
ब्रायोफाइटको अध्ययनका लागि उनी उच्च हिमाली क्षेत्र पनि गइन्। उनको अध्ययनको सेरोफेरो करिब ४५०० मिटर उचाइको लाङटाङ र सिन्धुपाल्चोक क्षेत्रमा केन्द्रित थियो। झ्याउकै खोजीको क्रममा इलामको माईपोखरी, बर्दियाको सिमसार क्षेत्र, सिन्धुपाल्चोक लगायत धेरै जिल्लामा कयौं पटक भ्रमण गरेकी छन्। “एउटा कठिन अध्ययन पाँचपोखरी क्षेत्रमा चार हजार मिटरभन्दा माथिका क्षेत्रमा गरिएको थियो। पाँचपोखरी जाने बाटोमा बास पाउन मुस्किल थियो। त्यसैले धेरै ठाउँमा गोठहरूमा सुत्थ्यौं। ती अनुभव मेरो जीवनमा मीठो सम्झनाका रुपमा रहेका छन्,” उनले सुनाइन्।
त्रिभुवन विश्वविद्यालयको प्राकृतिक विज्ञान संग्रहालयमा काम शुरू गर्दा उनको मुख्य उद्देश्य ब्रायोफाइटमा अनुसन्धान गर्नु नै थियो। त्यो वेला यस विरुवाबारे कम जानकारी उपलब्ध थियो। उनले देशका विभिन्न क्षेत्रहरूबाट यी विरुवा संकलन गर्दै अन्य देशका ब्रायोलोजिस्टहरूसँग सम्पर्क गरिन्। “उनीहरूले यस वनस्पति सम्बन्धी प्रकाशन तथा अनुसन्धानमुलक लेख उपलब्ध गराए जसले मेरो अनुसन्धानमा धेरै मद्दत गर्यो,” उनले भनिन्।
उनले अध्ययन थाल्दा नेपालमा यसबारे अध्ययन गर्ने कोही थिएनन्। सहकर्मी, गुरू तथा परिवारजनले अनुसन्धानमा प्रोत्साहन गरिरहे। कतिपयले उनलाई विभिन्न क्षेत्रहरूबाट यस वनस्पतिको नमूना संकलन गरेर पनि ल्याइदिए। “मेरो सफलतामा साथीभाइ र परिवारको पनि सहयोग छ,” उनी भन्छिन्।
वनस्पतिविद् प्रधानले कुराकानीका क्रममा आफूलाई स्थलगत अध्ययनमा सहयोग गर्ने वनस्पति विभागका वनस्पति विज्ञ प्रतीक्षा श्रेष्ठको स्मरण गरिन्। पीएचडी शोधका लागि सुवेरिवेक्षक प्राध्यापक सानुदेवी जोशीको योगदानको पनि उनले स्मरण गरिन्।
सहायक प्राध्यापक पदबाट त्रिविमा काम शुरू गरेकी प्रधानले प्राज्ञिक यात्राको ३५ वर्षमा प्राध्यापक पद प्राप्त गर्न सफल भएकी छन्। उनले केही समय त्रिभुवन विश्वविद्यालयको वनस्पति विज्ञान केन्द्रीय विभागमा ब्रायोफाइट पढाउने अवसर पनि पाइन्। यसले पनि वनस्पति शास्त्रका स्नातकोत्तर तहका विद्यार्थीहरूलाई ब्रायोफाइटबारे जानकारी दिने अवसर मिलेको उनलाई लाग्छ। उनका कयौं लेख अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन्। केही पुस्तक पनि प्रकाशित छन्। चार दशकसम्म काम गरेको प्राकृतिक विज्ञान संग्रहालयमा ब्रायोफाइट्स शाखा पनि स्थापना गरेकी छन्। उनी भन्छिन्‚ “यो वनस्पति अनुसन्धाताहरूलाई महत्त्वपूर्ण स्रोत हुनसक्छ।”