मुद्दा छिनोफानो नहुँदा फोक्सिङटार-सिमपानी सडकको कालोपत्रे काम अलपत्र
अदालतको अन्तिम फैसला नआउँदा सगरमाथा राजमार्गको फोक्सिङटार-सिमपानी सडकखण्डको कालोपत्रे गर्ने काम अघि बढ्न सकेको छैन।
खोटाङको फोक्सिङटार–सिमपानी खण्डको २७ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का तोड्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको उच्च अदालत पाटनले अन्तिम फैसला दिन ढिला गर्दा कालोपत्रेको काम अघि बढ्न नसकेको हो। कालोपत्रे गर्ने ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले लिएको थियो।
तर‚ सम्झौता अनुसार काम नगरेकाले गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरले २०७९ पुस ८ गते ठेकेदारसँग सम्झौता तोड्ने निर्णय गरेको थियो। कार्यालयको उक्त निर्णय विरुद्ध ठेकेदार कम्पनीले उच्च अदालतमा रिट दिएको थियो। उच्च अदालतले गत माघ ४ गते रिटको सुनुवाई गर्दै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। आदेशमा निर्माण कम्पनीलाई कालोपत्रेको काम नियमित गर्न दिन र समय–समयमा कामको प्रगतीबारे अनुगमन गर्न आदेश दिएको थियो।
अदालतको आदेशपछि ठेकेदारले करीब चार किलोमिटर बेसकोर्स राख्ने काम गरेको र त्यसपछि अन्य काम नगरेको गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेलले बताउँछन्। अहिले कालोपत्रे गर्नुअघि राखिएको बेसकोर्स बिग्रन थालेको उनको भनाइ छ। सार्वजनिक चासोको विषय सम्बन्धी रिटलाई अदालतले चाँडो किनारा नलाउँदा कार्यालय र ठेकेदार दुवै अलमलमा परेको खकुरेल बताउँछन्।
“यो सार्वजनिक विषय हो। व्यक्तिगत मुद्दा भए त दुई-चार वर्ष लम्बिए पनि केही फरक पर्ने थिएन‚” खकुरेल भन्छन्‚ “जनताको प्रत्यक्ष सरोकारको विषय भएकाले चाँडो किनारा लगाइदिएको भए उत्तम हुन्थ्यो।”
देवनारायण पवन/मैनाचुली/खाम्पाचेले ५५ करोड ८७ लाख रुपैयाँमा कालोपत्रे गर्ने ठेक्का लिएको थियो। २०७३ साउन ११ गते भएको सम्झौतामा २०७७ साउन १० गतेभित्र काम गर्ने उल्लेख छ। कोभिड-१९ महामारी कारण देखाएर कालोपत्रेको म्याद पटक–पटक थप गरिएको थियो। २०७८ चैत ३० गतेसम्म थप भएको भ्याद समाप्त भएको वर्ष दिन नाघ्दा समेत सम्झौता बमोजिम काम नभएपछि कार्यालयले ठेक्का तोडेको थियो।
दिक्तेल-गाईघाट सडक खोटाङ र पूर्वी शहर जोड्ने छोटो दूरीको मार्ग हो। दिक्तेल–गाईघाट सडक तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ फागुन १४ गते शिलान्यास गरेका थिए।