अहिले सबैभन्दा ठूलो चुनौती स्रोतको छ: अर्थमन्त्री महत
अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोत जुटाउन निकै सकसपूर्ण रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घले बुधबार काठमाडौंमा आयोजना गरेको प्रि-बजेट छलफलमा महतले अनिवार्य दायित्व सिर्जना भइसकेका बहुवर्षीय र क्रमागत आयोजनाका लागि समेत स्रोत जुटाउन धौधौको अवस्था रहेकाले नयाँ आयोजनालाई कसरी बजेटमा पार्ने भनेर चुनौती रहेको बताए।
“हजारौं आयोजनाको ठेक्का लागिसकेको छ, तर त्यसको स्रोत सुनिश्चितता गर्न समस्या छ। अहिले सबैभन्दा ठूलो चुनौती भनेको स्रोतको चुनौती हो,” अर्थमन्त्री महतले भनेर, “सरकारी राजस्व कम छ। अनुदान र ऋण पनि लक्ष्यअनुसार सङ्कलन हुनसकेको छैन। धेरै ठाउँमा योजना दिनुपर्ने दबाब छ, तर हामीसँग स्रोत कम छ।”
अर्थतन्त्रको दायरा फराकिलो बनाउन लगानी बढाउने विषय सरकारको प्राथमिकतामा रहेको पनि अर्थमन्त्री महतको भनाइ छ। “लगानीलाई सहज बनाउनुको विकल्प छैन। जति लगानी बढ्छ, त्यति राजस्व बढ्छ। नियम कानून पालना गरेर सहज रुपमा उद्यम गर्नसक्ने वातावरण तयार पार्न सरकार कटिबद्ध छ,” उनले भने।
अर्थतन्त्र सुधारका लागि नयाँ अध्याय शुरू गर्नुपर्ने वेला आएको पनि अर्थमन्त्री महतले बताए। अहिले पुँजीगत खर्च बढाउने र सार्वजनिक खर्च कटौती गर्नतर्फ सरकारको ध्यान केन्द्रत रहेको पनि उनको भनाइ छ।
मौद्रिक नीतिको समीक्षामार्फत् ब्याजदर घटाउनेलगायत केही काम गर्न सकिने तथा विभिन्न क्षेत्रमा नीतिगत सुधार (पोलिसी इन्टरभेन्सन) आवश्यक पनि महतले बताए।
आगामी आर्थिक वर्षको बजेटबारे निजी क्षेत्रका तर्फबाट सरकारलाई सुझाव प्रस्तुत गर्दै महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको संरचनात्मक सुधार आवश्यक रहेको बताए। त्यस्तै निजी क्षेत्रको सहकार्यमा आर्थिक सुधारका कार्यक्रम शुरू गर्न सरकारले कत्ति पनि ढिलाइ गर्न नहुने पनि उनको भनाइ थियो।