च्याउ खेतीबाट मनग्य आम्दानी
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ सोल्माका गंगाबहादुर विश्वकर्माले च्याउ खेतीबाट मनग्य आम्दानी गरिरहेका छन्।
कृषि पेशाबाट गाउँमै केही गर्न सकिन्छ भनेर लागिरहेका गंगाबहादुरले कन्ये जातको च्याउ खेतीबाट मासिक ४० देखि ५० हजार रुपैयाँ आम्दानी गरिरहेका छन्। उनले उत्पादन गरेको च्याउ दिक्तेल, हलेसी लगायत स्थानीय बजारमा खपत हुने गरेको छ।
गंगाबहादुरले दैनिक १५ देखि २० किलो च्याउ उत्पादन गर्दै आएका छन्। उत्पादित च्याउ बिहान पाँच बजे नै मोटरसाइकलमा राखेर दिक्तेल बजार पुर्याउँछन्। स्थानीय बजारमा कन्ये च्याउ प्रतिकेजी २५० रुपैयाँका दरले बिक्री हुने गरेको उनको भनाइ छ।
तर‚ च्याउका बजार यथेष्ट भने छैन। दिक्तेल बजारमा दैनिक २०-२५ किलो खपत हुने गरेको छ। “च्याउका लागि बजारको चुनौती छ। दिक्तेलमा दैनिक २० देखि २५ किलो खपत हुन्छ‚” उनले भने‚ “केही मात्रामा हलेसीमा जान्छ। ठूलो मात्रामा उत्पादन गर्दा बिक्री हुने अवस्था छैन।” कच्चा पदार्थ अन्यत्रबाट ल्याउनुपर्ने भएकाले मूल्य पनि केही महँगो भएको उनको भनाइ छ।
च्याउ खेतीमा त्रैमासिक दुईदेखि तीन लाख रुपैयाँ लगानी गर्दै आएको गंगाबहादुर बताउँछन्। वार्षिक करीब ६ लाख आम्दानी गर्दै आएका छन्। च्याउका लागि बीउ र अन्य कच्चा पदार्थ काठमाडौंबाट ल्याउने गरेको उनको भनाइ छ। पराल तराईबाट ल्याउने गरेका छन्। च्याउ खेतीमा श्रीमती सरिता राईले साथ दिइरहेकी छन् ।
गंगाबहादुरले २०६५ सालमा सिताके च्याउ खेती गरेका थिए। सिताके च्याउले बजार नपाएपछि उनले २०६७ सालदेखि कन्ये च्याउ खेती शुरू गरेका हुन्। गंगाबहादुरले च्याउसँगै चार रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन्। च्याउ र अन्य तरकारीबाट मासिक ६०-७० हजार आम्दानी हुने गरेको उनको भनाइ छ। “च्याउबाट महीनामा ४० देखि ५० हजार आम्दानी हुन्छ। खुर्सानी र अन्य तरकारीको आम्दानी जोड्दा ६०-७० हजार आउँछ।”
समाजशास्त्रमा स्नातकोत्तर गरिरहेका गंगाबहादुर कृषिलाई व्यावसायिक बनाउन पढेलेखेका व्यक्ति लाग्नुपर्ने बताउँछन्। “कृषिलाई व्यावसायिक बनाउन पढालेखा भएकै मान्छे अघि सर्नुपर्छ‚” उनी भन्छन्। २०६१ सालदेखि कृषि पेशामा लागेका भए पनि गंगाबहादुरले २०७१ सालमा मात्र खोटाङ कृषि फर्म दर्ता गरेका थिए।