नेपाल एअरलाइन्सले राहदानी फिर्ता नदिएको गुनासो
जापानको विमानस्थलबाट फर्काइएका दुई युवाको राहदानी नियन्त्रणमा लिएको नेपाल एअरलाइन्सले फिर्ता नदिएको उनीहरूले गुनासो गरेका छन्।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका केदार चौहान र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका निरकुमार तामाङ वैशाख १ मा नेपाल एअरलाइन्सको जहाज मार्फत जापान गएका थिए। जापानको नारिता इन्टरन्याशनल विमानस्थलमा उत्रिएपछि सोधपुछ तथा सुरक्षा जाँचका क्रममा उनीहरूलाई रोकिएको थियो।
“जापानको विमानस्थलमा ओर्लिएपछि डकुमेन्ट जाँच गरियो। तिमीहरूलाई जिम्मा लिने मान्छे, घुम्ने ठाउँ, लोकेशनबारे थाहा छैन, अंग्रेजी आउँदैन भनेर इमिग्रेशनमा लगेर राख्यो। हस्ताक्षर गरायो,” चौहानले भने।
जापान प्रवेश नदिई ‘इमिग्रेशन’ मा राखेको उनले बताए। दुई दिन ‘इमिग्रेशन’ मा बिताएका उनीहरू वैशाख ३ मा नेपाल फर्किएका थिए।
नेपाल फर्किनुअघि नेपाल एअरलाइन्सका कर्मचारीले ‘इमिग्रेशन फ्यासिलिटी’ बापत पैसा मागेको उनले सुनाए। “दुई दिनपछि एअरलाइन्सका मान्छेले ‘इमिग्रेशन फ्यासिलिटी’ बापत एक लाख ३२ हजार येन मागे,” उनले भने, “हामीसँग पैसा थिएन।”
नेपाल फर्केपछि त्रिभुवन विमानस्थलबाट नेपाल एअरलाइन्सको कार्यालयमा लगिएको उनले बताए। “फेरि पैसा मागियो, हामीले दिन सक्दैनौं भनेपछि राहदानी खोसेर राखे,” उनले भने, “अहिलेसम्म दिएका छैनन्, पैसा लिएर आऊ भन्छन्।”
उनीहरूको समस्यालाई लिएर नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई पनि सोमबार नेपाल एअरलाइन्सको कार्यालय पुगेका थिए। त्यसबारे जिज्ञासा राख्दा ‘सिस्टम’ नै त्यही भएको जवाफ दिएको राईले बताए। “केही गरौंला भनेर विदेश जाने युवाको लाखौं रकम डुबिसकेको अवस्थामा घर फर्किंदा पनि फेरि पैसा माग्नु न्यायोचित भएन,” उनले भने। यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग कुरा राख्ने उनले बताए।