बालकृष्ण खाणका स्वकीय सचिव पनि पक्राउ
पूर्व गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिवलाई पनि प्रहरीले पक्राउ गरेको छ।
पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता खाण पक्राउ परेसँगै प्रहरीले उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको हो। काठमाडौं प्रहरी परिसरका इन्चार्ज एसएसपी दानबहादुर कार्कीले खाणका स्वकीय सचिव केसीलाई पनि पक्राउ गरिएको बताए।
नक्कली भटानी शरणार्थी प्रकरणमा खाणसँगै उनका स्वकीय सचिव केसी पनि पक्राउ परेका हुन्। यसअघि प्रहरीले यो प्रकरणमा १० जनालाई पक्राउ गरिसकेको छ। उनीहरुले दिएको बयानका आधारमा खाण र उनका स्वकीय सचिव केसीलाई पक्राउ गरेको जनाइएको छ।
८७५ जनालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गरी सरकारी कागजातमा नाम थपेको अनुसन्धानबाट खुलेको थियो। गृह मन्त्रालयले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी सम्बन्धी स्थायी समाधान पहिल्याउने भन्दै कार्यदल बनाएको थियो।
कार्यदलले भुटानी शरणार्थीको अभिलेख राख्न सूची पनि बटुलेको थियो। यही प्रतिवेदनमा गिरोहले ‘दर्ता छूट’ सूची भन्दै अनधिकृत नाम थपेर मानव तस्करी गरेर अमेरिका पुर्याउन खोजेको हो। यसका लागि प्रतिव्यक्ति १० देखि ५० लाख रुपैयाँसम्म लिएको उजुरीमा उल्लेख छ।