आगो निभाउने क्रममा जलेर अर्घाखाँचीमा तीन जनाको मृत्यु
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा घरमा लागेको आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु भएको छ।
मंगललबार दिउँसो भूमिकास्थान-२ तिरतिरे खोलागाउँका पदम बेल्वासेको घरमा लागेको आगो निभाउने क्रममा पाँच जना घाइते भएका थिए। घाइतेमध्ये तिरतिरेका ७२ वर्षीय पीताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको मृत्यु भएको हो। पीताम्बरको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा मृत्यु भएको हो। पदमको अस्पताल लैजाँदै गर्दा चितवनको नारायणघाट नजिक पुग्दा मृत्यु भएको हो। घनश्यामको उपचारका लागि काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।
आगलागीमा परी २६ वर्षीया अस्मिता बेल्वासे र ३६ वर्षीय माधव बेल्वासे घाइते भएका छन्। माधवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा लैजान सिफारिस गरिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि काठमाडौँ लैजान सिफारिस गरिएको थियो।